एकदिन रम्यता लिम्बूले विष्णु सापकोटालाई भनेकी थिइन्, 'यु आर सो इन लभ विथ द आइडिया अफ लभ।'
अर्थात् तिमीलाई प्रेम भन्ने धारणासँगै प्रेम छ!
सन् १९९६ तिर एभरेस्ट हेराल्ड नामक अंग्रेजी पत्रिकामा उनीहरू सँगै काम गर्थे। हाल रम्यता फिल्म क्षेत्रमा आबद्ध छिन्। विष्णु एक अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वदायी भूमिकामा कम्बोडियामा कार्यरत छन्।
पछिल्लो समय नेपाली समाजमा राजनीतिक विश्लेषकका रूपमा आफ्नो छवि बनाएका विष्णुले हालै 'अडिएका पाइला' नामक उपन्यास लेखेका छन्। त्यो पनि प्रेमकै विषयलाई लिएर।
अहिले उनलाई रम्यताले त्यस बेला भनेको कुरा हो जस्तै लाग्छ।
'त्यति बेला मलाई कुनै व्यक्तिभन्दा पनि प्रेम भन्ने कुरासँग प्रेम थियो,' विष्णुले भने, 'प्रेमको धारणा जुन छ, त्यो एकदम सुन्दर र अनन्त छ। कुनै मान्छे कसरी सधैं प्रेममा रहन सक्छ भन्दा, ऊ सधैं प्रेम भन्ने धारणासँग भइराखेर हुन्छ।'
बुधबार सेतोपाटी आएका विष्णुसँग हामीले यही प्रेम, साहित्य, उनी र हालै निस्किएको उनको उपन्यास 'अडिएका पाइला' मा केन्द्रित भएर कुराकानी गरेका छौं।
विष्णुले आफ्नो उपन्यासका प्रमुख पात्रलाई पनि प्रेम भन्ने आइडियासँग मात्र सीमित गर्न चाहेजस्ता देखिन्छन्। उनीहरू एकअर्कालाई प्रेम त गर्छन् तर दुवै जना सँगै हुनुपर्छ भन्ने मान्यता बोकेर हिँडेका छैनन्। उनीहरू आफ्नै मनोविज्ञान र दर्शनको चक्करमा आफ्नो प्रेमलाई जस्तो छ, त्यही विन्दुमा छाड्न चाहन्छन्।
विष्णुको प्रेमप्रतिको धारणा पनि यही हो, 'प्रेम विवाहभन्दा आदिम हो। प्रेम बाँधिने कुरा होइन तर परिवार र व्यावहारिकताका कारण मानिसहरू बाँधिइरहेका छन्। मलाई के लाग्छ भने प्रेम हुने प्लेटोनिक तहमा मात्रै हो।'
उनले उपन्यासको नाम 'अडिएका पाइला' राख्नुको कारण पनि यही हो। उपन्यासकी प्रमुख पात्र अनसूया जुन समयमा बाचिँरहेकी छन् र आफ्नो प्रेमलाई जस्तो स्थितिमा रोक्न चाहेकी छन्, त्यसले अन्य पात्रहरू पनि अडिएका छन्। सामान्य जीवनमा जस्तै एउटाको जीवनले अर्को जीवनलाई प्रभाव पारिरहेको छ।
विष्णुको दिमागमा उपन्यासको कथा धेरै अगाडिबाट आउन थालेको थियो। कथाको अन्त्यको चित्र भने आफ्नो सपनामा देखेको उनी बताउँछन्।
'यो उपन्यासको अन्त्य जसरी भएको छ त्यस्तै दृश्य मैले सपनामा देखेँ। त्यो एकदम भावुक दृश्य थियो। त्यतिन्जेलसम्म मैले उपन्यास लेख्न थालेको थिइनँ। त्यो दृश्य आएपछि लेख्न थालेको हुँ,' उनले भने।
हामीले लेखक विष्णुलाई सोध्यौं, 'किताब लेख्दा चाहिँ तपाईं अडिनुभयो कि भएन? केही बाधा आए कि आएनन्?'
