राजधानीका सुविधासम्पन्न नाट्यशालाहरूमा मञ्चन हुने नाटक र इलाममा मञ्चन भएको नाटकमा त्यत्ति धेरै फरक छैन।
फरक यति मात्रै हो कि उता राजधानीका नाट्यशालाहरू फित्ताले नापेर बनाइएको ब्ल्याक बक्स, लाइट, साउन्ड, पर्याप्त प्रप्स, व्यवस्थित दर्शकदीर्घा, तालिमप्राप्त कलाकार र लामो नाट्यसंस्कृतिको संरचानगत लाभमा छन्।
ठिक विपरीत नाटक 'महाभारा' ठ्याक्कै पचासको दशकमा महाभाराको धुले सडकमा बडो जोखिमले घच्याकघुचुक गर्दै ढाडमा आधुनिक ढाकरभरि भोकको ओखती बोकेर गुडिरहेको ‘याक्थुङ्बा एक्सप्रेस’ जस्तो हो।
‘महाभारा’ अर्थात् पूर्वी नेपालको उत्तरमा हिमालदेखि दक्षिणमा तराईसम्म बीचमा कतै पनि नचुँडिइकन लम्बिएका पहाडहरूको शृङ्खला। ऐतिहासिक लिम्बूवान भूगोलका लिम्बू आदिवासीहरूको सघन बसोबास रहेको यस भूखण्डमा अन्य जाति समुदायको पनि बसोबास छ।
भनिन्छ, महाभारा मुहान भएर बग्ने पानीमा बेग्लै उर्जा छ। यही महाभाराको पानीढलोमा कवि बैरागी काइँला जन्मिए। राष्ट्रिय विभूति फाल्गुनन्द जन्मिए। क्रान्तिनायक भूविक्रम नेम्बाङ जन्मिए। सहिद रत्न बान्तवा जन्मिए। यो भूगोलले नेपाली साहित्यमा धेरै हस्ताक्षरहरू पायो।
उपन्यास 'महाभारा' का लेखक बसन्त बस्नेत पनि महाभारामै जन्मिएका हुन्। उनको उपन्यासका पात्रहरू र उनले लिने हावाको सुगन्ध एउटै हो। छोएर जाने कुहिरोको सप्को एउटै हो। मधेश झर्ने बाटो एउटै हो। पिउने पानीको मुहान एउटै हो। भोग्ने बर्खा एउटै हो, हिउँद एउटै हो। भर्ने हाटा एउटै हो, मेलाबजार एउटै हो। गाईवस्तु चरनमा ल्याउने खर्क एउटै हो। भोगेको समय एउटै हो, कथा एउटै हो।
बस् फरक छन् त अनुभूतिहरू। आफू र आफ्नाजस्तै लाग्ने पात्रहरू, हाँसी खेलेको भूगोल, लेखक आफैंले बाँचेको समयको आख्यान हो 'महाभारा।' यसै उपन्यासलाई अन्वेश थुलुङले नाट्यरुपान्तरण गरेर निर्देशन गरेका हुन्। यो नाटक इलाम नगरपालिकामा गत पौष २० देखि ३० गतेसम्म मञ्चन भयो।
महाभारामा पचासको दशकको उत्तरार्धमा आइपुगेको जनयुद्ध रणनीतिक नीतिको दोश्रो चरणमा प्रवेश गर्दै थियो। रणनीतिक सन्तुलनको यो चरणमा पश्चिमतर्फ जनयुद्धले प्रशिक्षित भइसकेको नेपाली समाज थियो।
यता पूर्वका जनताले जनयुद्धलाई विभेदकारी राज्यसत्ताविरुद्ध सशस्त्र प्रतिरोधका रुपमा हतियारबन्द जनसेनासहित देख्न पायो। यो समाजलाई जनयुद्धको अपरिहार्यतामाथि प्रशिक्षित हुनुपर्ने चुनौती त थियो नै। दुई भिन्न आस्थाका बन्दुकहरूको बीचमा पर्ने जोखिम पनि उत्तिकै थियो।
एकातिर सरकारले संकटकाल लगाइसकेको थियो, अर्कोतिर माओवादीले जनसेना गठन गरिसकेको थियो। यस्तो परिवेशमा पूर्वी नेपालको, विशेष लिम्बूवानको, त्यसमा पनि महाभारा भूखण्डको मनोविज्ञान कस्तो थियो, यसैको चित्रण छ उपन्यास र नाटक 'महाभारा'मा।
नाटकमा नायक डुक्पाको अचेत इच्छाको वरिपरि कथा बुनिएको छ। पढाइमा कमजोर तर सम्मानको भोको डुक्पा ट्रक ड्राइभर बन्न चाहन्छ। किनभने उसले बुझेको छ, ड्राइभर बन्न पढ्नु पर्दैन तर ड्राइभर बनेपछि यथेष्ट सम्मान पाइन्छ।
यो स्वाभाविक छ किनभने ट्रक ड्राइभरले महाभाराको डाँडैडाँडा जोखिम मोलेर गुडाएको ट्रकमा प्रत्येक महाभाराबासीको भोकको ओखती आउँछ। ट्रक ड्राइभरहरूले स्कुल पढ्ने राम्री तरुनीहरू आँखा झिमिक्क गरिनसक्दा पट्याइसकेको डुक्पाले देखेको होला।
ट्रक ड्राइभर नबने त पढन्ते दाइको व्यक्तित्वले अनपढ भेडा गोठाला बाउ र पढाइमा ल्वाँठ डुक्पाको व्यक्तित्वलाई खर्लप्पै निल्ने थियो।
नाटकमा डुक्पामार्फत जनयुद्धकालीन महाभारा समाजको साक्षी बकपत्र लेखिएको छ। नाटक अवधिभर डुक्पाको जीवनका तीन कालखण्ड प्रस्तुत गरिएको छ। डुक्पा, डेनी हुँदै थेबा बन्दासम्म महाभारा समाजको मनोविज्ञान कतातिर डोहोरिंदै थियो, डोहोर्याउने काम उनै डुक्पाले गरेका छन्।
डुक्पाको स्कुले जीवन देखाइएको पहिलो खण्डबाट महाभारा समाजलाई जनयुद्धको भयले छोइसकेको थिएन भन्ने बुझिन्छ। समाज आफ्नै गतिमा अगाडि बढिरहेको थियो। यहाँका मेला बजार मज्जाले लागिरहेका थिए। मुख्य कुरा समाजको आदर्श जति विद्यालयका शिक्षकहरूको शिरोपर थियो। उनीहरू नै पूज्य थिए, सत्य भन्नु नै उनीहरू थिए।
डुक्पा ट्रक ड्राइभर भएर डेनी बनिसक्दा जनयुद्ध पूर्वी नेपालमा तीव्र गतिमा फैलिँदै थियो। जनयुद्धसँगै सहरसम्मै सांस्कृतिक क्रान्तिको प्रभाव देखिसकेको थियो। हिजोका आदर्श शिक्षकहरू नैतिकताको सिंहासनबाट पदच्युत हुँदै थिए। समाजले आदर्शको नयाँ भाष्य निर्माण गर्दै थियो।
पूर्वीय नेपाली स्थिर समाजमा अचानक हलचल आएको थियो। नयाँ विचारले प्रवेश गरेको थियो र त्यो विचार हतियारबन्द थियो। दुई वटा सरकारको शासन सुरु भएको अवस्था थियो। नयाँ वैचारिकतासित सहमत हुन नसक्ने अथवा तिनको हस्तक्षेपबाट आजित परिवारहरू बसाइँ सर्न थालिसकेका थिए। भनौं, महाभारा समाजले एउटा खप्टिएको द्वन्द्वको सामना गर्दै थियो। सुकमती यही खप्टिएको द्वन्द्वको चपेटामा परेर विस्थापित भएकी पात्र थिइन्।
थेबा बनेको डुक्पाले पूर्वी नेपालमा जनयुद्धको प्रभावको उत्कर्ष समय देखाउन खोजेका छन्। जतिबेला जनयुद्धको जबर्जस्त हस्तक्षेपका परिणामहरू देखिन थालिसकेका थिए। फकाएर, नभए धम्क्याएर, यो पनि नभए बल प्रयोग गरेरै भए पनि क्रान्तिकारीहरू अगाडि बढ्ने मनसायमा थिए।
ठिक यतिबेला महाभारामा एउटा खप्टिएको द्वन्द्व हुर्किसकेको थियो। लारुम्बा भर्सेस माओवादीको यो द्वन्द्वले कुनै पनि बेला भयानक परिणाम निम्त्याउनसक्ने अवस्था थियो।
डुक्पाको जीवनका यी तीन कालखण्डमा महाभारा समाजको तत्कालीन मनोविज्ञानलाई प्रष्टसँग उतारिएको छ। जनयुद्धको उत्तरार्धको साक्षी महाभारा समाजले अत्यन्तै छोटो समयमा जनयुद्धको स्पिरिटलाई पचाउनसक्ने पाचन प्रणाली विकास गर्न कस्तो सकस बेहोर्नुपर्यो, यही देखाउन नाटकको कथानकमा डुक्पा, डेनी र थेबा पात्रको सहायता लिइएको छ।
उपन्यासका लेखक, नाटकका निर्देशक र पंक्तिकार पनि यही महाभाराको परिवेश र उही कालखण्डको साक्षी भएको आधारमा यसलाई रुजु गरिएको छ।
डुक्पा पात्र डेनी हुँदै थेवा बन्दासम्म जनयुद्धको वैचारिक प्रभावले महाभाराका जनतामा ल्याएको सांस्कृतिक रुपान्तरण पनि इङ्गित हुन्छ। डुक्पा पात्र लिम्बूवानबासी तामाङ समुदायको एक किशोर हो।
महाभाराका डाँडाहरूमा ट्रक गुड्न थालेपछि ट्रकको आधुनिक ढाकरमा भोकको ओखती मात्रै आएन, त्योसँगै सहरको आधुनिकता पनि ट्रक चढेर गाउँ घुम्न आयो। जसको प्रभाव यहाँका किशोरहरूमा पर्यो, हुँदाहुँदा डुक्पा त रुपान्तरण भएर डेनी नै भइगयो।
तर जनयुद्धले ल्याएको सांस्कृतिक चेतले डेनी पात्र फेरि थेबामा रुपान्तरित भएको छ। नाम परिवर्तनमार्फत नाटकमा देखाइएको पात्रको सांस्कृतिक रुपान्तरण चाखलाग्दो छ।
नाटकको मञ्चमा एउटा रुख राखिएको छ। त्यो रुख नाटकको अन्तिमसम्म रहन्छ। रुखमार्फत महाभारा भूगोलको हरियाली पर्यावरण देखाउन खोजिएको छ। मञ्चमा कलाकारहरू उकालोओरालो गरिहन्छन्। पात्रहरू उँधोउँभो र परपर हेरेर संवाद गर्छन्। यसबाट महाभारा सम्पूर्ण रुपमा पहाडी भूगोल हो भन्ने बुझाउन खोजिएको छ।
तर रुखले महाभारा समाजमा बहुदलीय पार्टीहरूको प्रभाव र यथास्थितिवादी राजनीतिक मनोविज्ञानलाई पनि संकेत गर्छ। त्यो रुखमा विभिन्न बोर्ड झुन्ड्याइएका छन्।
सुरुमा सरकारी अभियानका बोर्डहरू झुन्ड्याइन्छन्। त्यसमार्फत बहुदलपछि महाभारा समाजमा गैरसरकारी संस्थाहरूको बढ्दो प्रभावलाई देखाउन खोजिएको छ। तर नाटकको उत्तरार्धमा ती बोर्डहरूलाई क्रान्तिकारी नाराले विस्थापन गरिन्छ। अर्थात्, यथास्थितिवादी समाजलाई परिवर्तन गर्ने नाममा गैरसरकारी संस्थाहरूको कृयाकलापलाई पनि जनयुद्धले अस्वीकार गरेको देखाइन्छ।
नाटकमा रेडियोलाई एउटा प्रपको रुपमा प्रयोग गरिएको छ। तत्कालीन महाभारा समाजका गरिब घरहरूमा रेडियो नै समाचारको माध्यम हुन्थ्यो, गीतसंगीत सुन्न पनि रेडियो नै प्रयोग गरिन्थ्यो। मञ्चमा नदेखिने तर नाटकका पात्रहरूले बारम्बार उल्लेख गर्ने ट्रकको अध्याय बिना महाभाराको कथा अपुरो हुन्छ।
