श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म 'हन्टर' निर्माणको औपचारिक घोषणा गरिएको छ।
निर्माण पक्षले सोमबार अभिनेताबाहेक कास्ट एन्ट क्रु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो।
यो फिल्मलाई जीवन सिंहले निर्देशन गर्नेछन्। उनको यो डेब्यु फिल्म हो। फिल्मको मुख्य भूमिकामा अरूण क्षेत्री अनुबन्धित भएका छन्। उनले 'महापुरूष, प्रेमा, ज्याकी आइएम २१' लगायत फिल्ममा काम गरेका छन्।
यो फिल्ममा अभिनेत्री गरिमा शर्मा समेत अनुबन्धित भइसकेकी छन्। यद्यपि निर्माण टिमले यसबारे औपचारिक जानकारी दिएको छैन। अन्य कलाकारबारे केही दिनपछि जानकारी गराइने बताइएको छ।
क्याच कुक इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ।
फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन्।
'चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो। तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ,' उनले भने, 'रियल पात्रको कथामा फिक्सन मिसाइनेछ। जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ।'
फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ। छायांकन पश्चिम नेपालमा हुने जनाइएको छ।