'लेख्न थालेपछि म सरर नै लेख्छु। कतै यात्रामा जाँदा केही सुस्तता आयो तर पनि कथा दिमागमा आइरह्यो भने चाहिँ मोबाइलको नोटमा लेख्थेँ। कहिलेकाहीँ कुनै कथा लयमा ल्याउन र विस्तृतमा बनाउन सुस्तता छायो। त्यति धेरै बाधा भने आएन,' उनले भने, 'एक वर्ष जतिमा त पहिलो ड्राफ्ट सकिसकेको थिएँ। त्यसको पाण्डुलिपि पढ्नेदेखि सम्पादन गर्दा किताब बन्न करिब दुई वर्ष लाग्यो।'
अन्य समय पनि आफूले सरर नै लेख्ने गरेको विष्णु बताउँछन्।
'मेरो दिमागमा केही आइडिया आयो भने हुरूरू आउँछन्। कहिलेकाहीँ यति छिटो आउँछन् कि त्यो सबै लेख्नै सकिन्न। त्यसलाई म बुलेट बनाएर टिप्छु र लेख्न बस्छु। कहिलेकाहीँ बाटोमा हिँड्दा हिँड्दै वा गाडी चलाउँदै गर्दा पनि आइडिया हुरूरू आउँछन्। त्यसलाई मोबाइलको नोटमा टिप्छु र पछि लेख्छु,' उनले भने।
विलियम सेक्सपियरको 'ह्याम्लेट' मा रहेको दुविधा 'टु बी अर नट टु बी' लाई पनि विष्णुले किताबमा प्रशस्तै चलाएका छन्। पात्रहरू केही कुरा भनौं वा नभनौं, कतै जाऔं कि नजाऔं, फोन गरौं वा नगरौं लगायत दुविधामा छन्। हुँदाहुँदा उनीहरूले एकअर्कालाई भेटौं वा नभेटौंको दुविधामा नभेट्नुलाई नै आदर्श प्रेम मानेको देखिन्छ।
'कतिपयले यसलाई अलि आदर्शवादी र अवास्तविक भयो कि पनि भनेका छन्। यदि मैले कुनै साहित्य पढ्छु भने जुन संसार छ, त्यो साँचो हो भनेर पढ्छु। कुनै पनि कृति जसरी लेखिएको छ, त्योभन्दा अर्को तरिकाले लेख्न सकिन्थ्यो भन्ने प्रश्न लिएर पढ्नुभन्दा त्यहाँभित्रको संसार नै संसार हो भनेर पढियो भने बढी रोचक लाग्छ होला,' उनले भने, 'बेलायती साहित्यका एस.टी. कोलेरिजले त 'विलिङ सस्पेन्सन अफ डिसबिलिफ' भनेर भनेकै छन्। यो त नहुनुपर्ने हो भन्ने आफ्नो अविश्वासलाई पाठकले साहित्य पढ्दा हटाएर पढ्नुपर्छ।'
ह्याम्लेटकै दुविधाको प्रसंगलाई लिएर हामीले सोध्यौं, 'तपाईंलाई चाहिँ यो किताब लेखौं कि नलेखौं भन्ने दुविधा भयो कि भएन?'
'सुरूमा भएको थियो तर लेख्न थालेपछि भएन,' उनले भने, 'मसँग कथा पहिल्यै थियो। जब १५, २० हजार शब्द लेखेँ, ती पात्रहरू मलाई वास्तविक लाग्दै गए र सरर नै लेखेँ। अहिले उपन्यास प्रकाशित भएर सार्वजनिक भइसकेपछि चाहिँ मलाई एकदम अवास्तविक, आफूले नै लेखेको हो र जस्तो भइरहेको छ। किताब पसलहरूमा आफ्नो किताब देख्दा अनौठो लागिरहेको छ।'
विष्णुको उपन्यासमा भएका शिवपुरी जंगल, विश्वविद्यालय, अमेरिका लगायत ठाउँहरू उनले आफैं देखेका, भोगेका र बाँचेका हुन्। आख्यानकार मञ्जुश्री थापाले त विश्वविद्यालय केन्द्रित यस्ता उपन्यासलाई 'क्याम्पस उपन्यास' भनिने बताएकी छन्।
किताब विमोचन क्रममा उनले भनेकी थिइन्, 'नेपाली साहित्यमा क्याम्पस नोभल (उपन्यास) हरूको कमी छ। अडिएका पाइलाले त्यो कमी पूरा गर्नेछ।'
विश्वविद्यालयमा लामो सयम पढ्नुका साथै अध्यापन गराएकाले विष्णुलाई त्यस ठाउँप्रति अलि बढी झुकाव भएजस्तो देखिन्छ।
समर्थन जनाउँदै उनी भन्छन्, 'म अहिले पनि आफूलाई विश्वविद्यालयकै हुँ जस्तो ठान्छु। बाटोमा हिँड्दा कसैले के गर्नुहुन्छ भनेर सोधे भने मलाई सबभन्दा सजिलो पढाउँछु भन्न लाग्छ। म अहिले पनि अमेरिकाको एउटा विश्वविद्यालयमा फेलोको रूपमा आबद्ध छु। नेपालका विश्वविद्यालयमा पनि आक्कलझुक्कल पढाउँछु। आफूले पनि लामो समय पढाउने पेसा नै गरेकाले उपन्यासमा भएको प्रमुख पात्र म आफैं हु कि जस्तो पनि लाग्छ।'
लामो समय अध्ययन–अध्यापन गरेका विष्णुलाई गएका १०–२० वर्षको अन्तरालमा किताबका पाठ्यक्रमसँगै पढ्न आउने विद्यार्थीको बौद्धिक चेत र प्रश्नहरू पनि फरक हुन थालेको जस्तो लाग्न थालेको छ।
'आफू को हुँ? यो समाजमा कहाँ उभिएको छु? आफ्नो पहिचान, भूगोल, भविष्य, देश र संसारसँग कसरी आफूलाई जोड्न सकिन्छ भन्ने अहिलेका विद्यार्थीका प्रश्न हुन थालेका छन्। पहिलेका विद्यार्थीका तुलनामा उनीहरू धेरै तीक्ष्ण छन्,' उनले भने।
पहिलेका विद्यार्थीका प्रश्नहरू त्यस्ता हुन्थेनन् र?
हाम्रो प्रश्नमा जवाफ दिँदै भने, 'पहिलाका विद्यार्थीमा आफ्नो समाज, देश, संस्कृति लगायत कुरा पुनर्लेखन गरिनुपर्छ भन्ने विद्यार्थी धेरै थिएनन्। उनीहरू एक सुरका थिए। कुनै पनि कुरा पढ्नुपर्ने रहेछ भनेर पढ्थे वा धारणा राख्थे। अहिलेका विद्यार्थी हामीले जे पढिरहेका छौं, त्यो किन पढ्ने भनेर प्रश्न र आलोचना गर्ने भएका छन्।'
विष्णुलाई लाग्छ – युवाहरूका प्रतिभा, ज्ञान र सिर्जनशीलता निखारिने विश्वविद्यालयबाट हो। उत्ताउला एजेन्डाबाट समाजलाई जोगाउँदै आलोचनात्मक चेत निर्माण गर्न र भविष्यमै भए पनि आस गर्ने ठाउँ कतै छ भनेर सोच्नका लागि एउटा राष्ट्रिय विवेकको प्रतिनिधित्व गर्ने संस्था विश्वविद्यालय हो।
उनी भन्छन्, 'विद्यालय भनेको प्रज्ञा हो। विश्वविद्यालयको अवधारणा भनेकै ज्ञान उत्पादन गर्ने हो। जनशक्ति उत्पादन गर्नुका साथै समाज कहाँ उभिएको छ भनेर बुझ्ने पनि विश्वविद्यालयमार्फत नै हो। तर हामीकहाँ त्यो विवेकको प्रतिनिधित्व गर्ने ठाउँ नै कमजोर भएकाले विद्यार्थीहरू बाहिर जानेक्रम बढेजस्तो लाग्छ।'
पछिल्लो समय राजनैतिक विश्लेषकका रूपमा परिचित विष्णुले विश्वविद्यालयमा साहित्य नै पढेका र पढाएका हुन्। उनलाई साहित्य पढ्नु र पढाउनु कहिले पनि काम जस्तो लागेन, किनभने उनी यसमा रमाउँथे। स्नातकोत्तर पढ्दासम्म त उनी साहित्यको संसारमा यसरी डुबिसकेका थिए कि उनले त्रिभुवन विश्वविद्यालयबाट गोल्ड-मेडल नै हासिल गरे।
'जो साहित्यमा रमाउन सक्छ, उसलाई त्यसमा आफ्नो मेहनत परेजस्तो लाग्दैन। किनभने साहित्यमा उपन्यास, कविता, निबन्ध लगायत उत्कृष्ट रचना पढ्न पाइन्छ। साहित्य रूचाउने मान्छेलाई त त्यो पढ्न एकदम स्वादिलो र रमाइलो भइहाल्यो नि,' उनले भने।
विष्णुलाई पढ्न रमाइलो लाग्ने पनि साहित्य र आख्यान नै हो। उनलाई राम्रो कविता र उपन्यास पढ्न र त्यो संसारमा रमाउन मन लाग्छ। आफूले पढ्ने र पढाउने बेला कस्सिएर पढेको भए पनि हिजोआज उनी समय लगाएर ती कुराहरू पढ्छन्। कहिलेकाहीँ राम्रा लागेका कुरा साँचेर, सक्किएला जसरी जोगाएर पनि पढ्छन्।
साहित्य र आख्यानसँगै उनलाई सभ्यता, मानव इतिहास, बौद्धिक इतिहास, स्नायुविज्ञान लगायत विषयमा पनि चासो छ। जो मान्छे गैर–आख्यान मात्रै पढ्छन् अनि आख्यान र साहित्यका कुराहरू पढ्दैनन्, उनीहरू विष्णुलाई त्यति बौद्धिक लाग्दैनन्।
'यो कुरामा मेरो आफ्नै पूर्वाग्रह छ। मानिसले जेसुकै काम गरोस् वा जुनै ठूलो पदमा होस्, उसले यदि साहित्य पढ्दैन, पेन्टिङ वा फिल्म हेर्दैन भने ऊ जति नै ठूलो भए पनि के भयो? उसले त जीवनको सौन्दर्य नै बुझेको छैन नि!,' उनले भने, 'रोबर्ट सापोल्स्की भन्ने एउटा वैज्ञानिक छन् जसले 'बिहेब' भन्ने किताबमा कविको दिमागको कुरा गरेका छन्। त्यसै गरी अर्मत्य सेन भन्ने अर्थशास्त्री छन् जसको किताब 'आइडिया अफ जस्टिस' पढ्यो भने पनि उनले कविहरूको कुरा साभार गरेको भेटिन्छ। बाराक ओबामा, बिल गेट्स लगायतले वर्षमा पढेका किताबको सूचीमा उपन्यास र आख्यान नै बढी हुन्छन्।'
उनले अगाडि भने, 'ज्ञान भनेको खुसी हो र त्यो आख्यानमा मात्र पाइन्छ भनेको होइन। तर जीन्दगी भित्र छिर्न, आफैंसँग अडिन र रोकिन अनि आफ्नैबारे सोच्न काव्यिक चेत चाहिन्छ। त्यो हिसाबमा जसले आख्यान पढेका छैनन्, उनीहरूको जिन्दगी अलि सुखा हो कि जस्तो लाग्छ।'
विष्णुलाई सामान्य रूपमा भेटिने मान्छेभन्दा उपन्यास वा आख्यानमा भेटिने पात्र अलि बढी वास्तविक लाग्छ।
'मान्छेहरू दिनभर के–के गरिरहेका हुन्छन् तर उसले भित्र केही सोच्दै, केही गुनगुनाउँदै वा गम्दै आफ्नोबारे प्रश्न गर्दै हिँडिरहेको हुन्छ। त्यो भित्रको मान्छे मलाई बढी वास्तविक लाग्छ। त्यो वास्तविक मान्छेसम्म पुग्ने ठाउँ उपन्यासले दिन्छ,' उनले भने, 'भर्जिनिया उल्फ, जेम्स जोयस जस्ता लेखकहरूले बाहिरको कुरालाई कहिले साँचो मानेनन्। हामीभित्र जे घटेको छ, त्यो हामी हौं। उसको मनमा जे गुज्रिरहेको छ र उसले जे सोच्यो त्यही साँचो हो। त्यो कुरा हामीले बाहिर नदेखाउने भएकाले नै मलाई उपन्यासका पात्र बढी वास्तविक लाग्छन्।'
विष्णुले उपन्यासका पात्रहरूमा पनि भित्र के सोच्छन् र बाहिर के भन्छन् भन्ने कुरामा अन्तर देखाउन खोजेका छन्। साहित्यसँगै विष्णुलाई दर्शनशास्त्रमा पनि रूचि छ। त्यो रूचि साहित्यसँगै जोडिएर आएको हुनसक्ने उनी बताउँछन्।
'मलाई गहन कुरा मनपर्छ। हामी मान्छे किन छौं? ब्रह्मान्ड कसरी छ? भाषा बन्न थालेको र हामी त्यो भाषा बोल्न थालेको कति भयो? परिवार बन्न थालेको कति भयो? भगवान भन्ने अवधारणा आएको कति भयो? यी प्रश्नहरूको उत्तर दर्शनशास्त्र नभई आउँदैन,' उनले भने, 'हामीले गरिरहेको कामलाई नै गहिरिएर घोत्लियो भने त्यसमा दर्शनशास्त्र जोडिइहाल्छ नि। त्यसका लागि मानिस दर्शनशास्त्री नै हुन पर्दैन। प्रत्यक मान्छेले त्यो कुरा किन होला, के होला भनेर तर्क गरे पुग्छ। दर्शनसँग जोडिएका कुरा चाखलाग्दो मानेर म पढ्छु पनि र घोत्लिन्छु पनि।'
उनी अगाडि भन्छन्, 'साहित्यमा पनि दर्शनशास्त्र जोडिएर आउँछ। कुनै एउटा कविता पढ्नुभयो वा ह्याम्लेटकै 'टु बी अर नट टु बी' लाई हेर्नुभयो भने त्यहाँ तपाईंले दर्शनशास्त्र भेट्नुहुन्छ। साहित्यका गहन प्रश्न र विषयवस्तु दर्शनशास्त्र भन्दा फरक होइनन्। कम्तीमा मेरा लागि ती कुरा कहिल्यै फरक भएनन्। साहित्य, बौद्धिक इतिहास, सभ्यता, दर्शनशास्त्र, कला सबै मलाई एकअर्कासँग अन्योन्याश्रित छन् भन्ने लाग्छ।'
विष्णु आफ्नो उपन्यास अलि बढी अन्तरमुखी स्वभावका, आफूलाई धेरै प्रश्न गर्ने र उपन्यासका संसारमा हराउने खालका पाठकले बढी रूचाउने अनुमान गर्छन्। उनका राजनैतिक विश्लेषणहरू पढ्न रूचाउने र राजनीतिको मात्र पछि लाग्ने व्यक्तिलाई भने त्यति मन पर्न नसक्ने बताउँछन्।
'मजस्तै प्रेमको आइडियालाई नै प्रेम गर्नेले त यो उपन्यास खुब रूचाउलान्,' उनले भने, 'जो गैरआख्यान मात्र पढ्छन्, त्यस्ता व्यक्तिलाई भने यो उपन्यास हुँदै होइन।'