महाभारा समाजको सामाजिक, आर्थिक रुपान्तरणमा महाभाराको डाँडाडाँडा गुड्ने ट्रकहरूको अहम् भूमिका छ। महाभारा भूगोलका डाँडा, खोला, बस्तीहरूमा लाग्ने मेलाको छुट्टै ऐतिहासिकता छ। सांस्कृतिक आदानप्रदानमा यी मेलाहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।
त्यसैले त तामाङको छोरो डुक्पा मज्जाले लिम्बू भाषा बोलेर लिम्बूनी सुकमतीलाई प्रभावित गर्नसक्छ। मञ्चमा प्रस्तुत हुने फरक जातिसमुदायका कलाकारहरूले महाभाराको मिश्रित समाजलाई प्रतिबिम्बित गरेका छन्।
नाटकमा दुई समानान्तर कथा राखिएका छन्। एकातिर डुक्पा पात्रको जीवनका तीन आयामहरूमार्फत महाभाराको तत्कालीन परिवेशलाई विस्तृत रुपमा देखाइएको छ। अर्कोतिर डुक्पाबाट छुट्टिएर लारुम्बा पुगेकी प्रेमिका सुकमतीमार्फत महाभारा समाजमा खप्टिएको द्वन्द्व देखाइएको छ।
नाटकका सबै पात्रहरू अलग छन्, तर उनीहरूको ध्येय एउटै छ। नाटकमा आएका सहायक पात्रहरूले समग्रमा जनयुद्धकालीन महाभारा समाजको चित्रण गर्न मद्दत गरेका छन्।
नाटकमा प्रयोग भएका प्रप्सले लिम्बूवान भूगोलभित्रको महाभारा समाजलाई पहिचानजनित आँखाले हेरिएको छ। पहिचान राजनीतिको बहससँगै लिम्बूवान राज्यको वकालतलाई महाभाराका जनताले हार्दिकताका साथ स्वीकारेका छन् भनेर निर्देशकले देखाउन खोजेका छन्।
लिम्बूवान भूगोल र पहिचानको विशिष्टतासँगै यस क्षेत्रमा बस्ने अन्य जातिसमुदायको पहिचानका बीच कुनै असमझदारी नरहेको संकेत दिनलाई एक गरिब तामाङ पुरुष पात्रको सम्पन्न परिवारकी लिम्बू महिला पात्रसित प्रगाढ प्रेमसम्बन्ध देखाएका छन्।
नाटक रुपमा प्रेम, धर्म र जनयुद्धको त्रीवेणी भएर प्रस्तुत हुन्छ। तर निर्देशकीय उद्देश्य चाहिँ महाभाराको तत्कालीन राजनीति देखाउनु हो। मित्रता र प्रेममार्फत महाभारा समाजले स्वीकारेको लिम्बूवानको विशिष्टताभित्र बहुपहिचान देखाउन खोजेका छन्।
धर्ममार्फत महाभारा समाजले तत्कालीन समयमा भोगेको खप्टिएको द्वन्द्व देखाउन खोजेका छन्। जनयुद्धकालीन पृष्ठभूमिमा तत्कालीन महाभारा समाज यथास्थितिवाद र अग्रगमनको अन्तर्द्वन्दबाट गुज्रिएको थियो भन्ने बुझाउन खोजेका छन्।
यसमा निर्देशक अग्रगमनकै पक्षमा छन्। उनले महाभारा समाजमा जनयुद्धले उठाएका मुद्दाहरूलाई स्वीकार गरेका छन्। यस नाटकमार्फत पहिचान राजनीतिको वकालत गर्नु नै निर्देशकीय अन्तर्दृष्टि हो भन्न सकिन्छ। यहाँनेर कवि प्रकाश थाम्सुहाङको एउटा कवितांश सापटी लिन सान्दर्भिक देखिन्छ।
'समय अन्तरालमा
आफ्नै आँखाले सोध्न थालेपछि प्रश्न
आफ्नै अन्तरमनले माग्न थालेपछि जवाफ
म सकसमा छु-
कि तटस्थ बस्नु भनेको आत्मग्लानीले भित्रभित्रै जल्नु रहेछ
कि तटस्थ बस्नु भनेको अपराधबोधले विस्तारैविस्तारै मर्नु रहेछ।'
नाटकमा एउटा दृश्य छ। जहाँ निर्देशकले एउटै दृश्यमा डुक्पाका बुवा, सुकमती र तत्कालीन महाभारा समाजलाई समानान्तर कार्य देखाएका छन्।
यस दृश्यले तत्कालीन यथास्थितिवादी समाजमा द्वन्द्वको कस्तो प्रभाव थियो, युवाहरूमा द्वन्द्वले निम्त्याएको नैराश्यता, भय कस्तो थियो र तत्कालीन महाभाराको राजनीतिक परिस्थिति कस्तो थियो, एकसाथ देखाउन सफल भएको छ।
नाटकका सबैजसो दृश्यहरू छरिता छन्। उसो त थप सम्पादन हुने ठाउँ पनि नाटकले छोडेको छ।
लारुम्बाको तत्कालीन परिवेश देखाउने क्रममा निर्देशकले धार्मिकतालाई बाइनरी अपोजिसनको कोणबाट विश्लेषण गरेका छन्। समाजको आवरणमा धर्म देखिँदै गर्दा त्यसको गर्भमा विकृतिहरू पनि हुन्छन् भन्ने देखाउन त्यहाँ बस्ने पात्रले धुम्रपान गरेको देखाइन्छ।
पहिला कुनै पनि दृश्यमा महिला पात्रहरू अपशब्द बोल्दैनन् तर यस दृश्यमा बोल्छन्। धार्मिक क्षेत्र भएकोले माओवादीलाई परेड खेल्न नदिने धार्मिक बस्ती आफैंमा नैतिकताको तराजुमा जोखिँदा कतिको बजनदार थियो भन्ने प्रश्न उठाइएको छ।
निर्देशकले सेक्मुरी फूलमार्फत लिम्बूवानको मुन्धुमी परम्परालाई देखाउन खोजेका छन्। सेक्मुरी फूलको महत्त्वबारे सुकमतीले डुक्पालाई बताउँछिन्। यसबाट महाभाराका आदिवासी लिम्बूहरू आफ्नो पहिचानबारे सचेत छन् र त्यो पहिचानको विशिष्टतालाई यहाँका अन्य जातिसमुदायले सहर्ष ग्रहण गरेका छन् भन्ने देखाउन खोजिएको छ।
निर्देशकले बिम्बको प्रयोगमा स्थानीकतालाई महत्त्व दिएको बुझिन्छ। जुन भूगोल र समाजको बारेमा नाटक बनेको छ, त्यहीँकै बिम्बलाई उनले खेलाएका छन्। यसरी हेर्दा यो नाटकलाई पहिचानवादी नाटक पनि भन्न सकिन्छ। नाटकको मञ्च परिकल्पना बहुपहिचानजनित महाभारा समाजको प्रतिबिम्ब दिने खालको छ।
पढाइमा कमजोर डुक्पा पढाइ छोडेर ड्राइभर बन्छ, पछि जनयुद्धमा लाग्छ। अर्कोतिर राम्रो पढाइ भएको उसको दाइले राम्ररी नै पढ्दै जान्छ तर बेरोजगार हुन्छ। यसबाट बुर्जुवा शिक्षा उत्पादनमुखी नरहेको जिकिर पाइन्छ।
पढेर जति नै विद्वान भए पनि अथवा नपढे पनि मुद्दाको सवालमा आफू कहाँ उभिने भन्ने कुरा प्रधान हो भनेर देखाउन खोजिएको छ। अर्कोतिर जनयुद्धको उत्कर्षमा पनि महाभारा समाजलाई वैचारिक रुपमा माओवादीहरूले मनाउन सकिसकेका थिएनन् भन्ने पनि बुझिन्छ।
नाटकमा टुकीको प्रयोगको सही रुपान्तरण देखिन्छ। सुरुमा सामान्य प्रपको रुपमा प्रयोग गरिएको टुकी नाटक सकिँदा निर्जन र खाली मञ्चमा बलिरहेको हुन्छ।
राजनीतिक संक्रमणणकालबाट गुज्रिरहेको तत्कालीन महाभारा समाजमा उज्यालोको आशा र संकेतको रुपमा बलिरहेको टुकी राखिएको हुनसक्छ। तर मञ्च शून्य छ, त्यो मानवरहित मञ्च कुनै भिषण आँधी आउनुअघिको मौनता हुनसक्छ। जे होस्, चूक पोखिएको अँध्यारो मञ्चमा ऐनाअघि बलिरहेको टुकी बडो सुन्दर देखिन्छ।
नाटकमा द्वन्द्वकालीन समाजको कथा भन्दै गर्दा निर्देशक सचेत देखिएका छन्। उनले द्वन्द्वका घाउहरू बल्झाउने कुनै पनि दृश्य नाटकमा राखेका छैनन्। इतिहासमा महाभाराको गर्भभित्र विलीन भएका घटनाहरूलाई खोतलेर समाजलाई दुखित तुल्याउन चाहेका छैनन्।
'द्वन्द्वपछिको युग'मा बाँचिरहेको महाभारा समाजलाई उक्साउने उनको कुनै नियत देखिँदैन। बरु ठिक उल्टो, यो नाटक महाभाराबासीका लागि एउटा सुन्दर कथार्सिस हुनसक्छ।
उपन्यास पाठ हो, नाटक प्रदर्शन कला। जस्तो उपन्यास छ, उस्तै नाटक हुने भए एउटा सफल आख्यानमाथि नाटक बनाइरहनुको अर्थ पनि छैन। यसो भन्नुको यहाँ विशेष कारण छ।
उपन्यास काठमाडौंमा बसेर कुनै असुविधाले नघेरिइकन लेखियो, एउटा स्थापित मुद्रण केन्द्रबाट मुद्रित भयो र बडो भव्य उपस्थितिमा लोकार्पण भयो। तर नाटक, यो त महाभाराको हुस्सुघारीभित्र अक्करे भिरमा फुलिरहेको अम्लरी फूल हो।
अर्थात्, नाटकका आधारभूत सामग्रीहरूसम्म उपलब्ध नभएको एउटा भवनमा यो नाटक मञ्चन भयो। आजसम्म नाट्यप्रशिक्षणमा नबसेका कलाकारहरूको केवल एक महिनाको तयारीमा नाटक बन्यो। र, नाटक संस्कृति राम्रोसित नझाँगिएको ठाउँमा सफलतापूर्वक नाटक मञ्चन भयो।
अहिले देश संघीयतामा गएको छ। एकात्मक राज्यसंरचनाका सबै अवयबहरू विकेन्द्रीकरण गरिएका छन्। सबै सुविधाहरू गाउँमा उपलब्ध छन्। तर नाटकको रौनक उतै सहरमा छुटेको छ।
कलाकार बन्न राजधानी धाउनेहरूको लाइन उस्तै छ। सहरमा सम्भावनाहरूको व्यापार सुकेको छैन, नाफामै छन् व्यापारीहरू। तर आगोको फिलिङ्गोजस्तो सानो प्रयत्न नै सही, गाउँमा सम्भावनाको बीउ रोप्ने हिम्मत गर्नेहरू पनि अगाडि आएका छन्। तर मात्रै विकेन्द्रीकरणले अब हुनेवाला छैन।
गाउँले स्वायत्तता खोजेको छ। अधिकारहरूको निक्षेपण खोजेको छ। जसरी कलामा पनि स्वतन्त्र र आत्मनिर्भर अभ्यास खोज्दैछ गाउँ। सफल नाटक मञ्चन गर्ने अभिभारा सधैं राजधानीले मात्रै उठाइरहनुपर्छ भन्ने छैन। त्यसो र, निर्देशक अन्वेश थुलुङ र उनका सहकर्मीहरूको यस्तो प्रयत्नलाई नाट्य गतिविधिको निक्षेपणको रुपमा लिनुपर्छ।