दुःख नपाउन पनि केही दुःख गर्नुपर्छ प्रिय,
छाता लिएर जाऊ, बाटोमा पानी आउन सक्छ।
खुसीको कमी होला, एउटा तस्बिर लिएर जाऊ
मेरो रोएको तस्बिरले पनि तिमीलाई हँसाउन सक्छ...।
यो गजल गोरखाका प्रदीप रोदनको भर्खरै सार्वजनिक गजल संग्रह 'मफलर' बाट साभार हो। २०७० सालदेखि गजल लेख्न थालेका प्रदीपले यस संग्रहमा आफ्ना १०८ वटा गजल समावेश गरेका छन्।
एक दशकभन्दा लामो समयदेखि गजलकारका रूपमा लेखिरहेका प्रदीप मनमा लागेका कुरालाई लेखेर मात्र गजल नहुने बताउँछन्। गजलका विभिन्न तत्वभित्र भावलाई समेटेर लेखिनुपर्ने हुनाले लेख्न धेरै साधना चाहिने उनको भनाइ छ।
'लेखनका सबै कुरा जटिल हुन्छन्,' गजलकार प्रदीपले भने, 'यद्यपि मनका भावनालाई रदिफ-काफियाजस्ता तत्वमा राखेर गजल लेखिनुपर्दा म गजल लेखनलाई कठिनाइका रूपमा हेर्छु।'
वाहवाह र ताली पाउँदैमा गजल राम्रो नहुने पनि उनी बताउँछन्। राम्रो गजलले मानिसभित्रको उत्साह देखाउनुका साथै सरल शब्दमा सरल तरिकाबाट गहन भाव दिनसक्ने उनले बताए।
प्रदीपले २०७२ सालमा गोरखाको एउटा कार्यक्रममा आफ्नो गजल वाचन गर्ने मौका पाएका थिए। सो कार्यक्रमले उनलाई उनको नयाँ परिचय दिनुका साथै अरू साथीको गजल सुन्ने मोका दियो। कार्यक्रममा सुन्न पाएका गजलका शब्दले आफूलाई शब्दको शक्ति बुझाएको उनी सम्झिन्छन्।
'अन्य साथीका गजलका शब्दको शक्तिले म तानिएँ,' उनले भने, 'शब्दमा शक्ति हुन्छ भनेर मैले त्यही दिन थाहा पाएँ र अझ सूत्र अपनाएर लेख्न थालेँ।'
प्रदीप खासमा आफ्नै लागि गजल लेख्छन्। आफ्नो हृदयका लागि र समयलाई सिर्जनात्मक ढंगबाट व्यतीत गर्नुपर्छ भन्न पनि उनी लेख्छन्।
'मलाई लगेर गाडी दिनुहोस्,
मलाई लगेर गाडी दिनुहोस्,
जिम्मा माटोलाई दिनुहोस्,
यो उनी बसेको छाती हो
आगो नलगाई दिनुहोस्,
मैले हजुरकै खुसीको निम्ति मर्ने निर्णय गरेँ,
मैले हजुरकै खुसीको निम्ति मर्ने निर्णय गरेँ,
अन्तिममा एकपटक त मुस्कुराई दिनुहोस्
अन्तिममा एकपटक त मुस्कुराई दिनुहोस्...।
प्रदीपलाई गजलकारका रूपमा चिनाउने गजलमध्ये एक हो यो।
'गाउँठाउँमा भएका, सम्बन्धभित्रका वास्तविकता, प्रेमका पीडाहरूमध्ये कुनै चिजले छोएपछि गजल फुर्छ,' उनले भने, 'तर खासमा आफ्ना लागि, अरूलाई सम्झाउन र खबरदारीका लागि कर्तव्यबोध भएर गजल लेख्छु।'
हृदयको व्यवहार लेख्न सक्ने लेखकलाई सम्मान गर्ने गजलकार प्रदीप आफू पनि हृदयको दुःख र व्यवहारको आसपास लेख्न मन पराउँछन्।
गजलयात्रामा जोडिन चाहनेले लेखनका सूत्र बुझ्न जरूरी रहेको उनले बताए।
'गजल लेखनका सूत्र बुझेर, भावलाई आफ्नो हृदयमा भिजाएर मात्र कलमको मसीले भिजाउनुपर्छ,' उनले भने, 'गजल लेख्न चाहनेलाई सम्बोधन गर्दै उनले भने, 'निरन्तर साधना र सोच भएन भने गजल लेख्दा दुःख पाइन्छ, समय लाग्छ।'