त्रिभुवन विश्वविद्यालयले झन्डै एक वर्ष बित्दा परीक्षाफल सार्वजनिक गर्न सकेको छैन। त्रिविको यही लापरबाहीलाई पुरानो बानेश्वरस्थित बत्तीसपुतलीको शिल्पी नाटकघरमा मञ्चन भइरहेको नाटक 'ज्ञानको चिहान' ले उजागर गरेको छ।
नाटकमा निजी विद्यालय पढाएका आफ्ना छोराछोरीको परीक्षाफल देखेर अभिभावकहरू निराश छन्। आफ्ना छोराछोरीको कमजोरीले नै उत्कृष्ट नम्बर ल्याउन नसकेको त्यहाँका शिक्षकले अभिभावकलाई बताउँछन्।
यसपछि शिक्षकले अभिभावकलाई आफ्नो कब्जामा लिन्छन्, अनि लोभ देखाउँछन्, 'ट्युसन क्लास पढाए मात्र बच्चाले उत्कृष्ट नम्बर ल्याउन सक्छ।'
शिक्षक आफ्नो लक्ष्यमा सफल हुन्छन्। विचरा अभिभावक! उनीहरूलाई नम्बर बढी ल्याउने विश्वासमा आफू ठगिएको पत्तै हुँदैन।
शिक्षक भन्छन्, 'यसपालि स्कुलले पैसा बढाएको छ।'
आफ्ना छोराछोरीको पढाइ राम्रो हुन्छ भने उनीहरू तिर्न तयार हुन्छन्।
पल्लो कोठाबाट प्रिन्सिपल आएर शिक्षकहरूलाई भन्छन्, 'गुड, तपाईंले राम्रो काम गर्नुभयो। उनीहरूलाई के थाहा, हामीले नै नम्बर कम दिएको भनेर।'
उनीहरू खित्का छाडेर हाँस्छन्।
निजी विद्यालयले जसरी विद्यार्थीको सिकाइमाथि खेलवाड गर्दै पैसा कमाउने बाटो रोजेका छन्, नाटकले यो कुरा प्रस्तुत गर्न सफल भएको छ। अभिभावकले आफ्ना छोराछोरीको सिकाइभन्दा नम्बरलाई तुलना गर्दा ती विद्यार्थीको मनोविज्ञानमा धेरै असर पुगेको महसुस गर्न सक्छौं।
'एसइईमा फेल भयो भन्दै विद्यार्थीले गरे आत्महत्या' जस्ता शीर्षकमा समाचार आइराख्दा अभिभावकको यस्तै सोचले गर्दा ज्यान फालेको भाव पैदा हुन्छ।
नम्बरलाई जोडेर यसरी प्रस्तुत भइरहेको संवादमा शिक्षक र अभिभावकले जानीनजानी विद्यार्थीलाई अन्याय गरिरहेको लाग्छ। अझै कमजोरी नै नभएको विद्यार्थीलाई पैसा कमाउनका लागि जबर्जस्ती नजान्ने भनेर तुलना गरिदिन्छन्।
ती विद्यार्थीहरू कसरी पढिरहेका होलान्!
नाटकमा सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा प्रणाली सरल तरिकामा स्पष्ट बुझाइएको छ। नाटकको बीचमा बीचमा बजाइने क्रान्तिको गीतले सबैलाई आवाज त उठाउनै पर्छ भन्ने भाव पैदा गर्छ। साथै एक प्रस्तुतिपछि अब के हुने होला भन्दै दर्शकलाई कौतुहलता पैदा हुन्छ।
यसपछि पात्रहरू सामुदायिक विद्यालयको छलफलमा पुग्छन्।
जहाँ गए पनि हालत उस्तै भनेझैं छलफलमा पनि भाष्य विषयलाई उठाउन खोजिन्छ।
तर त्यहाँ आयन नाम गरेका शिक्षकले मात्र विद्यार्थीका बारेमा सोच्छन्।
विद्यार्थीलाई गाली र कुटपिट नगरी अनुशासनमा राख्न सकिन्छ भन्दै उनी भन्छन्, 'निजी विद्यालयको सिको गर्ने बहानामा विद्यार्थीलाई अन्याय गर्न सकिँदैन। उनीहरूलाई अंग्रेजी भाषा सिकाएर हुँदैन। सिकाइ पद्धति परिवर्तन गर्न आवश्यक छ, गुणस्तरीय शिक्षा ल्याउनुपर्छ।'
उनको यी विचार अन्य शिक्षकलाई पच्दैन। आखिरमा करारमा पढाइरहेका आयनले शिक्षण पेसा छोडिदिन्छन्।
यसरी पात्रहरू फेरि त्रिविमा प्रवेश गर्छन्। जहाँ विद्यार्थी नेता भनिने समूहले बलधम्की प्रयोग गर्छन्। जबरजस्ती आफ्ना समूहको व्यक्तिको नाम रिजल्टमा किन नल्याएको भन्दै शिक्षकलाई लछारपछार गर्छन्।
त्रिविजस्तो ठाउँमा जथाभावी फोहोर छ। वर्षौंसम्म पनि रिजल्ट ननिकाल्दा, विद्यार्थीले झेल्नुपरेको समस्याहरू, बन्द, हड्तालका कारण विद्यार्थीको पढाइ रोकिएको जस्ता घटना नाटकमा देखाइएको छ। नाटक हेरिराख्दा, साच्चै त्रिविमा यस्तै समस्या छ भन्ने विश्वास हुन्छ।
ठूलो सपना बटुलेर पढ्न आएका ती विद्यार्थीलाई त्रिविमा हुने फोहोरी राजनीतिले बुझ्न सकेको छैन।
