नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।
युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकालेको हो।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।
वेस्ट इन्डिजका लागि ओपनिङ ब्याटर आमिर जन्गुले १९ रन जोडे भने अर्का ओपनर काइल मेयर्सलाई ५ रनमा कुशल भुर्तेलले रनआउट गरेका थिए।
त्यसपछि ज्वेल एन्ड्रयू ५ रन र अकेम अगस्टे १५ रनमा आउट भए। लगातार विकेट लिएको नेपालसामू वेस्ट इन्डिजका बलर खुलेर ब्याटिङ गर्न असफल भए।
नविन बिदैसीले २२ रन बनाए। खेल आफ्नो नियन्त्रणमा लिएको नेपालका लागि सोमपाल कामीले १८औं ओभरमा १९ रन खर्चिए। एक नोबल दिएका सोमपाललाई अकिल हुसेन र फाबियन एलेन मिलेर १९ रन बनाएका थिए।
तर १९औं ओभरमा करण केसीले एक विकेटसहित २ रन मात्र खर्चिदा नेपाल खेलमा फर्कियो। अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। जसमा दीपेन्द्रसिंह ऐरीले एक विकेटसहित ८ रन मात्र दिए।
बलिङमा नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। उनले ४ ओभरमा १७ रन मात्र दिए। दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १-१ विकेट हात पारे।
त्यसअघि युएईको शारजाहमा टस जितेको वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १४८ रन बनाएको हो।
नेपालका ओपनरद्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ३ रनमै आउट भए। त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे।
कुशलले २१ बल खेलेर समान २ चौका र २ छक्काको मद्दतमा ३० रन बनाए। रोहितले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।
गुल्सन झा १६ बल खेलेर २ छक्का प्रहार गर्दै २२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन जोड्न सके। १९औं ओभरको तेस्रो बलमा दीपेन्द्रलाई गुमाएपछि पाँचौ बलमा सन्दीप जोरा पनि ९ रनमा आउट भए। दुवैलाई जेसन होल्डरले क्याच गराए। अन्तिम बलमा पनि होल्डरले करण केसीलाई शून्यमा क्याच गराए।
नन्दन यादवले अन्तिम ओभरमा एक छक्का प्रहार गर्दै नटआउट ७ रन बनाए।
बलिङमा वेस्ट इन्डिजका होल्डरले १९औं ओभरमा ३ विकेटसहित कुल ४ विकेट हात पारे। उनले चार ओभरमा २० रन मात्र दिए।डेब्यू खेलाडी नविन बिदैसीले ३ विकेट लिए। उनले चार ओभरमा २९ रन खर्चिए।
खेलमा सन्दीप लामिछानेसहित आरिफ शेख, लोशेक बम, आदिल आलाम र शाहब आलम पनि बेन्चमा थिए।
युनिटी कपको नाम दिइएको यो सिरिज नेपालले आइसिसीको स्थायी सदस्यसँग खेल्न लागेको पहिलो द्विपक्षीय सिरिज हो।
एक वर्षअघि वेस्ट इन्डिजको ‘ए’ क्रिकेट टोलीसँग खेलेको नेपालका लागि वेस्ट इन्डिजविरूद्धको खेलमा जित्ने भन्दा पनि सिक्नका लागि महत्वपूर्ण ठानिएको छ।
वेस्ट इन्डिजविरूद्ध सिरिज खेलेर तयारी गर्दा नेपालले दुई सातापछि ओमानमा हुने विश्वकप छनोटअघि आत्मविश्वास बटुल्नेछ।
त्यसो त नेपालविरूद्धको सिरिजका लागि वेस्ट इन्डिजले पाँच जना खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएको छ। अनुभवी खेलाडीलाई आराम दिएको वेस्ट इन्डिजविरूद्ध नेपालका लागि आफ्नो क्षमता देखाउने अवसर पनि हुनेछ।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।
सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
सिरिजको तालिका
पहिलो टी-२० आई : असोज ११, शारजाह
दोस्रो टी-२० आई: असोज १३, शारजाह
तेस्रो टी-२० आई: असोज १४, शारजाह
नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।
वेस्ट इन्डिज टोली: अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा,रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।