ललितपुर, झम्सिखेलस्थित कर्मा क्याफेको एउटा भित्तामा अंग्रेजीमा लेखिएको छ — इट इज नट जस्ट एबाउट कफी, इट इज वन्ली एबाउट कफी।
अर्थात्, यो कफीबारे मात्र होइन, यो कफीकै बारे मात्र हो!
यही क्याफेका अरू भित्ता र झ्यालमा केही दिनयता ईःले आफ्नो यात्रा क्रममा खिचेका फोटा झुन्ड्याएका छन्। कर्माको भित्तामा लेखिएझैं उनको फोटो यात्रालाई त्यसरी नै दिमाग रिंग्याउने पारामा अंग्रेजी नाम दिइएको छ — ह्वाट ईः सअ, एज ईः सअ इट्।
अर्थात्, जे ईःले देखे, त्यसरी ईःले देखे।'
ईःले आफ्नो यात्राक्रममा खिचेका सयभन्दा बढी फोटा अहिले कर्मा क्याफे हुँदै तल्लो तलामा रहेको 'नृत्य आँगन' सम्म झुन्डिएका छन्। आफूले घुमेका ठाउँ अनि भेटेका मान्छेका मुहारचित्रहरू झुन्ड्याउने ईः तिनै व्यक्ति हुन् जसले कुनै समय सिंहदरबारको गेटमा रातो रङ छ्यापेर सरकारविरूद्ध विरोध जनाएका थिए। मधेस आन्दोलन चर्किएका बेला हुलाकी राजमार्ग र पूर्वपश्चिम पैदल यात्रा गरेका थिए। भारतले नाकाबन्दी लगाउँदा मध्यपहाडी लोकमार्गमा साइकल यात्रा गरेका थिए। कोरोनाको समयमा 'इनफ इज इनफ' आन्दोलन गर्दै अनसन बसेका थिए।
देशका अस्थिरतामा उनी स्थिर बस्न सक्दैनन् र बुलन्द आवाजसाथ सडकमा ओर्लिहाल्छन्। बाँकी समय उनी एक आध्यात्मिक यात्री जस्ता लाग्छन् जसलाई दुनियाँ–दिवानाको केही वास्ता छैन। एक्लै यात्रामा हिँड्दा के होला भन्ने पर्वाह नै छैन।
त्यसैले उनी हाकाहाकी भनिदिन्छन्, 'मैले गरेको यात्राको कुनै योजना थिएन। यो त केवल प्रक्रिया थियो।'
प्रक्रिया नै सही उनी नेपालको मेचीदेखि महाकाली चार–पाँच पटक हिँडिसकेका छन्। नेपालले मात्र नपुगेर भारत पुगेका छन्। श्रीलंका र बंगलादेश गएका छन्। कर्मामा झुन्डिएका उनका फोटा नेपालबाहेक तिनै देशका विभिन्न ठाउँ घुमेका सम्झना हुन्। यो यात्रामा उनले १४ हजार किलोमिटरभन्दा बढी दुरी हिँडेरै पार गरेका छन्।
कर्मा क्याफेमा एकदिन ईःको यात्राबारे सार्वजनिक छलफल हुँदा उनले भनेका थिए, 'म १४–१५ वर्षको हुँदादेखि नै एकदम हिँडिरहने खालको मान्छे थिएँ। आफ्नो समाजभन्दा बाहिर के छ, आफ्नो आँखाले देख्ने डाँडाकाँडा र हिमालभन्दा पारि के छ, आफू बसेको चौघेराभन्दा बाहिर के छ भन्ने कुराले मलाई सधैं कौतुहल बनाउँथ्यो।'
सुरूआती दिनमा सामाजिक व्यवस्था परिवर्तन गर्छु भन्दै हिँडेका उनले एकदिन आफ्नो वास्तविक नाम नै बदलेर ईः मात्र राखे जसको कुनै अर्थ लाग्दैन। त्यसको अर्थ बनाउने प्रक्रियामा छन् उनी।
स्कुले जीवनमै ईः थुप्रै अभियान र सामाजिक काममा लागेका थिए। यही सिलसिलामा उनले विभिन्न ठाउँ यात्रा गरे। घर–परिवार छाडेर हिँडेपछि उनलाई जे गर्न पनि छुट भयो। फुक्काफाल उनी बिस्तारै सानोतिनो पदयात्रा गर्न थाले। अनि आफूलाई हिँड्न मन लाग्ने कुरा पनि थाहा पाउँदै गए।
'केही छोटा पदयात्रा गरेपछि मलाई महसुस भयो कि म एक खालको आध्यात्मिक यात्रामा निस्किन सक्छु,' उनले भने, 'यात्रामा जति मन लाग्छ, म त्यति हिँड्थेँ। कस्तो खाने र कहाँ सुत्ने भन्ने कुरालाई मैले खासै महत्त्व दिइनँ। त्यसले मलाई केही हदसम्म सहयोग गर्यो। म किशोर उमेरको भएकाले मान्छेहरूले पनि मलाई सहृदयी भावना देखाएर सहयोग गर्नुभयो।'
सुरूमा उनले महाकाली खोलादेखि मुस्ताङसम्मको यात्रा गरे। सुरूमै ७० किलो सामान बोकेका ईःलाई तेस्रो दिनमै लाग्न थाल्यो, 'कहिले हजारौं मिटर उकालो हिँड्नुपर्छ, कहिले हजारौं मिटर तल ओर्लिनुपर्छ। यति धेरै सामान बोकेर कसरी उकालो–ओरालो गर्नु?'
उनले ल्याएका धेरै सामान यात्रामा भेटिएका मान्छेलाई बाँडिदिए। झोला दुई किलोमा झर्यो। हिजोआज वरिपरि डुल्दा होस् या यात्रामै रहँदा, उनको झोला त्यति नै हाराहारी तौलको हुन्छ।
ईःको यात्रा सहज बनाइदिने पनि मान्छेहरू हुन्।
'केही मान्छेले मलाई पैसा दिएर सहयोग गरे, केहीले खाना, चिया खुवाए। कसैले बस्ने ठाउँ र सुरक्षित वातावरण दिए त कसैले मेरो कुरा सुन्ने समय दिएँ। त्यस हिसाबले भन्दा उनीहरूले आफ्नो हिसाबबाट जे सक्छन्, गरे,' उनले भने।
उनले कर्मामा राखेका फोटा पनि मान्छेहरूकै छन्। उनले फोटो खिचेको थाहा पाएका मान्छे उनको क्यामरा हेरेर मुस्कुराइरहेका छन्। बाँकी मान्छे केही न केही काममा व्यस्त देखिन्छन्। कोही खेतमा, कोही सैलुनमा त कोही घडी पसलमा। बाँकी फोटा ल्यान्डस्केप र ईःलाई रोचक लागेका दृश्यहरू छन्।
व्यावसायिक फोटोग्राफर नभए पनि कतिपय फोटाका फ्रेम, लाइट, कम्पोजिसन र विषयवस्तुले मान्छेलाई तान्छन्। तिनले हामीलाई पनि यात्रामा रहेको महसुस गराउँछन्। ती फोटालाई ईः आफूजस्तै सरल ढंगले राख्न चाहन्थे। त्यसैले खर्चिलो प्रदर्शनी गरेनन्। फोटा सामान्य धुलाइ गरी आफ्नै हातले 'क्याप्सन' लेखेर झुन्ड्याएका छन्।
यात्रा गर्दा आफूले भनेकै गन्तव्यमा भनेकै समयमा पुगिन्छ भन्ने हुँदैन। कहिलेकाहीँ बाटो बिराइन्छ पनि। एकपटक ईःलाई त्यस्तै भयो। उनलाई जानु थियो भारतको सुस्मा जोयनेस्ट अर्पाटमेन्ट। उनी पुगे पनि। तर त्यो त्यही नाम भएको त्यसको शाखा रहेछ।
मध्यरातमा पुगेका उनलाई त्यहाँका मान्छेले सुरूमा चोर भन्ठानेर सोधेछन्, 'तिमी चोर हौ?'
ईःले आफ्ना साथीहरूले जिस्काएको ठानेर भनेछन्, 'हो म चोर, डाकु हो।'
त्यसपछि उनलाई त्यहाँबाट धपाउन सुरक्षाकर्मी नै खटिए। अनि बल्ल ईःले आफ्नो वास्तविक परिचय खुलाए। माहोल रमाइलो भयो।
'म गलत ठाउँ आएको भए पनि पछि उनीहरू खुसी भए। यो मान्छे कति टाढाबाट आएको रहेछ भनेर राम्रो व्यवहार गरे। मलाई मिठाइ र चिसो खान दिएर स्वागत गरे। उनीहरूले म पुग्नुपर्ने सुष्मा जोयनेस्टसम्म छाडिदिने पनि भनेका थिए तर म हिँडेरै गएँ,' यात्राका रमाइला किस्सा सुनाउँदै ईःले भने।
यात्रामा सधैं रमाइलै किस्सा मात्र हुन्छ भन्ने पनि हुँदैन। रमाइलो र नरमाइलो किस्साको सँगालो नै यात्रा हो। एकपटक ईः दिल्लीबाट तीन हजार मिटर माथि उक्लिए। दोस्रो दिन करिब ४० किलोमिटर हिँडेर दुई हजार मिटर थप उक्लिए। माइनस डिग्री तापक्रम, त्यसमाथिको निरन्तर यात्राले उनी बिरामी परे। त्यहाँ भेटिएको एउटा होटलमा बासका लागि ढोका ढकढकाए।
'यस्तो सिकिस्त बिरामी मर्यो भने को जिम्मेवार हुने,' होटलवालाले उनलाई बास दिएनन्।
त्यहाँबाट उनी नजिकै रहेका सेनाकहाँ गुनासो पोख्न गए। सेनाले अनुरोध गर्दा होटलवालाले सोधे, 'यो मान्छेलाई केही भयो भने तपाईंहरू जिम्मेवार हुनुहुन्छ?'
