हरेक गाईजात्रामा फरक व्यक्तिको नक्कल गरी दर्शकलाई हँसाउन सफल हाँस्य कलाकार मनोज गजुरेल यस पटक नयाँ अवतारमा देखिने भएका छन्।
समाजमा चर्चित व्यक्तिहरूको नक्कल गर्न रूचाउने हाँस्य कलाकार गजुरेल यसपालि अर्थमन्त्री जनार्दन शर्मा, श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र साउदी अरबका शेख बन्दैछन्।
कुनै पनि व्यक्तिको ‘क्यारिकेचर’ गर्न बोली, हाउभाउ र विषयवस्तु मिल्न जरूरी हुने उनी बताउँछन्।
‘सकेसम्म बोली, हाउभाउ मिल्यो भने वाउ कस्तो राम्रो मिलेको क्यारिकेचर हुन्छ,’ उनले भने, ‘मिलेन भने क्या हँसायो बुढोले हुने हो।’
वि.सं. २०४५ सालदेखि हाँस्यव्यंग्य गर्दै आएना उनले पुष्पकमल दाहाल प्रचण्ड, गोकुल बाँस्कोटा, नरेन्द्र मोदी, भ्लादिमिर पुटिन, डोनल्ड ट्रम्पजस्ता राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यक्तिहरूको क्यारिकेचर गरिसकेका छन्।
उनी वर्षमा चर्चामा रहेका, समाजमा घटेका घटनालाई आधार बनाएर पात्र चयन गर्छन्। सुहाउँदो पात्र देखिन भने मेकअप आर्टिस्टको सहयोग लिने उनले बताए।
‘फोटो-भिडोओ हेर्छु, अभिव्यक्तिको शैली हेर्छु अनि घरमै बसेर निजी मेकअपले पात्रमा आफूलाई ढाल्ने प्रयास गर्छु,’ उनले भने, ‘४० प्रतिशत पात्रमा जस्तो देखिए बाँकी मेकअप आर्टिस्टको सहयोग लिन्छु।’
क्यारिकेचर गर्दा सुन्दर प्रस्तुति दिन पूर्व अभ्यास गर्ने गरेको र मेहनत नगरी कठिन हुने पनि उनले बताए।
तर कहिलेकाहीँ प्रयास गर्दा-गर्दै पनि पात्रसँग हाउभाउ नमिल्दा चित्त दुखाइ नहुने उनले बताए।
‘प्रयास गरेर पनि पात्रको क्यारिकेचर गर्न नसके मेरो मेहनत पुगेको रहेनछ भनेर आफूमाथि हाँस्ने हो,’ उनले भने, ‘थुक्क मोरा अलि अभ्यास गरेर आउनु पर्दैन भन्छु।’
को पात्र बन्ने र के बोल्ने आफूले चयन गरे पनि गुणस्तरीय कन्टेन्ट बनाउन आफ्नो टिमले मद्दत गर्ने उनले बताए।
कसरी गर्छन् मनोज गजुरेलले थरीथरी पात्रका क्यारिकेचरको तयारी हेर्नुस् भिडिओमा: