कुनै समय फिल्म र गीत करोड क्लबमा प्रवेश गर्नु निकै ठूलो मानिन्थ्यो। इन्टरनेटको सहज पहुँचसँगै अहिले एकपछि अर्को फिल्म र गीतले त्यो आँकडा पार गर्ने गरेका छन्। युट्युबमा करोड बढी हेरिएका गीत र फिल्म थुप्रै छन्।
पछिल्लो समय युट्युबमा नेपाली सिरियलको क्रेज पनि लोभलाग्दो देखिन्छ। टेलिभिजनमा प्रसारणमा आउने अधिकांश सिरियल युट्युबमा अपलोड गरिन्छ। धेरैले युट्युबलाई केन्द्रमा राखेर समेत सिरियलको निर्माण गरिरहेका छन्।
यद्यपि युट्युबमा एक करोड भ्युज पाउने सिरियल भने अहिलेसम्म न्यून छन्। पहिलोपटक 'भद्रगोल' सिरियलले युट्युबमा एक करोड भ्युज पाएको थियो।
६ वर्षअघि रामसार मिडिया प्रा.लि युट्युबमा सार्वजनिक 'भद्रगोल' को १६० एपिसोडलाई एक करोड २८ लाखभन्दा बढीपटक हेरिएको छ। त्यस्तै, पाँच वर्षअघि मिडिया हब अफिसियलमा सार्वजनिक २०२ एपिसोडलाई एक करोड १० लाखभन्दा बढीपटक हेरिएको छ।
यस सिरियललाई त्यसबेला अर्जुन घिमिरे 'पाँडे' र कुमार कट्टेल 'जिग्री' ले लेखन एवं निर्देशन गर्दै आएका थिए। यो टिमले अहिले ‘सक्किगोनि’ बाट दर्शकको माया पाइरहेका छन्।
युट्युबमा सर्वाधिक धेरै हेरिएको नेपाली सिरियल भने 'गाह्रो छ हो' हो। यो सिरियलका तीनवटा एपिसोडलाई युट्युबमा करोडभन्दा धेरै पटक हेरिएको छ।
तीन वर्षअघि सार्वजनिक सिरियलको एपिसोड १४ लाई सोमबारसम्म एक करोड ८८ लाखभन्दा बढी पटक हेरिएको छ।
एपिसोड १७ लाई एक करोड ३६ लाख बढीले हेरेका छन्। त्यस्तै एपिसोड ४४ लाई एक करोड १९ लाख बढी पटक हेरिएको छ। यी एपिसोडमा बेगम नेपाली 'भट्भटे माइला' र रियाशा दाहालको लेखन एवं मुख्य अभिनय छ।
'भट्भटे माइला' युट्युबबाट सार्वजनिक हुने सिरियललाई मनराज श्रेष्ठले निर्देशन गर्दै आएका छन्। यसको अहिलेसम्म २०७ भाग प्रसारणमा आएको छ।
युट्युबमा करोडभन्दा बढी हेरिएको अर्को सिरियल हो, भुन्टी। आशा खड्काको लेखन, निर्देशन, निर्माण एवं शीर्ष अभिनय रहँदै आएको यो सिरियलको एउटा एपिसोडले युट्युबमा एक करोडभन्दा बढी दर्शक पाएको छ। दुई वर्षअघि सार्वजनिक एपिसोड ६५ लाई एक करोड २ लाख बढीले हेरेका हुन्।
आशाले 'भुन्टी' सँगै अर्को सिरियल ‘कान्छी’ पनि निर्माण गर्दै आएकी छन्। दुवै सिरियल दर्शकमाझ लोकप्रिय छन्।
'हल्का रमाइलो', 'सक्किगोनि' लगायतका सिरियलको केही एपिसोडको भ्युज करोड नजिक छ।
नेपालमा एक दर्जन हाराहारी सिरियल दर्शकमाझ लोकप्रिय छन्।