बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा आजभोलि अभिनेत्री मृणाल ठाकुर र सुपरस्टार धनुषको प्रेम सम्बन्धको खबरले निकै चर्चा पाइरहेको छ। दुवै जनालाई हालैका दिनमा विभिन्न कार्यक्रमहरूमा सँगै देखिएपछि उनीहरूको सम्बन्धलाई लिएर चर्चा सुरू भएको हो।
धनुष मृणालको पछिल्लो रिलिज फिल्म 'सन अफ सरदार २' को विशेष स्क्रिनिङमा उनलाई साथ दिन पुगेका थिए।
उक्त कार्यक्रमको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा धनुषले मृणालको हात समातेर कुरा गरिरहेको देखिएको थियो। यसबाहेक, धनुषको आउँदो हिन्दी फिल्म 'तेरे इश्क में' को र्याप पार्टीमा मृणालको उपस्थितिले पनि सबैको ध्यान तानेको थियो।
मृणालले धनुषका दिदीहरूलाई इन्स्टाग्राममा फलो गर्न थालेपछि उनीहरूको सम्बन्ध गहिरिँदै गएको समेत अनुमान गरिएको छ। यद्यपि, दुवै कलाकारले यसबारे आधिकारिक रूपमा केही बोलेका छैनन्।
एक भारतीय सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, यी दुवै कलाकार साँच्चै नै अफेयरमा छन् तर अहिले नै यसलाई सार्वजनिक गर्ने कुनै योजना छैन। स्रोतले भनेको छ, 'हो, उनीहरु डेटिङमा छन्, तर यो सम्बन्ध निकै प्रारम्भिक चरणमा छ। उनीहरु बाहिर सँगै देखिन कुनै हिच्किचाहट गर्दैनन्।'
मृणालले धनुषका दुई दिदीहरु, डा. कार्तिका कार्तिक र विमला गीतालाई इन्स्टाग्राममा फलो गर्न समेत गरेकी छन्। धनुषका दिदीहरुले पनि मृणाललाई फलो ब्याक गरेका छन्।
आफ्नो व्यक्तिगत जीवनलाई सधैँ गोप्य राख्ने मृणालले धनुषसँगको सम्बन्धको हल्लामा पनि मौनता साँधेकी छिन्। हालै एक अन्तर्वार्तामा उनले आफ्नो करियरमा धेरै कुरा हासिल गर्न बाँकी रहेको बताएकी छन्। कुनै पनि कुरा पक्का नभएसम्म सार्वजनिक नगर्ने उनले बताएकी थिइन्।
उनले भनेकी छिन्, 'म नजर लाग्ने कुरामा विश्वास गर्छु, त्यसैले केही कुरा पक्का नभइ बोल्न चाहन्न।'
धनुषले सन् २०२२ मा १८ वर्षको वैवाहिक सम्बन्धपछि ऐश्वर्या रजनीकान्तसँग सम्बन्धविच्छेद गरेका थिए। उनीहरूका दुई छोरा छन्। यता, 'सीता रामम' को सफलतापछि मृणालको माग दक्षिण भारतीय फिल्म उद्योगमा समेत बढेको छ। सोही क्रममा धनुषसँग उनको निकटता बढेको हुनसक्ने अनुमान गरिएको छ।