साउथ अभिनेता ऋषभ शेट्टीको फिल्म 'कान्तारा: च्याप्टर १' को प्रदर्शन मिति घोषणा भएको छ।
निर्देशक तथा अभिनेता शेट्टीको सोमबार परेको जन्मदिनको अवसरमा नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिइएको हो।
फिल्म आउँदो अक्टोबर २ अर्थात असोज १६ गते रिलिज हुने भएको छ। उक्त दिन विजयादशमी पर्छ।
सार्वजनिक पोस्टरमा ऋषभ लामो कपाल र दाह्रीको लुकमा योद्धा अवतारमा देखिएका छन्। यो फिल्म विजय किरागन्दुरद्वारा निर्मित 'कान्तारा' को प्रिक्वेल हो। हालसालै छायांकन सकिएको फिल्म गान्धी जयन्तीको अवसरमा विश्वभर रिलिज हुने भएको हो। कन्नड, हिन्दी, तेलुगु, तमिल, मलयालम, बंगाली र अंग्रेजी गरी विभिन्न सात भाषामा फिल्म प्रदर्शनमा आउनेछ।
एक्सन, थ्रिलर विधाको फिल्म 'कान्तारा' सन २०२२ मा रिलिज भएको थियो। यसमा ऋषभले दोहोरो भूमिका निर्वाह गरेका थिए। फिल्मले ४ सय करोडमाथि कमाइ गरेको थियो।