हलमा चलिरहेको फिल्म 'चिसो एस्ट्रे'को कथामा नायक गाउँबाट काठमाडौंमा आएर 'मोडर्न' हुन खोज्छ।
उसको रहनसहन तथा विचार यो सहरका मानिससँग मिल्दैन। तर ऊ कसरी यो सहरमा आफूलाई परिवर्तन गर्छ भन्ने विषयमा यसको कहानी रहेको छ। रिलमा जस्तै वास्तविक जीवनमा पनि यस फिल्मका अभिनेता दिव्यदेव पन्त काठमाडौं आउँदा समाजसँग घुलमिल हुन सकस भयो।
दिव्यदेवलाई काठमाडौं आउँदा भाषा तथा रहनसहन, चालचलनको भिन्नता अनुभव भयो।
सुदूरपश्चिमको बैतडीबाट काठमाडौं आएपछि भाषाले साह्रै समस्या दिएको उनको अनुभव छ। तर अहिले उनी यही 'चार भञ्ज्याङ खाल्डो'मा दमदार डाइलग बोल्ने अभिनेताको रूपमा परिचय बनाउने दाउमा छन्।
उनको मुख्य अभिनय रहेको फिल्म पहिलो पटक प्रदर्शनमा आएको छ। उनले समिक्षकबाट अभिनय र आवाजको तारिफ पाइरहेका छन्।
सिनेमासँग यति मोह कसरी भयो भन्नेमा उनी यसरी आफ्नो अनुभव सुनाउँछन्।
बाल्यकालमा माओवादीले विद्यार्थीलाई लैजान थालेपछि उनका बुवाले उनलाई मामाघरमा राखेर पढाए रे। त्यही बेला उनको पहिलोपटक टेलिभिजनसँग साक्षात्कार भयो। उनले त्यतिबेला भारतीय टेलिभिजन दूरदर्शन हेर्थे किनभने उनको त्यतिबेला अरू च्यानल आउँदैन थियो। त्यहीबाट उनको सिनेमासँग माया बसेको उनी सम्झन्छन्।
पछि उनी आफ्नो पढाइको सिलसिलामा काठमाडौं आए। यहाँ उनलाई भाषा तथा रहनसहनको समस्या भयो। अरूमा जस्तै यहाँ आएपछि उनमा पनि विदेश जाने 'क्रेज' बढ्यो। उनी ब्याचलर पढ्दा-पढ्दै अस्ट्रेलिया गए।
लामो समय अस्ट्रेलिया गएर पढ्दा पनि उनको अभिनय गर्ने रहर भने जस्ताको तस्तै रह्यो। त्यहाँ बस्दा टम ह्यांक्सका फिल्मले तानेको भन्दै उनको फिल्म 'टर्मिनल'बाट प्रेरित भएर अभिनयमा फर्कने निधो गरे। उनी अभिनयको औपचारिक शिक्षा लिन मुम्बई जाने कि नेपालमा पढ्ने वा अन्त कुनै अप्सन खोज्ने भन्ने दुविधामा थिए।
सन् २०१० तिर उनले फेसबुकमा ओस्कार फिल्म एकेडेमीको बारेमा देखे जहाँ उनले फिल्म अध्ययन गर्ने निधो गरेर अस्ट्रेलियाबाट काठमाडौं फर्के।
नेपाल फर्केपछि उनले नाटकमा काम गरे साथै डकुमेन्ट्रीमा भ्वाइस ओभर गर्न थाले। जसले उनी काठमाडौंमा खाली बस्नुपरेन।
यो फिल्ममा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् उनी। ‘यो फिल्म मेरो लागि लक्की चार्म हो’, उनी भन्छन्।