फिल्म समीक्षा
माओवादी द्वन्द्वकालमा हजारौं मान्छे बेपत्ता भए। तीन हजारभन्दा बढीको उजुरी नै परेको छ। तीमध्ये कमै घर फर्किएका छन्। देशले उनीहरूलाई बिर्सिसक्यो तर जसको परिवारको सदस्य बेपत्ता छ, उनीहरूले आश मारिसकेका छैनन्।
हराएको आफन्त फर्केर आउला कि भन्ने आशमा उनीहरू बाटो कुरेर बसेका छन्।
दस वर्षभन्दा लामो माओवादी द्वन्द्वले दिएको यो घाउलाई लेखक, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले आफ्नो फिल्म 'पानीफोटो' मा उतारेका छन्।
स्याङ्जाका एक दम्पती (मेनुका प्रधान र अनुप बराल) हराएकाे छाेरा कृष्ण फर्कने आशमा छन्। आमालाई छाेरा फर्कने विश्वास छ। बाबु भने लामाे समय बित्दा पनि छाेरा नफर्किएपछि काजकिरिया गर्न तयार हुन्छन्।
एकदिन छोरासँगै हराएका साथी पदम (खगेन्द्र लामिछाने) फर्केर आउँछन्। त्यसपछि बाबुको मन हुँडलिन थाल्छ। उनी सोच्छन्- पदम फर्कन सक्छन् भने कृष्ण किन सक्दैनन्?
यो प्रश्नले आमाबाबु दुवै बेचैन हुन्छन् र छोरा खोज्ने लामो यात्रामा निस्कन्छन्।
के छोरा कृष्ण फेला पर्लान्? कस्तो अवस्थामा होलान् उनी?
स्कुलको निबन्ध प्रतियोगितामा भाग लिन गएका कृष्ण र पदम सँगसँगै माओवादी लडाइँमा हिँडेका थिए। पदम फर्किँदा कृष्ण पनि सँगै किन आएनन्? उनको बाटो केले छेक्यो?
शुक्रबारबाट प्रदर्शनमा आएको 'पानीफोटो' ले द्वन्द्व क्रममा हराएका आफन्तको बाटो कुरेर बसेका परिवारको कथा भन्छ। देशले डेढ दशकअघि भोगेको घटनाले छाडेको घाउ कोट्याउने प्रयास यो फिल्मले गरेको छ।
माओवादीले धेरैलाई धेरै सपना बाँड्यो। कति त्यो सपनाको पछि लागे, कति यसै लहैलहैमा मिसिए। तर जसै युद्धको अवतरण भयो, ती सपनाहरू पानीका फोकासरी बिलाए।
नेताहरू सपनाका खुड्किला चढ्दै सत्तामा पुगे, सपना पछ्याउनेहरू द्वन्द्वले दिएका घाउ सुम्सुम्याउँदै भुइँमै रहे।
तिनै घाउमध्ये एउटा आफ्ना आफन्त र परिवारका सदस्य गुमाउनु वा हराउनुको पीडा हो।
'पानीफोटो' ले देशको यो निकट इतिहास यथार्थपूर्ण ढंगले प्रस्तुत गरेको छ। सिनेमा हेर्दा तपाईंलाई स्याङ्जाको कुनै गाउँमा गएर छोरा पर्खिरहेका आमाबाबुको कथा सुनेझैं लाग्छ।
रंगमञ्च पृष्ठभूमिबाट आएका लामिछानेले घटनालाई जस्ताको तस्तै मञ्चमा उतार्ने आफ्नो गुण सिनेमामा पनि लागू गरेका छन्। यो उनको र पानीफोटोको खुबी हो।
फिल्मले छोराप्रति आमाबाबुको मनमा उर्लिने भावना यथार्थ ढंगले प्रस्तुत गरेको छ। हराएका छोरा खोज्न पल्टनबाट फर्किएका बाबुले आश मारिसक्दा पनि आमाको मनमा छोरा फर्किने आश धिपधिपे बत्तीझैं जिउँदै हुन्छ। उनी आफ्नो छोरा जीवित रहेको र जसरी पनि खोज्नुपर्नेमा सधैं दृढ देखिन्छिन्। जस्तोसुकै अवस्थामा सन्तानप्रति आमाको मनले आशा छाड्दैन भन्ने यो घटनाले बुझाउँछ।
निर्देशकका रूपमा खगेन्द्रले आफ्नो पहिलो फिल्ममा द्वन्द्वसँग जोडिएको मानवीय भावनालाई सुरूदेखि अन्तसम्म मर्न दिएका छैनन्।
विषयवस्तु बलियो हुँदाहुँदै कमजोर पटकथाले भने फिल्मलाई फिक्का बनाएको छ। पानीफोटो पहिले नाटकका रूपमा मञ्चन गरिएको थियो। त्यही कथा सिनेमामा दोहोर्याउँदा खगेन्द्रले नाटकको भावना त सँगसँगै ल्याए तर त्यो भावनालाई सिनेमाको प्रस्तुतिमा उन्न न्याय गरेनन्।
नाटक र सिनेमामा अन्तर हुन्छ। नाटकको दृश्य सीमितता दर्शकले बुझ्छ र त्यसलाई स्वीकार गर्छ। तर सिनेमा भनेको पूर्णतया दृश्य माध्यम हो। यसमा हरेक प्रस्तुति र घटनाक्रम दृश्यबाटै अगाडि बढाउनुपर्छ। हराएका छोरा खोज्ने जुन यात्रा फिल्ममा देखाइएको छ, त्यसको प्रस्तुति सलल बगेको छैन। अभिनय, लेखन र निर्देशन तीनवटा भूमिका एकसाथ निर्वाह गर्नुले पनि खगेन्द्र हरेक विद्यामा उत्तिकै सफल हुन नसकेका हुन् कि!
यति मात्र होइन, फिल्म ‘पशुपतिप्रसाद’ को मुख्य पात्रका रूपमा प्रभावशाली अभिनय गरेर छाप छाडेका खगेन्द्र आफ्नै फिल्ममा भने यसपालि कमजोर पात्रका रूपमा प्रस्तुत भएका छन्। यो फिल्ममा उनको आफ्नै पात्र त्यति सशक्त ढंगले अगाडि आउन सकेको छैन।
बाल्यकालीन प्रेम सम्झिँदै बसेकी राधा (मलिका महत) को भूमिका पनि कमजोर छ। निर्देशकले राधाको सम्झनालाई लयमा देखाउन सकेका छैनन्। अभिनयको कुरा गर्दा मलिका भावनात्मक दृश्यहरूमा असहज देखिन्छिन्।
फिल्मले कतिपय पात्रलाई बेवास्ता गरेको छ। तिनैमध्ये राधा एक हुन् जो खोलाको छालजसरी आउँछिन् र बिलाउँछिन्।
फिल्ममा आमाबाबुको भूमिका गरेका मेनुका र अनुपले आफ्नो पात्रलाई न्याय गरेका छन्। उनीहरूले नै फिल्मलाई सुरूदेखि अन्तसम्म कुदाइरहन्छन्। तै पनि बेपत्ता छोरा हराउँदाको संवेदनाले दर्शकलाई छुन नसकेको भान हुन्छ।
उनीहरूको खरो स्वभावले दर्शकलाई आफूसँग बाँध्न सक्दैन। हुन त निर्देशकले छोरा हराएको दु:ख र देशको राजनीतिप्रतिको आक्रोश झल्काउन उनीहरूको स्वभाव खरो देखाएका हुन सक्छन्। तर यही स्वभावले कताकता उनीहरूको संवेदना मारेको हो कि भन्ने पनि लाग्छ।
फिल्मको सबभन्दा सुन्दर पक्ष छायांकन हो। द्वन्द्वका दृश्य जुन ढंगमा खिचिएका छन् र आमाबाबुका भावनात्मक दृश्यमा जसरी क्यामराले उनीहरूको हाउभाउ पछ्याउँछ, त्यसले ती दृश्यलाई यथार्थको नजिक लैजान्छ।
सपनाका दृश्यलाई सपना नै हो भन्ने गरी बुझाउन छायांकरले फरक शैली अपनाएका छन्। क्यामराको गतिले कहिले पनि आँखा बिझाउँदैन।
फिल्मको सुरूआत जति प्रभावशाली छ, मध्यान्तरपछि भने घटनाक्रम शिथिल हुँदै जान्छ। बगिरहेको खोला टक्क अडिएजस्तो फिल्मको पटकथा पनि एकठाउँमा अडिन्छ। फिल्मले आफ्नो लय गुमाउँछ।
समग्रमा माओवादी द्वन्द्वको डोब पछ्याउने यो फिल्मले ती पात्रहरूलाई सम्झेको छ जसलाई मुलुकको राजनीतिले बिर्सिसक्यो। द्वन्द्वका ती घाउहरू कोट्याएको छ जसलाई मुलुकको राजनीतिले ओखतीमुलो नगरी आलै छाडेको छ।