उपकुलपतिले विद्यार्थीको गुणस्तरीय पढाइ र सिकाइभन्दा आफ्नो फाइदा कसरी हासिल गर्ने भनेर मात्र सोच्छन्। त्रिविमा विद्यार्थी संख्या कति बढ्यो, कति घटी भयो भनेर मात्र तुलना गर्ने उपकुलपतिले संख्या थपघट हुनुको कारण खोज्न सक्दैनन्।
अनावश्यक भौतिक पूर्वाधारलाई मात्र ध्यान दिन्छन्। त्यसैले गुणस्तरीय शिक्षामा भन्दा अरू कुरामा ध्यान दिएको भन्दै उनलाई प्रश्न गरिन्छ। निजी महँगा गाडीमा सरर हिँड्ने त्रिविका कयौं शिक्षकले विद्यार्थीको सिकाइमाथि अन्याय गर्दै आएको देखिन्छ। त्रिविको यस्तै लापरबाहीका कारण धेरै विद्यार्थीहरू शिक्षाबाट बञ्चित भइ विदेशिनु परेको छ।
देशमा स्कुलदेखि उच्च शिक्षासम्म भइरहेको यस्तै बेथिति र परिदृश्य नाटकले दर्साउन खोजेको छ।
दुई वर्षअघि त्रिविका एक शिक्षकलाई क्याम्पस राजनीतिका विद्यार्थी नेता भनेर चिनिनेहरूले कालोमोसो दलेर कुटपिट गरेका थिए।
शिक्षकलाई नै कुट्ने त्रिवि कस्तो थियो, के त्यहाँ विद्यार्थी पढ्न सक्लान् भन्ने प्रश्न नाटकले जोडदार प्रस्तुत गरेको छ। गुणस्तरीय शिक्षा दिन लागिपरेको र फोहोरी राजनीतिबाट विद्यार्थीलाई अलग राख्न चाहने शिक्षकलाई नै लछारपछार पारिन्छ। अपमानित शिक्षक पीडामा ढलिरहनुपरेको छ। उनी फेरि विद्रोह गर्न डराउँछन्।
यस्तो घटना गर्न बन्द गर्नुपर्छ भन्ने सन्देश नाटकले दिन खोजेको छ।
शिक्षामा हुने राजनीति देखेर थाकेका केही विद्यार्थीलाई यिनै कारणले राजनीति नै फोहोरी लाग्छ।
राजनीति भागबन्डाको कारण त्रिविमा परेको असरबारे पनि नाटकले बोल्न खोजेको छ।
अन्तिममा बज्ने गीत, 'कर्मको युग सुरू गरौं, अब भाषण चल्दैन...' ले मञ्चलाई विद्रोही बनाइरहन्छ।
नाटकका राजनीतिक दल वा त्रिविका कुलपति, उपकुलपतिहरू नै आन्दोलन गरिरहेको देखिन्छ।
बेलाबखत माइतीघर मण्डलमा चल्ने आन्दोलन जस्तै लाग्थ्यो। तर यहाँ प्रहरीको खेदाइ छैन। पात्रहरूले आनन्दले आन्दोलन गर्न पाएका छन्।
आन्दोलन कलामार्फत पनि गर्न सकिन्छ!
नाटकले यो कुरा पनि बुझाउन खोजेको लेखकमध्येका एक नरेश रेग्मी बताउँछन्।
नरेश आफैं पनि विद्यार्थी राजनीतिमा सक्रिय छन्। उनी अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिका केन्द्रीय उपाध्यक्ष एवं शैक्षिक विभागका प्रमुख हुन्।
'आन्दोलन भनेको तोडफोड मात्र होइन, शान्तसँग पनि गर्न सकिन्छ भन्ने कुरा बुझाउन पनि नाटक देखाइएको हो,' उनले भने, 'हामीले आन्दोलन रचनात्मक र सकारात्मक तरिकामा गर्न सकिन्छ भनेर देखाउनु पनि नाटकको उद्देश्य हो।'
उनले यो नाटक गत दसैंदेखि नै लेख्न थालेका थिए। तर चुनावका कारण बीचमा रोकियो।
रेग्मीसहित पूर्णबहादुर गन्धर्व र आशिष घिमिरे गरी तीन जनाले यो लेखेका हुन्।
पूर्ण कलाकार पनि हुन्। यो नाटकमा पनि अभिनय गरेका छन्।
यो नाटकमा पूर्णले कलातर्फको विधा हेरेका थिए भने नरेशले राजनीतिक एजेन्डाबारे लेखे। आशिषले भने राजनीतिक विषयवस्तु कसरी समेट्ने भन्नेबारे लेखेका थिए।
संगीत सापकोटको निर्देशन रहेको यो नाटक पञ्चा सिंहले परिकल्पना गरेकी हुन्।
पुस ३० गतेसम्म मञ्चन हुने नाटकमा श्रवणसिंह राना मगर, सुन्दर धिताल, सञ्जित प्रताप मल्ल, सौभाग्य सिंह राई (शोभा), सुनिल तामाङ, विशाल देवकोटा, मौसम खड्का, दीपेश काफ्ले, प्रितिशा अधिकारी, नवीनचन्द्र अर्याल, अर्जुन दुलाल (उमेश), सुचित्रा उप्रेती, विकाश लामा, आनन्द क्षेत्री, नवीन प्याकुरेल, शंकर पोखरेल, उन्नतजंग उप्रेती र निशान खत्रीको अभिनय छ।
'ज्ञानको चिहान' नाटक काठमाडौंबाहिर देखाउने योजना पनि छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी