चर्चित टेलिभिजन सिरियल' भद्रगोल' निर्माण तथा निर्देशन गरेर चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) फिल्म निर्देशक बनेका छन्। उनले बिहीबार साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर 'झरीपछिको इन्द्रेणी' को शुभमुहूर्त गरेका हुन्।
गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल 'सक्किगोनि' निर्माण तथा निर्देशन गरिरहेका थिए। सिरियलको टिमले फिल्म 'लाज शरणम्' निर्माण गरेको थियो। यो फिल्ममा अर्जुन घिमिरे (पाँडे)ले कार्यकारी निर्माताका साथै मुख्य भूमिकामा अभिनय समेत गरेका थिए। यसमा 'सक्किगोनि' टिमबाट धेरै कलाकारहरू समेटिएका थिए।
यो फिल्मपछि पाँडे आफै निर्देशनमा होमिएका हुन्। 'झरीपछिको इन्द्रेणी' मा भने 'सक्किगोनि' टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरेका छन्। अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने फिल्मको मुहूर्तपछि मिडियासँगको कुराकानीमा निर्देशक पाँडेले बताए।
यो फिल्मबाट करिब ९ वर्षपछि अभिनेता गणेश उप्रेतीले नेपाली रजतपटमा कमव्याक गर्दैछन्। एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफू निकै उत्साहित रहेको उप्रेती बताउँछन्।
फिल्ममा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारहरूको अभिनय रहनेछ। अर्जुन घिमिरे (पाँडे) स्वयंले पनि अभिनय गर्ने बुझिएको छ। शुभमुहूर्तसँगै बिहीबारबाटै छायांकन सुरू गरिएको फिल्म काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ।
पारिवारिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ४५ दिनको रखिएको छ। फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा तथा संवाद रहनेछ। पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा बुद्ध थापाको छायांकन र सुशील कडरियाको लगानी रहनेछ।
रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने फिल्मको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ।