टेलिभिजन श्रृंखलामा एक दशकभन्दा बढी समय बिताएका कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे' ले फिल्म निर्माण गर्दैछन्।
उनीहरूको लोकप्रिय सिरियल 'सक्किगोनि' को टिमले फिल्म 'लाज शरणम्' बनाउन लागेको हो।
गत साता काठमाडौंमा आयोजित कार्यक्रमकाबीच निर्देशक र केही कलाकारबारे जानकारी दिइएको थियो।
कुमार कट्टेलको निर्देशनमा बन्ने फिल्ममा केही कलाकार 'सक्किगोनि' टिमबाट छन्। केही बाहिरी छन्।
उनीहरूको टिमबाट अर्जुन घिमिरे 'पाँडे', सागर लम्साल 'बले' र कमलमणि नेपालको नाम घोषणा भएको छ। फिल्ममा कलाकारको पात्रबारे भने केही खुलासा गरिएको छैन।
आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अर्जुन घिमिरेले आफ्नो पात्र आफूलाई नै सरप्राइजको रूपमा रहेको बताए।
पाँडे पात्रको भूमिकाबाट लोकप्रिय उनलाई 'फिल्ममा पनि सोही भूमिकामा देखिन लाग्नुभएको हो कि फरक?' भनेर प्रश्न सोधिएको थियो।
जबाफमा उनले भने, 'मेरो कस्तो भूमिका हुन्छ, के हुन्छ? निर्देशकले के दिनुहुन्छ मलाई नै सरप्राइज छ।'
कुमारले अर्जुनबाट दर्शकले जुन अपेक्षा गर्छन्, सोहीअनुसारकै भूमिका फिल्ममा रहेको बताए।
'उहाँ अत्यन्तै मन पराइएको पात्र र अत्यन्तै इन्टरटेन गर्ने पात्र। फिल्ममा उहाँ हुनुहुन्छ भनेपछि उहाँसँग दर्शकको जे अपेक्षा हुन्छ र जे सोचले इन्टरटेन गर्न आउनुहुन्छ। त्यो चिज फिल्ममा पाउनुहुनेछ,' उनले भने।
भदौ २२ गतेदेखि छायांकनमा जाने फिल्ममा माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बरालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ। फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ।
'सक्किगोनि' लाई कुमार र अर्जुनले संयुक्त लेखन एवं निर्देशन गर्दै आएका छन्। फिल्मको यात्रा सुरू गरे पनि सिरियल निरन्तर चलिरहने उनीहरूले बताए।