वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म 'एक्लो' को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ। गत सोमबार तीन मिनेटको दृश्य विशेष तयारी गरेर खिचिएको निर्देशक प्रदीप शाहीले बताए।
उक्त दृश्यमा अभिनेता विजय लामा र अभिनेत्री दीया पुन देखिनेछन्। प्राप्त तस्बिरमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको दृश्य देखिन्छ, जहाँ जम्बीको कारण भिडभाड भएको देखाइएको छ। उक्त दृश्यले फिल्मको कथा अघि बढाउने महत्वपूर्ण मोडको प्रतिनिधित्व गर्छ।
छायांकनको क्रममा कलाकारहरू पटक–पटक दौडिएर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य पुनः अभिनय गर्नुपरेको थियो। सट बिग्रिएपछि बारम्बार 'कट' भन्दै दृश्य दोहोरिनु पर्यो। निर्देशकका अनुसार, दुई मिनेट लामो वान सट दृश्य खिच्न झण्डै ६ घण्टा लाग्यो।
कार्यकारी निर्माता विनोद सुवेदी 'क्षितिज' का अनुसार यस्तो दृश्य खिच्नका लागि उच्च स्तरको योजना र धैर्य आवश्यक पर्छ। 'सानो त्रुटि हुँदा पनि सबै प्रक्रिया सुरूबाट दोहोरिनुपर्ने भएकाले समय धेरै लाग्यो', उनले भने।
फिल्म 'एक्लो' मा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। साथमा विजय लामा र दीया पुनसहित कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल, सुनील थापा, सुरजसिंह ठकुरी, एवन राज उप्रेतीलगायत कलाकारहरूको अभिनय छ।
हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा भइरहेको छ र आगामी पुष महिनामा, क्रिसमसको अवसर पारेर रिलिजको तयारी भइरहेको छ।
निर्देशक प्रदीप शाहीले 'एक्लो' लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेको बताएका छन्।
यो फिल्मको निर्माताहरूमा राजकुमार गुरूङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरूङ छन्।

