काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औं संस्करण जेठ १४ देखि १८ सम्म आयोजना हुने भएको छ।
यस पटक महोत्सव ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जिएए हलमा आयोजना हुने जनाइएको छ। खण्डित आवाज, जोडिदै कथाहरू नारा अन्तर्गत ३० देशका ६५ भन्दा बढी फिल्म किम्फमा प्रदर्शन हुनेछन्।
किम्फले अन्तर्राष्ट्रिय छनोटमा संसारभर प्रशंसा बटुल्न सफल भएका फिल्महरू विशेषगरी नेपाली दर्शकका लागि ल्याएको छ। त्यससँगसँगै नेपाली फिल्महरूको छनोटमा स्वदेशी प्रतिभाले बनाएका फिल्महरू प्रदर्शन हुनेछन् जसले समकालीन नेपालको कथा देखाएको छ।
'यसपालिको फिल्म र कार्यक्रमहरूमार्फत नेपाली दर्शकहरूलाई मनोरञ्जन गराउनको साथसाथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद सुरू होस् भन्ने हाम्रो उद्देश्य रहको छ,' किम्फ फाउण्डेसनको अध्यक्ष रम्यता लिम्बू भन्छिन्।
नेपालमै पहिलो पटक प्रदर्शन हुन लागेको बिट्विन द माउन्टेन एण्ड द स्काइ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरू हुनेछ। जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोएनको व्यत्तिगत जीवनलाई नजिकबाट देखाउँछ।
नेपाल–चीन मित्रताको ७० औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजांग प्यानोरमामा फिल्महरू प्रदर्शन गर्दैछ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ।
यसपालिको संस्करणमा निर्णायकमण्डलका रूपमा फिल्म र टेलिशृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र फिल्म प्रोग्रामर जिना ली (दक्षिण कोरिया) हुन्। निर्णायकमण्डलले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (४ छनोट), उत्कृष्ट वृत्तचित्र (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट छोटो वृत्तचित्र (१३ छनोट) रोज्ने छन्। त्यस्तै नेपाली फिल्ममध्ये उत्कृष्ट वृत्तचित्र (६ छनोट) र उत्कृष्ट आख्यान (११ छनोट) चयन गर्ने जिम्मेवारी पनि निर्णायकमण्डलले लिनेछन्।
अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १००० अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १००० अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १००० अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय फिल्मलाई १००० अमेरिकी डलर पुरस्कृत गरिनेछ। नेपाली फिल्ममध्ये उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रूचाएको फिल्मलाई सबैलाई एक लाख रूपियाँ पुरस्कार दिइनेछ। यो वर्ष केयू उदयवान फिल्मकर्मीलाई पनि १००० अमेरिकी डलर दिइनेछ।
यसै संस्करणमा किम्फले पहिलो पल्ट काठमाडौं डक ल्याब कार्यशाला पनि सुरू गर्ने भएको छ। दक्षिण एसियाली क्षेत्रका प्रतिभालाई ठाँउ दिन बनाइएको यो कार्यशाला १०-१४ जेठमा सञ्चालन हुनेछ। यही कार्यशालमा छनोट भएका नौ दक्षिण एशियाली सहभागीहरूलाई पाकिस्तानी फिल्मकर्मी अनम अब्बास, भूटानी निर्देशक अरूण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्टु थोमसद्वारा प्रशिक्षण दिइनेछ। त्यही सिकाइलाई प्रयोग गर्दै सहभागीले किम्फमा आफ्नो वृत्तचित्रको बारेमा दर्शकसामु प्रस्तुत गर्नेछन्। उत्कृष्ट तीन सहभागीलाई नेपाल चलचित्र विकास बोर्ड, किम्फ फाउण्डेसन र नेपाल फिल्म इनिसिएटिभबाट कुल ४, ५०० अमेरिकी डलर दिइनेछ।
त्यस्तै कथाहरू र ब्रिटिस काउन्सिलद्वारा संयुक्त आयोजना गरिएको कट कथा कार्यशालाबाट पनि महिला निर्देशकहरूले आफ्नो छोटो वृत्तचित्रको बारेमा प्रस्तुत गर्नेछन्। त्यस्तै निकोन युवा फोटोग्राफी र फिल्ममेकिङ कार्यशाला पनि हुनेछ। यससँगै भिआर र तस्वीर प्रदर्शनी पनि ठमेलस्थित कला सलोनमा हुनेछ।
यो महोत्सव गैरनाफामूलक संस्था किम्फ फाउण्डेसनद्वारा आयोजना गरिएको हो। किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरन्यासनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो।
टिकटको मूल्य रू. १५० तोकिएको छ भने विद्यार्थीहरूको लागि रू. १०० रहनेछ।