एसिया कप २०२५ को उपाधिका लागि भारत र पाकिस्तान आगामी आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भिड्दैछन्।
बिहीबार सुपर-४ को खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेसँगै भारत र पाकिस्तानबीच उपाधि भिडन्त पक्का भएको हो।
एसिया कपको ४० वर्षको इतिहासमा भारत र पाकिस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो।
सन् १९८४ मा सुरू भएको एसिया कपमा भारत र पाकिस्तानले यसअघि समूह चरणसहितका खेलमा प्रतिस्पर्धा गरे पनि फाइनलमा भने कहिल्यै भिडेका थिएनन्।
यो अवधिमा १६ संस्करणका एसिया कप सकिदा भारतले आठ पटक उपाधि जितेको छ भने पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ। भारतले पछिल्लो पटक २०२३ मा उपाधि जित्दा पाकिस्तानले सन् २०१२ यता उपाधि जित्न सफल भएको छैन।
अर्को रोचक पक्ष त भारत र पाकिस्तान एकै प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो।
यसअघि भारत र पाकिस्तान समूह चरणमा भिडेका थिए। सो खेलमा भारतले ७ विकेटको सहज जित निकालेको थियो। सुपर-४ को खेलमा पनि भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदा भारत फेरि हाबी भयो। भारतले ६ विकेटले सहजै खेल जितेर फाइनलमा स्थान बनायो।
सन् २००७ यता भारत र पाकिस्तानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा १५ पटक प्रतिस्पर्धा भएको छ। जसमा भारतले ११ खेलमा जित निकालेको छ। पाकिस्तान भने तीन पटक विजयी भएको छ। एक खेल भने बराबरीमा सकिएको छ।
पछिल्ला चार खेलमा लगातार जित निकालेको भारतका कप्तान सूर्यकुमार यादवले टी-२० मा भारत हाबी हुने भएकाले भारत र पाकिस्तानबीचको टी-२० खेललाई प्रतिद्वन्द्विता भन्न नमिल्ने बताएका थिए।