सेनाहरूसँग पनि त्यसको उत्तर थिएन। उनीहरूले आफ्नो गाडीमा राखेर उचाइभन्दा तल लगेर उनलाई छाडिदिए र भने, 'भोलि ठीक भयौ भने फेरि आउनु!'
मध्यरात भइसकेको थियो। ईःले एकछिनमा एउटा भ्यान भेटे। त्यहाँ सबै सेनाकै जवान थिए। ईः जुन होटल जान चाहन्थे, उनीहरूले त्यहीँ छाडिदिए।
'नेपालीहरू साधारण हुन्छन् र उनीहरूको नियत खराब हुँदैन भन्ने भारतका मान्छेहरूको धारणा छ। भारतमा पनि थुप्रै नेपाली छन् जो इमानदारीपूर्वक काम गरिरहेका छन्। त्यसले पनि मलाई सहयोग गर्यो,' उनले भने।
भारतको कार्गिलबाट उनी ६ महिनासम्म हिँड्दै कन्याकुमारी पुगे। भ्रमणपछि त्यहीँबाट जहाज चढेर श्रीलंका गए। त्यहाँबाट नेपाल आएर बंगलादेशको भिसा लिए र गए।
हरेक ठाउँ पुग्दा भाषा फरक हुँदै जान्छ। एकपटक ईःले तेलेगू भाषा सिक्न खोजेका थिए। तेलंगनामा सिकेको तेलेगू कर्नाटक पुग्दासम्म कसैले बुझेनन्। हरेक ठाउँमा स–साना भाषा र उच्चारणमा विविधता हुन्थ्यो। त्यसपछि ईःलाई भाषा सिक्ने काम समयको बर्बादी लाग्यो। उनले जानेको नेपाली, हिन्दी र अंग्रेजीले नै सञ्चारमा सक्दो सहयोग गर्यो। केही टुक्रा शब्द भने सिक्दै हिँडे।
आफ्नो यात्रा अनुभवबाट ईः संसारबारे धारणा राख्छन्, 'टाढाबाट हेर्दा सबै साधारण र स्थिर जस्तो लाग्छ। नजिकबाट हेर्दा संसार एकदम अजीव र गतिशील छ।'
उनले यस यात्रामा आफैंलाई पनि चिनेका छन्, 'मलाई म संसारभन्दा फरक छु भन्ने लागेन। म मेरो वरिपरि भएका कुराहरूकै हिस्सा हुँ। यात्रापछि आफू कस्तो मान्छे होइन्छ भन्ने पनि थाहा हुँदैन। यात्राभरमा कसरी परिवर्तन भइरहेका छौं भन्ने बिस्तारै आफैं थाहा हुन्छ।'
ईः आफूजस्तै एकल यात्रा गर्नेलाई सल्लाह पनि दिन्छन्, 'यात्रीका रूपमा बेपरवाही र खुला हुनुभयो भने धेरै सजिलो हुन्छ।'
उनको जस्तो यात्रा धेरै मान्छेले कल्पना गरेका हुन्छन्। ईःले त्यो कल्पना साकार गरेका छन्। त्यो सपना पूरा गर्दाको उनको अनुभव कर्मा क्याफेका भित्तामा झुन्डिएका फोटामा महसुस गर्न सकिन्छ।
ईःले हिँडेको बाटो पहिल्याउन मन छ भने तपाईंहरू पनि कर्मामा पुग्न सक्नुहुन्छ। त्यो यात्रालाई तपाईं आफैं नाम पनि दिन सक्नुहुन्छ, 'ह्याट आई सअ, एज ईः सअ इट।'
अर्थात्, 'जसरी ईःले देखे, मैले देखेँ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी