सिक्लेस गाउँमाथि उभिएको लमजुङ हिमाल आइतबार दिनभर छोपिएन।
पोखराबाट करिब ४२ किलोमिटर उत्तरमा अवस्थित गुरूङ गाउँ सिक्लेसमा शनिबार नेपाली चलचित्र क्षेत्रमा कार्यरत कलाकारदेखि निर्देशकसम्म उक्लिए। उनीहरूलाई सिक्लेसबासीले पञ्चेबाजा बजाउँदै दहीमा मुछेको सेतो टीका र फूलमालाले स्वागत गरे।
चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको ‘सिनेमा संवाद’ मा भाग लिन पुगेका कलाकार र निर्देशकहरूको टोलीले आइतबार दिनभर नेपाली चलचित्रका इतिहासदेखि वर्तमान सम्मका विषयमा बहस गरे। केहीले सिनेमाका स्वादका विषयमा बहस गरे, केहीले अनुभव र इतिहास सुनाए। सरकारले सिनेमालाई प्राथमिकता नदिएको गुनासो गरे।
नेपाली सिनेमाको स्वाद कस्तो छ, कस्तो हुनुपर्छ? शीर्षकमा रंगकर्मी अनुप बराल, निर्देशक मनोज पण्डित र अभिनेत्री दिया मास्केसँग पत्रकार सुरज सुवेदीले बहस गरे।
फिल्म निर्माणको उद्देश्य मनोरञ्जन भए पनि आफूले कहिल्यै फिल्मलाई मनोरञ्जनका रूपमा नलिएको रंगकर्मी बरालले बताए।
‘सिनेमालाई कहिल्यै पनि मनोरञ्जनका रूपमा हेरिनँ, सिनेमा भनेको चेतना हो,’ उनले भने, ‘सिनेमाका विषयवस्तु फरक-फरक भए पनि कथा भन्ने तरिका एउटै भयो, यसो हुनुमा निर्माता, लेखक र निर्देशकको चेतनामा निर्भर गर्छ।’
बरालले सिनेमाको स्वाद जिब्रोले नभई मानिसको शरीरमा रहने पाँचै इन्द्रीयले अनुभव गर्ने उनले बताए।
निर्देशक मनोज पण्डितले सिनेमालाई बौद्धिक उत्पादनका रूपमा अझै पनि निर्माताहरूले नलिएको बताए। सिनेमा बनाउँदा संवेदनालाई मात्र ध्यान दिने प्रवृत्ति हाबी रहेको भन्दै उनले निर्माता, निर्देशक र लेखकबाट नेपाली सिनेमा खतरामा रहेको बताए।
‘सिनेमाका पात्रहरू स्वतन्त्र छैनन्, पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि गर्ने संघर्ष र परिस्थितिहरू सामना गर्न पाएका छैनन्,’ उनले भने, ‘पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि गर्ने संघर्ष थपियो भने मात्र सिनेमाको स्वाद बढ्छ।’
अभिनेत्री दिया मास्केले सिनेमा निर्माणदेखि प्रदर्शनसम्म आउँदा स्वाद फिक्का हुँदै जाने गरेको अनुभव सुनाइन्। सुटिङ गर्दागर्दै लागत बढ्नेदेखि अन्य कारणले फिल्म सोचे अनुसार निर्माण हुन नसकेको बताइन्।
‘फिल्म सुटिङमै बजेट बढ्दै जाँदा हतार हतारमा छिटो सिध्याउने ध्याउन्न निर्माता र निर्देशकमा देखिन्छ,’ उनले भनिन्, ‘जस्तोसुकै मौसममा पनि सुटिङ गर्ने र जसरी पनि छिटो सकाउन खोज्दा कथामा कल्पना गरिए जस्तो सिनेमा बन्दैन।’
नेपाली सिनेमाले आफ्नो स्वाद थाहै नपाएको भन्दै निर्देशक पण्डितले विदेशी फिल्मका विविध स्वाद राख्दाराख्दै आफ्नो मौलिक स्वाद गुमाएको बताए।
‘हामीलाई हाम्रो फिल्मको स्वाद थाहै छैन, संसारका फिल्ममा रहेका स्वादका अंश ल्याउँदा ल्याउँदा कस्तो बन्यो थाहै हुँदैन,’ उनले भने, ‘हाम्रो वरिपरि बाच्न सक्ने पात्र फिल्ममा देखिँदैन।’
अधिकांश नेपाली फिल्मका मुख्य पात्रको उद्देश्य नै महिला फकाउने देखिएको पण्डितले बताए। जबकि, महिलाले पुरूषलाई र पुरूषले महिलालाई प्रेम गर्नु, आफ्नो पक्षमा पार्न प्रभावित गर्न खोज्नु सामान्य भइसकेको उनको भनाइ छ।
फिल्ममा महिला र पुरूषबीच प्रेमका लागि एउटा पक्ष धनी र अर्को पक्ष गरिबजस्ता सामान्य कुराहरूमा मात्र सिनेमाका कथा घुम्ने गरेको उनले बताए।
‘सिनेमाका पात्रहरू प्रेमभन्दा माथि उठ्न सकेन, पात्रका जीवनमा अरू नै उद्देश्य र संघर्ष हुन सक्छ,’ उनले भने, ‘सिनेमाका पात्रले प्रेम बाहेक अरू पनि उद्देश्य लिन सक्छन्, त्यो उद्देश्य प्राप्तिका लागि गर्ने संघर्ष र परिस्थिति फरक हुन सक्छ।’
सिनेमा र सरकारका विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक आकाश अधिकारी र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलासँग पत्रकार प्रकाश सुवेदीले बहस गरेका थिए।
अभिनेत्री एवं निर्देशक निरौलाले नेपाली सिनेमालाई सरकारले कहिल्यै प्राथमिकतामा नराखेको बताइन्।
‘सरकारले सिनेमालाई कहिल्यै पनि प्राथमिकता दिएन, हामी सबै एकजुट भएर सरकारलाई दबाब दिन सकिन्छ,’ उनले भनिन्, ‘बोर्डका अध्यक्ष भुवन केसी सरकारलाई दबाब दिन अघि बढे साथ दिन हामी तयार छौं।’
निर्देशक आकाश अधिकारीले चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गर्न र नयाँ चलचित्र ऐन जारी गर्न आफूहरूले मेहेनत गरे पनि सरकारले चासो नदिएको बताए। नयाँ ऐनको प्रस्तावना तयार गरेर सरकारलाई पठाउँदा कर्मचारीतन्त्रले हेरफेर गरेर २०२६ सालमा आएको ऐन भन्दा पनि खराब व्यवस्था राखेको उनले बताए।
अहिले चलचित्र विकास बोर्डले नयाँ ऐनको प्रस्तावना बनाएर सरकारलाई बुझाउने तयारी गरिरहेको अध्यक्ष केसीले बताए।
‘हामीले सबैसँग छलफल गरेर नयाँ ऐनको प्रस्ताव सरकारलाई बुझाउने तयारीमा छौं,’ उनले भने, ‘बोर्डलाई स्वायत्त बनाउने गरी नयाँ ऐन जारी गर्न अहिलेको सञ्चार मन्त्री रेखा शर्मा पनि सकारात्मक हुनुहुन्छ।’
चलचित्र विकास बोर्डको अध्यक्ष भएर काम गर्न सक्ने अरू आए आफूले कुर्सी छाड्न तयार भएको केसीले बताए।
चलचित्र विकास बोर्ड हराएकाले खोज्न आफू अध्यक्ष बनेको भन्दै केसीले काम गर्न नसके राजीनामा दिने उद्घोष गरे।
‘चलचित्र विकास बोर्ड हराएकाले खोज्न म अध्यक्ष बनेको हुँ। बोर्ड सञ्चार मन्त्रालयमा हराएको छ,’ उनले भने, ‘काम गर्न सकिन भने राजीनामा दिन्छु, अरू कोही काम गर्न आउँछ भने पनि उसलाई कुर्सीमा राख्न प्रयास गर्छु।’
अभिनेत्री एवं निर्देशक निरौलाले चलचित्र विकास बोर्डले कथा, पटकथा, निर्देशन लगायतका विषयमा तालिमहरू चलाउनुपर्नेमा जोड दिइन्। बोर्डले अवार्ड दिने काम बन्द गर्नुपर्ने उनको माग छ।
‘बोर्डले हामीलाई तालिम दियोस्, सबैलाई राम्रो बनाउनतिर सरकार लाग्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले यो राम्रो, त्यो नराम्रो भनेर अवार्ड दिने होइन, त्यो जिम्मा बाहिर अरूलाई छाडिदिए हुन्छ।’
जवाफमा बोर्ड अध्यक्ष केसीले विगतदेखि नै अवार्ड कार्यक्रम हुँदै आएकाले आफूले पनि निरन्तरता दिएको बताए।
सिनेमा संवादमा सञ्चारकर्मी एवं निर्देशक प्रकाश सायमीले नेपाली फिल्मका इतिहासबारे व्याख्या गरेका थिए।
कार्यक्रममा अभिनेता भुवन केसी र अभिनेत्री गौरी मल्लका सिनेमा यात्राका अनुभवबारे सञ्चारकर्मी सन्जोग बस्यालले अन्तर्क्रिया गरेका थिए।
चलचित्र पत्रकार संघ कास्कीले सिनेमा संवादको पहिलो संस्करण कास्कीकै पर्यटकीय घान्द्रुक गाउँमा आयोजना गरिएको थियो। कार्यक्रमको दोस्रो संस्करण पर्यटकीय गाउँ सिक्लेसमा भएको थियो।
संघका अध्यक्ष प्रभु अधिकारीले चलचित्रका विविध विषयमा बहस मार्फत उन्नतिका उपाय खोज्न सहयोग पुग्ने विश्वास लिए। पर्यटकीय गाउँमा भएको कार्यक्रमले गाउँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको उनले बताए।