दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। गत मार्च २५ मा रिलिज भएको फिल्मले १००० करोडको कमाइ गरिसकेको छ।
फिल्मको सफलतालाई लिएर कलाकारहरू औधि खुसी छन्। यसै क्रममा राम चरणले फिल्मका क्रु मेम्बरलाई सुनको सिक्का उपहार दिएका छन्। कलाकारको तर्फबाट पाएको सरप्राइज उपहारले क्रु मेम्बर खुसी भए।
भारतीय सञ्चार माध्यमका अनुसार ‘आरआरआर’ का स्टार राम चरणले फिल्मको सफलतामा खुसी हुँदै आफ्ना ३५ क्रु मेम्बरलाई ११.६ ग्रामको सुनका सिक्का उपहार दिएका हुन्।
पुरस्कार पाउनेमा क्यमेरा असिस्टेन्ट, प्रोडक्सन मेनेजर, अकाउटेन्ट, फोटोग्राफरलगायत छन्।
सुनका सिक्कामा एकातर्फ ‘आरआरआर' को लोगो र अर्कोतर्फ रामचरणको नाम लेखिएको छ। राम चरणले यी सिक्काका लागि कुल १८ लाख भारतीय रूपैयाँ खर्च गरेका छन्।
निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा राम चरणसँगै जुनियर एनटीआर र आलिया भट्ट प्रमुख रोलमा छन्। यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन्।
तेलुगू स्वतन्त्रता सेनानीहरु अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जीवनीबाट प्रभावित आरआरआरलाई दर्शकले अत्यधिक मन पराएका छन् ।
‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो।
बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे। यो स्वाभाविक पनि हो।
बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् ? यो जिज्ञासा धेरैको देखिन्छ किनकि फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले। पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ।
यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए। जसका कारण फ्यान झनै उत्साहित बनेका छन्।
फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।