बंगलादेशको चर्चित फिल्म 'नो दोराई' भदौ २७ गतेदेखि नेपालमा प्रदर्शनमा आउने भएको छ। एप्पल इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
साहस, स्वतन्त्रता र सहनशिलताको कथा पेश गर्ने फिल्मले सन् २०१९ मा ६ विधामा बंगलादेशको राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो।
प्रसिद्ध निर्देशक तानीम रहमान अंशुद्वारा निर्देशित 'नो डोराई' जसको अर्थ 'नडराएको' हो। फिल्मले कोक्स बजारकी एक युवती आयशाको प्रेरणादायी र वास्तविक कथालाई पछ्याउँछ।
सर्फिङप्रतिको उत्साहलाई पछ्याउँदै उनले गहिरो जरा गाडेका सामाजिक मान्यतालाई चुनौती दिन्छिन्। उनको यात्राले सशक्तिकरण, लगनशीलता र समुन्द्रसँगको बलियो भावनालाई चित्रण गर्छन्।
फिल्ममा सुनेरह बिन्टे कमल, सरिफुल रज्ज, जोसेफिन लिन्डेगार्डलगायतको अभिनय छ। फिल्मले साहसी कथावाचन, मनमोहक छायांकन र बंगलादेशमा विद्यमान सर्फ संस्कृति, महिला सशक्तिकरणको अन्वेषण गर्छ।
'साहस र स्वतन्त्रताको विश्वव्यापी विषयवस्तुका साथ, 'नो दोराई' नेपाली दर्शकमाझ गहिरो रूपमा प्रतिध्वनित हुने अपेक्षा गरिएको छ', एप्पल इन्टरटेनमेन्टले भनेको छ, 'साहसिक कार्य, समानता र व्यक्तिगत विजयका कथा मन पराउनेलाई रूचिकर हुनसक्छ।'
मुख्य पात्र आयशाको प्रेरणादायी यात्रालाई ठूलो पर्दामा देशभरका दर्शकले अनुभव गर्न सकून् भन्ने उद्देश्यले नेपालका प्रमुख सिनेमा चेनहरूसँग सहकार्य गरिएको एप्पलकी सुनिता रानाले बताइन्।
बंगाली र चिटगाउँनिया भाषामा बनेको यो फिल्मलाई नेपाली दर्शकले अंग्रेजी सबटाइटलमा हेर्न सक्नेछन्। आउँदो मंगलबार यो फिल्मको नेपाल प्रिमियर आयोजना गरिएको छ।
प्रिमियर समारोहमा परराष्ट्रमन्त्री र सचिव, बंगलादेशी राजदूत, संचार तथा सूचना प्रविधिमन्त्री र सचिव, सार्क सचिव, चलचित्र विकास बोर्डका अध्यक्ष, बंगलादेश नेपाल वाणिज्य संस्थाका पदाधिकारी र फिल्म संस्था प्रमुख उपस्थित हुने जनाइएको छ।
नेपालको फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र बंगलादेशको मल्टिप्लेक्स चेन स्टार सिनेप्लेक्सबीच द्धिपक्षीयरूपमा फिल्म प्रदर्शनको सहमति भएअनुसार 'नो दोराई' नेपालमा प्रदर्शन हुन लागेको हो। जसअनुसार, ढाकाको स्टार सिनेप्लेक्सले काठमाडौंको एप्पल इन्टरटेनमेन्टले वितरण र निर्माण गरेको फिल्म ‘केटी हराएको सूचना: मिसिङ’ लाई हालै त्यहाँ रिलिज गरेको थियो।
एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले दुई मुलुकका कम्पनीबीच द्धिपक्षीय रिलिजको सहमति भएको बताए। दक्षिण एसियाली स्वतन्त्र ब्यापार सम्झौता (साफ्टा) अन्तर्गत रहेर यी दुई कम्पनीले द्धिपक्षीयरुपमा फिल्म रिलिज गर्न लागेका हुन्।
दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) भन्सार शुल्क र अन्य व्यापार अवरोधहरू घटाएर दक्षिण एसियाली देशहरूबीच व्यापार र आर्थिक सहयोग प्रवर्धन र वृद्धि गर्ने उद्देश्यले गरिएको व्यापार सम्झौता हो। जुन, सम्झौता सन् २००६ देखि कार्यान्वयनमा आएको हो।