पर्दापछाडिका हिरो
एउटा गीत श्रोतासम्म कसरी पुग्छ? गायकको आवाजमा के के मिसाइन्छ? मिश्रणको काम कसले गर्छ?
हामीले यी र अन्य केही जिज्ञासाहरूमा साउन्ड इञ्जिनियर किशोर थापालाई भेटेका छौं।
उनले धेरै गायकका आवाजमा गीतसंगीतका अन्य अवयवहरू मिश्रणको काम गरेका छन्। मुख्य अवयव हुन् गायकको आवाज र बाजाहरूको धुन।
साउन्ड इञ्जिनियरहरू मिश्रणको यो कामलाई 'अडियो मिक्सिङ' भन्छन्।
सात वर्षअघि आएको नेपाली चलचित्र 'प्रेम गीत' को 'म यस्तो गीत गाउँछु...' बोलको गीत लामै समय चर्चामा रह्यो। यसमा अडियो मिक्सिङको काम उनै किशोरले गरेका थिए।
उनले नेपाली चलचित्रका गीतसँगै सयौं आधुनिक गीत अडियो मिक्सिङ र सम्पादन गरेर श्रुतिमधुर बनाएका छन्।
कुनै गीत श्रोतासम्म कसरी आइपुग्छ?
सबैभन्दा पहिला लेखकले गीत लेख्छन्। शब्दले अन्तिम रूप पाएपछि संगीतकारकहाँ पुग्छ। उनले त्यसका लागि भाका अर्थात लय तयार गर्छन्। संगीतअनुसार गायकले स्टुडियोमा गीत गाउँछन्। यसपछि बाजाको तयारी हुन्छ। गीतमा बाजा बजाउने र धुनको संगीत मिलाउने कामको प्रबन्ध 'म्युजिक एरेन्जर' ले गर्छन्। वाद्यवादकहरूले 'रेकर्डिङ स्टुडियो' मा बसेर बाजा बजाउँछन्। सबै वाद्यवादनको धुन कम्युटरमा रेकर्ड हुन्छ।
अब सुरू हुन्छ किशोरको खास काम। अडियो मिक्सिङ गर्ने अर्थात् गायकको आवाज र वाद्यवादनको धुन मिश्रण गरेर श्रोताका लागि गीतको अन्तिम रूप तयार गर्ने काम उनको हो।
किशोरका अनुसार अडियो मिक्सिङ गर्नु भनेको खाद्य परिकारमा नुन, मरमसला र अन्य सबै चिज मिलाएर जिभ्रोमै झुन्डिने गरी स्वादिलो बनाउनु जस्तै हो। अडियो मिक्सिङ नै गीतलाई अन्तिम रूप दिने प्रक्रिया हो। यो काम निकै सावधानीपूर्वक गर्नुपर्छ।
गायकको स्वर र बाजाहरूको धुन अनेक पटक सुनेर यी सबैको संयोजन गर्नुपर्छ।
'गीत र बाजाहरूको धुन बारम्बार सुन्नुपर्छ। हरेक धुन राम्ररी बुझेर गायकको स्वरमा मिलाएर राख्नुपर्छ,' किशोरले भने।
मिक्सिङका क्रममा यसअघि नै आइसकेका गीतका धुनहरू पनि विचार गर्नुपर्छ। अहिले प्रयोग गर्न लागेको धुन कुनै गीतमा आइसकेको छ कि भन्ने कुरा ख्याल राख्न नसके दोहोरिने सम्भावना हुन्छ। दोहोरिन नदिई धुनलाई नयाँपन दिने काम पनि अडियो मिक्सिङकै क्रममा गर्नुपर्छ।
किशोरका अनुसार कहिलेकाहीँ अडियो मिक्सिङका क्रममा संगीतकारले सोचेको भन्दा अलग धुन आउन सक्छ। अलग धुन आउनुको अर्थ संगीत नै बदलिनु होइन, बाजाका धुनहरूको संयोजन फरक पर्नु हो।
'यसरी काम गर्दागर्दै गीतमा संगीतकारले सोचेको भन्दा फरकपन आउन सक्छ। गीतको लय संगीतकारले दिएअनुसार नै हुन्छ,' उनले भने, 'यसबाट गीतमा नयाँपन आउँछ। संगीतकारलाई पनि चित्त बुझ्ने हुन्छ।'
संगीतबद्ध विज्ञापनको काम पनि यसरी नै हुन्छ। किशोर विज्ञानपनमा पनि काम गर्छन्।
एउटा गीतलाई श्रुतिमधुर बनाएर श्रोतासम्म पुर्याउन जति मेहनत चाहिन्छ, त्योभन्दा बढी संघर्ष गरेर किशोरले आजसम्मको यात्रा तय गरेका हुन्। किशोरवयमा देखेको सपना बदलिँदै उनी सांगीतिक क्षेत्रमा आइपुगे।
स्कुल पढ्दा उनी गीत–कविता लेख्थे। तैपनि साहित्यतिर जान्छु भन्ने सोचेका थिएनन्। उनलाई अर्थशास्त्र पढ्नमा खुब रूचि थियो। भविष्यमा चार्टर्ड अकाउन्टेन्ट (सिए) बन्ने सपना देखेका थिए। आफ्नो सपनाको बाटो पछ्याउँदै जन्मस्थल गोर्खाबाट राजधानी काठमाडौं आइपुगे। उनका मामा थिए काठमाडौंमा।
मामाले भान्जालाई रेकर्डिङको काममा लगाउने विचार गरे। खा
समा मामा पढाइ खर्च जुटाउन सजिलो होओस् भनेर भान्जालाई थोरै समय काममा लगाउन चाहन्थे। राम्रा कविता लेख्ने भान्जा गीत लेखेर भविष्यमा गीतसंगीत र साहित्यमा लाग्लान् भन्ने पनि मामाको सोचाइ थियो।
त्यो समय मामा अडियो–भिडियोमै काम गर्थे।
मामाको सहयोगमा १६ वर्षको उमेरमा किशोर रेकर्डिङ स्टुडियोमा छिरे। काम सिक्न सुरू गरे।'त्यो बेला काम गर्नु केही खर्च जुटाउनका लागि थियो। गाउँबाट आउनासाथ काम पाउनु मेरा लागि ठूलो अवसर थियो। मामाले भनेअनुसार तुरुन्तै काम सिक्न थालेँ,' उनले भने।
स्टुडियोको काम त खर्च जुटाउन मात्र थियो, सिए बन्ने सपना दायाँबायाँ भएको थिएन। अर्थशास्त्र विषय लिएर ११ र १२ कक्षा पूरा गरे। यतिन्जेलमा उनी स्टुडियोमा अभ्यस्त भइसकेका थिए। काममा रूचि बढेको थियो। यसमै रमाउन थालेका थिए। आखिर सिए बन्ने सपना नै भुले।
'ममा त सिए बन्ने भूत नै सवार थियो। स्टुडियोमा बस्दाबस्दै कति बेला सपना फेरिएछ, पत्तै भएन,' उनले भने।
उनी पढाइका लागि स्नातक तहमा भर्ना भए। स्डुडियोको काममा रूचि अझ गाढा हुँदै गयो। रूचिसँगै कामको समय पनि बढ्दै गयो। कामको दायरा फराकिलो हुँदै गयो। आखिर पढाइमा कम, कामका बढी समय बित्न थाल्यो।
स्टुडियोको काम राम्रो चल्दै थियो। उमेर बढ्दै जाँदा उनको मनमा आत्मसम्मानको भावना पनि गाढा हुँदै गयो। मेहनतअनुसार पारिश्रमिक पनि कम भयो भन्ने निष्कर्षमा पुगे।
'सानो उमेरको ठानेर हो कि किन, स्टुडियोका मालिक मलाई फुर्सदको मौका पारेर खाजा, चुरोट इत्यादि लिन बाहिर पठाउँथे,' उनले सुनाए।
किशोरलाई यसरी अह्राएको मन पर्न छाड्यो। आफ्नो आत्मसम्मानका चोट पुगेको ठाने। आफूलाई स्टुडियोको काम मात्रै लगाउन आग्रह पनि गरे तर मालिकले वास्ता गरेनन्। आज, भोलि भन्दाभन्दै स्टुडियोमा ९ वर्ष गुजारे।
अन्ततः स्टुडियो छाडेर किशोर गाउँ फर्के। पढाइ पनि छुट्यो। अब के गर्ने? उनको दिमाग रन्थनियो।
सुन्तलाखेती गर्ने विचारले काम सुरू गरे। भएका बोट स्याहारसुसार गरे, केही नयाँ बिरूवा रोपे।
तर एक वर्षमै उनलाई केही संगीतकारहरूले काठमाडौं फर्काए। अर्काकोमा काम गर्दा आफ्नो आत्मसम्मानका ठेस लाग्यो, आफ्नै स्टुडियो खोल्न सके हुन्थ्यो भन्ने सोचे। स्टुडियो खोल्नु सजिलो काम थिएन। लगानीको जोहो गर्नु पर्थ्यो।
किशोरले आफूलाई माया गर्ने संगीतकारहरूसँग मनको कुरा भने। साँच्चै, उनले मद्दत पनि पाए। स्टुडियो बनाउने काम चार महिनामा सकियो। सबै काम जानेकै थिए। 'ए वन म्युजिसियन स्टुडियो' नाम राखेर काम सुरू गरे।
अहिले त आफ्नै स्टुडियोले पनि पन्ध्र वर्ष पूरा गरिसक्यो।
किशोरले काम सिकेको समय आजको जस्तो थिएन। डिजिटल रेकर्डिङ थिएन, रिलको जमाना थियो। टेपमा रेकर्ड गर्नुपर्थ्यो। डिजिटल सुविधाले कामको समय ह्वात्तै घटाइदिएको छ। टेपमा काम गर्दा घन्टा लाग्ने समय डिजिटलमा मिनेटमा झरेको छ।
उनलाई अहिले आफ्नै स्टुडियोमा काम गर्नुको आनन्द अलग्गै छ। आफ्नो समय आफैं व्यवस्थापन गर्न पाइन्छ।
तर गायकको स्वर र वाद्य धुनहरू आपसमा मिश्रण गरेर श्रोतासम्म पुर्याउन कति मेहनत पर्छ भन्ने कुरा श्रोतालाई थाहा नहुनु स्वाभाविक हुन्छ। अडियो मिक्सिङ गर्ने किशोरको काम पर्दाभित्रको हो, उनी कतै देखिँदैनन्। न गीत गाउने हुन् न बाजा बजाउने तर यी सबैलाई मिलाउने चाहिँ उनै हुन्।
उनका फ्यान भन्नु उनको काम मन पराउने गीतकार, संगीतकार र गायक नै हुन्।
भन्छन्, 'हामी पर्दा पछाडि बसेर काम गर्ने मान्छेको फ्यान भनेको लाखौं श्रोताहरूले मनपराएका व्यक्तिहरू नै हुन्।'
किशोरको काम गीतकार, संगीतकार र वाद्यवादकको सपना अनि श्रोताको चाहनासँग जोडिन्छ। सबैभन्दा बढी सपना त गायकसँग हुन्छ। यी सबैको ख्याल गरेर काम गर्नु नै उनको ध्येय हुन्छ।
'गीतमा सबैभन्दा ठूलो सपना गायकको हुन्छ। त्यो सपना पूरा गरिदिनु मेरो काम हो,' उनले भने।
गायक स्वरूपराज आचार्य किशोरका प्रशसंक हुन्। स्वरूपराजका अधिकांश गीतमा किशोरले नै मिक्सिङको काम गरेका छन्।
'किशोरले मिक्सिङ गरेका गीत बलिउडका भन्दा कम छैनन्। उनी आफैं पनि राम्रो गाउँछन्। गीतमा संवेदनशील छन्,' स्वरूपराजले भने, 'मेरा धेरै गीत हिट हुनुमा उनको मिक्सिङको ठूलो योगदान छ। किशोर एकदमै राम्रो काम गर्ने साउन्ड इञ्जिनियर हुन्।'
अञ्जु पन्त, प्रमोद खरेल लगायत गायकको सुमधुर व्यवहारबाट किशोर निकै प्रभावित छन्।
'एउटा गीत राम्ररी चल्दा गायकको जीवन नै परिवर्तन हुन्छ। गायकहरू गीत रेकर्डको सपना बोकेर दौडिन्छन्,' किशोरले भने, 'गीतमा गायकको स्वरको जति महत्व हुन्छ त्यति नै हुन्छ अडियो मिक्सिङको।'
फिल्मका धेरै गीतमा अडियो मिक्सिङ गरिसकेका किशोरले सांगीतिक क्षेत्रका केही पुरस्कार पनि पाएका छन्। उनका अनुसार कोभिड–१९ पछि भने फिल्मी गीतको काम ह्वात्तै घटेको छ। परिस्थिति फेरबदल भइरहे पनि आफ्नो लगनशीलता सधैं उस्तै रहने उनी बताउँछन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी