भोलिदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्म 'वर एण्ड वधु' लाई बुधबार प्रिमियर गरिएको छ।
ललितपुरको लाबिम मलमा गरिएको 'रेड कार्पेट प्रिमियर' मा फिल्मकर्मी, सञ्चारकर्मीसँगै राजनीतिज्ञ समेतको उपस्थिति रह्यो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेत्रीहरू मिरूना मगर, पशुपति राई, उषा रजक, निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला, निर्देशक सुयोग गुरूङ, हाँस्य कलाकारहरू केदार घिमिरे, जितु नेपाल लगायत हल पुगेका थिए।
फिल्मका निर्देशक मिलन चाम्स, मुख्य कलाकारहरू आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, विजु पार्की लगायत प्रिमियरमा उपस्थित रहे।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट फिल्म उत्कृष्ट बनेकोमा सबैलाई हेर्न आग्रह गरे।
यस्तै, वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पाटोको तारिफ गरे।
निर्देशक दीपाश्री निरौलाले समग्रमा फिल्म उत्कृष्ट बनेको बताइन्। उनले, आँखा शितल हुने फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरिन्। कलाकार केदार घिमिरेले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।
निर्देशक सुयोग गुरूङले मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको प्रतिक्रिया दिए। अभिनेत्री मिरूना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन्।
फिल्म हेरेका अधिकांशले नव–नायक विवेक कर्माचार्यको कामको पनि प्रशंसा गरे।
प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मको निर्माता जानुका थापा हुन्। यो फिल्मलाई हलले उत्साहजनक शो दिएका छन्।