मट्टो एक मजदुर हुन्। उनको सहारा हुन्छ एउटा पुरानो साइकल। त्यसलाई गाडीले किचिदिन्छ। उनकै खुट्टा रोकिन्छन्। जीवनको पांग्रा गुडाउन मुश्किल हुन्छ। किस्तामा नयाँ साइकल किन्छन्।
एकदिन साँझतिर नयाँ साइकल चलाएर उनी कामबाट फर्किँदै हुन्छन्। बाटामा केही मान्छेको समूहले उनलाई लछारपछार पार्छन्। उनको सर्वस्व साइकल लुट्छन्।
मट्टो बाटोमा रूँदै कराउँछन्- कसैले मेरो साइकल फकाईदेऊ!
गुहार माग्दै हिँडेका उनी बाटोमा चौकीदारी गरेर बसिरहेका प्रहरीसँग ठोक्किन्छन्। जति विनय गर्दा पनि ती प्रहरी उनको साइकल खोजिदिन जाँदैनन्।
'तेरो साइकल खोज्न गए यहाँ को काम गर्छ' भन्दै थर्काउँछन्।
उनी रूँदै कराउँदै गाउँका प्रधानको घर पुग्छन्। प्रधानलाई उनले भोट दिएर जिताएका हुन्। घरमा प्रधानकी श्रीमती मात्र हुन्छिन्। प्रधान आएपछि मात्र घर आउनू भन्दै ढोका बन्द गरिदिन्छिन्।
केही सीप नलागेपछि मट्टो रूँदै आफ्नो झुपडीमा फर्किन्छन्। रात आँसुसँगै बित्छ।
भोलिपल्ट साइकल चोरीको उजुरी लेख्न दुई साथीसँगै उनी पुलिस चौकी पुग्छन्। ठूला व्यक्तिसँग कुरा गर्दै गरेका प्रहरी उनीहरूका चप्पल र मैला लुगा हेर्छन्। उनीहरूसँग बोल्नै खोज्दैनन्।
मट्टो भन्छन्, 'साहेब, मेरो साइकल लुटियो, खोजिदिनु न!'
प्रहरी भन्छन्, 'फुर्सद छैन!'
किस्तामा किनेको साइकल हो। कमाउन मुश्किल भएपछि मट्टोले कसरी तिर्छन् अब पैसा? यो चिन्ता प्रहरीको होइन!
सबैतिरबाट निराश भए पनि मट्टोलाई अलिकति आश प्रधानसँगै थियो। उनले साइकल खोजिदिन मद्दत गर्छन् भन्ने विश्वास बोकेर उनी फेरि भेट्न पुग्छन्। प्रधान गाउँलेहरूको भिडले घेरिएका हुन्छन्। लाखौं रूपैयाँमा किनेको गाडी पूजा गर्दै गरेका प्रधानले मट्टोलाई मदत गर्न मान्दैनन्। अझ उनका आसेपासेले मट्टोलाई गाली गर्दै लछारपछार पार्छन्।
मट्टोले प्रधानबाट राखेको आशा र भरोशा टुट्छ। आफूलाई गाह्रो पर्दा सहयोग गर्लान् भन्ठानेको मान्छेले बेवास्ता गर्दा उनको मन पनि फाट्छ। उनी निरीह र असहाय हुन्छन्।
यो कथा हो 'मट्टो कि साइकिल' को।
हालै सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा यो फिल्म देखाइएको थियो। गरिब मजदुर र साइकलसँगको उसको जीवन भोगाइ यसको मूल कथा हो।
भारतीय फिल्म भए पनि मट्टोको जीवन र संघर्ष नेपाली गरिब मजदुरको दैनिकीभन्दा धेरै फरक छैन।
पछिल्लो समय काठमाडौंमा ठेलागाडा चलाएर जीवन धानिरहेका मजदुरलाई सम्झिऊँ न! यसरी काम गरी खाने हरेकको आफ्नै दुःख र संघर्ष छ। ठेला उनीहरूको जीवन धान्ने गाडी हो। तर धमाधम खोसिँदै छ। उनीहरू रूँदै कराउँदै गुहार माग्दै छन्। मट्टोको जस्तै उनीहरूको रोदन कसैको हृदयसम्म पुग्दैन।
ठेला-साइकल गुडाउँदै 'तरकारी आयो' भन्ने मट्टोजस्ता गरिबहरू घामपानी नभनी दौडिरहन्छन्। यो गल्ली नभए त्यो टोल, त्यहाँ नभए बजारमा, कहीँ न कहीँ उनीहरूसँग हामी ठोक्किरहेका हुन्छौं। तर हामी कहिल्यै उनीहरूको जीवनमा चासो राख्दैनौं।
कसरी बाँचिरहेका छन्? उनीहरूको सहारा साइकल-ठेला कति पटक बिग्रियो होला? घामपानीमा कति हैरानी बेहोरे होला? त्यही दुई-चार चक्का गुडाएको भरमा परिवारको भोको पेट भरिरहन कति कठिन होला?
