पछिल्लो समय दक्षिण भारतीय चलचित्र उद्योग टलिउड बलिउडलाई कडा टक्कर दिइरहेको छ। एकसे एक उत्कृष्ट फिल्म दिँदै आएको टलिउड उद्योग तीव्र गतिमा बढिरहेको छ। हिन्दी भाषाका दर्शकले पनि दक्षिणी फिल्मको एक्सन र कथा मन पराउन थालेका छन्।
पछिल्लो समय आरआरआर, केजीएफ, बाहुबली, पुष्पा जस्ता चलचित्रले बक्स अफिसमा कमाल देखाइसकेका छन्।
टलिउडका पुरूष कलाकारसँगै नायिकाहरूको पनि उत्तिकै अभिनय र चर्चा हुन थालेको छ। यो सँगै उनीहरूले लिने पारिश्रमिकको पनि चर्चा हुन थालेको छ।
हेरौं केही दक्षिण भारतका अभिनेत्री जसले आफ्नो फिल्मका लागि कति पारिश्रमिक लिने गर्छन्।
सामन्था
सबैभन्दा बढी शुल्क लिने सूचीमा सामन्था रूथ प्रभुको नाम पहिलो नम्बरमा आउँछ। हालै यी अभिनेत्रीले पुष्पाको एउटा आइटम गीतको लागि ५ करोड भारतीय रूपैयाँ लिएकी थिइन्।
यो आइटम गीतपछि चर्चामा आएकी सामन्थाले आफ्नो पारिश्रमिक बढाएकी छिन्। सामन्थाले आफ्ना फिल्मका लागि करिब ५ देखि ८ करोड पारिश्रमिक लिन्छिन्।
नयनतारा
तमिल, तेलुगु र मलायालम फिल्ममा अभिनय गरेकी नयनतारा सबैभन्दा धेरै पारिश्रमिक लिने सूचीमा दोस्रो नम्बरमा छिन्। भारतीय मिडिया रिपोर्ट अनुसार नयनताराले आफ्नो एउटा फिल्मको करिब ५ देखि ७ करोड पारिश्रमिक लिन्छिन्।
अनुष्का शेट्टी
एसएस राजामौलीको बाहुबलीमा मुख्य भूमिका निभाएकी अभिनेत्री अनुष्का पनि सर्वाधिक शुल्क लिने अभिनेत्रीको सूचीमा अगाडि छिन् । अनुष्काले पनि आफ्ना फिल्मका लागि करिब ६ करोड भारु लिन्छिन् ।
पूजा हेगडे
फिल्म ‘राधे श्याम’ की अभिनेत्री पूजा हेगडे पनि टलिउडकी शीर्ष अभिनेत्री हुन् । मिडिया रिपोर्टका अनुसार पूजा हेगडेले आफ्नो फिल्मका लागि करिब २.५ देखि ७ करोड पारिश्रमिक लिन्छिन्।
रश्मिका मण्डना
‘पुष्पाः द राइज’ मा श्रीवल्लीको भूमिकामा देखिएकी अभिनेत्री रश्मिका मण्डनाले एउटा फिल्मको लागि २ देखि २.५ करोड रूपैयाँ नै पारिश्रमिक लिन्छिन् ।
कन्नाडा फिल्म ‘किरिक पार्टी’ बाट सन् २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् ।
तापसी पन्नु
तेलुगु फिल्मबाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी तापसी पनि टलिउडकी शीर्ष अभिनेत्री हुन्। तापसीले आफ्नो फिल्मका लागि ३ देखि ५ करोड पारिश्रमिक लिन्छिन् ।
काजल अग्रवाल
टलिउडदेखि बलिउडमा समेत काम गरिसकेकी काजल अग्रवाल चलचित्र उद्योगकी शीर्ष अभिनेत्रीको सूचीमा पर्छिन्। उनले आफ्नो फिल्मका लागि करिब डेढ देखि ४ करोड भारु लिन्छन् ।
तमन्ना भाटिया
बाहुबलीमा देखिएकी तमन्ना पनि सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा परेकी छन् । उनी एउटा फिल्मका लागि ४ देखि ५ करोड र एउटा आइटम नम्बरका लागि करिब ५० लाख रूपैयाँ लिन्छन् ।
रकुल प्रीत सिंह
टलिउड बाहेक रकुलले धेरै बलिउड फिल्ममा काम गरिसकेकी छिन् । उनले एक फिल्मका लागि डेढदेखि तीन करोडसम्म पारिश्रमिक लिने गर्छन् ।
साई पल्लवी
यो सूचीमा साई पल्लवीको नाम पनि परेको छ । साईले आफ्ना फिल्मका लागि करिब १ देखि २ करोड भारु लिन्छिन्।