फिल्म 'मट्टो कि साइकिल' ले यिनै प्रश्नहरू सोधेको छ।
एम गनीले निर्देशन गरेको यो फिल्मका मुख्य पात्र मट्टोको भूमिका निर्वाह गरेका छन् प्रकाश झाले। झा आफैं पनि चर्चित निर्देशक तथा निर्माता हुन्।
किम्फमा यो फिल्म हेरिसकेपछि झा भक्कानिए। आफूले निर्वाह गरेको यो भूमिका उनले कतिपटक बाँचिसके, हेरिसके। त्यही पनि आँशु थाम्न सकेनन्।
आँखा पुछ्दै उनी मञ्चमा आए र भने, 'त्यो अभिनय गर्ने म होइन।'
यति भनिसकेर उनी मुसुक्क हाँसे।
झाको हातमा फिल्मको कथा पुग्दा उनले आफैं अभिनय गर्नुपर्छ भनेर सोचेका थिएनन्।
'मैले कथा राम्रो छ भनेपछि निर्देशकले मलाई नै पात्र बनाउने भने। एकछिन त म अक्कबक्क भएँ,' उनले भने।
यो भूमिका निर्वाह गर्न झालाई सजिलो थिएन। उनले मैला कपडाहरू लगाएर हिँडे। गाउँतिर एक्लै डुले। मजदुरहरूसँग भेटघाट गरे। उनीहरूसँग बसे। कुरा गरे। उनीहरूका दुःख बुझ्न खोजे। घुलमिल भए।
यसरी उनले आफूलाई मजदुर मट्टो बनाए।
फिल्म छायांकन गर्दागर्दै साइकलसँग पनि उनको लगाव भएको थियो।
भने, 'साइकलसँग एउटा मजदुरको जीवन गाँसिएको हुन्छ। संघर्षको सारथि बनेको हुन्छ। त्यो साइकल नहुँदा सबै खल्लो हुन्छ। मलाई त्यस्तै खाली भयो। सन्तानजस्तै माया लाग्ने रहेछ।'
उनले प्रश्न पनि गरे, 'हामी कहिल्यै रिक्सावालालाई तिम्रो परिवारलाई कस्तो छ भनेर सोध्छौं? उनीहरूका पनि सपना होलान् भन्ने सोच्छौं?'
'हामी उनीहरूको केही दुःख बुझ्न सक्दैनौं। कम्तीमा मायाले मुस्कुराउँदै कुरा गर्न त सक्छौं। उनीहरूलाई सुन्न सक्छौं, अनि वेदना बुझ्न सक्छौं,' भावुक हुँदै मधुर स्वरमा बोलिरहेका थिए झा। लाग्थ्यो, अभिनेता होइन, मजदुर मट्टो आफ्नो वेदना पोख्दै छन्।
निर्देशकका रूपमा पनि उनको बुझाइ छ- राम्रो फिल्म बनाउन समाज बुझ्नुपर्छ। पात्र चित्रण गर्ने व्यक्तिलाई सम्मान भाव राखेर बुझ्नुपर्छ। फिल्म बनाउने र पात्र दुवैले कथा किन भन्न खोजिएको भन्ने बुझ्नुपर्छ।
झाको यो भनाइमा फिल्मका निर्देशक एम गनी सहमत छन् भन्ने पक्का हुन्छ। किनकी यो कथा उनले बुझेका छन्। मजदुरको जीवनको आधार साइकल बनाउनुमा उनको आफ्नो भावना जोडिएको छ।
सानो छँदा गनीको सपना थियो साइकल चढ्ने। उनका बुबा पनि नयाँ साइकल किन्न चाहन्थे। तर पैसा थिएन। बाबुछोराकै साइकल रहर रहरै मात्र भयो।
'आम मान्छे सबैजसो साइकलसँग जोडिएका हुन्छन्। म पनि जोडिएको छु,' गनीले भने, 'पैसा नभएर एउटा साइकल सपना पूरा गर्न नसकेको त्यो अनुभव अझै ताजा लाग्छ। त्यसैले पनि मट्टोको कथा साइकलसँग जोडेको हुँ।'
फिल्मको पात्र मट्टोलाई भने आफ्ना दुःख सम्झिने सुविधा छैन। दुःख भुलेर सपना देख्नुछ उनलाई। तर उनको सपना सधैं सपनै मात्र हुन्छ।
नयाँ साइकल चढ्दै साथीसँग कामबाट फर्किन्छन् उनी। छोरीको बिहे हुन्छ। उनी दंग हुन्छन्।
यो सबै उनले आँखा बन्द गर्दा देखेको सपना मात्र हो।
एक गरिबको समस्यामा कसैलाई चासो हुँदैन। उनीहरूबाट फाइदा हुने बेला वरिपरि घेरिने ठूलाबडा र नेताहरू अरू बेला उनीहरूलाई देख्न पनि चाहँदैनन्। फिल्मले यही कुरा देखाउन खोजेको छ।
फिल्ममा मट्टोलाई ठेकेदारले काम गरेको पूरा पैसा दिँदैनन्। उनी विद्रोह गर्न भने सक्दैनन्।
एक गरिब मजदुरले आफ्नो अधिकारका लागि पनि बोल्न किन सक्दैन?
निर्देशक गनी भन्छन्, 'मट्टोको समस्यालाई लिएर त्यहाँ आन्दोलन भएको भए, उसका लागि बोल्ने मान्छेहरू भइदिएको भए उसमा हिम्मत आउँथ्यो। त्यो हिम्मत भएको भए सायद उनीहरू सबैले आफ्नो कामवापत् पैसा पाउँथे। तर हिम्मत र साथ दिने कोही नभएपछि विद्रोह डराउँछ।'
फिल्मको अन्त्य पनि मट्टोको साहस र विद्रोहबिनै हुन्छ।
एक निरीह मजदुरको कथाको अन्त्य दुखी नै हुनपर्ने हो र?
यो प्रश्नमा निर्देशक गनीले मुस्कुराउँदै भने, 'मजदुरका आशाहरू भनेको बन्दाबन्दै टुट्छन्। उनीहरूको जीन्दगी त्यही हो। सपनाहरू सपना मात्रै रहन्छन्। जीवन यसरी नै चल्छ।'