नेपालमा र्याप संगीत सुरू गर्ने र्यापर गिरिश खतिवडाले बाइस वर्ष हुँदा ‘मलाई भोट देऊ’ र्याप गीत रेकर्ड गरे।
‘यो दिन्छु, ऊ दिन्छु
तिमीलाई त्यो दिनु
काम दिन्छु, माम दिनु
चाहेको दाम दिन्छु
मलाई भोट देऊ, मलाई भोट देऊ’
उनको यस र्यापको भर्सनमा देशका नेतालाई व्यंग्य गरेको पाइन्छ।
उनले यो र्यापमा आफूले भावनालाई कलात्मक रूपमा व्यक्त गरेको सुनाए।
र्यापको सिर्जनाबारे उनले भने, ‘त्यो र्याप हानेर भविष्यमा म मेयरमा उठ्छु, चुनावमा भाग लिन्छु, नेता बन्छु भन्ने थिएन। कलाकार भएर आफ्नो भावना कलात्मक रूपमा व्यक्त गरेको मात्र हुँ।’
उक्त र्यापले राजनीतिज्ञहरूलाई घोचपेच गरे पनि आफूलाई भने राजनीतिमा रूचि नभएको गिरिश बताउँछन्।
‘म राजनीति बुझ्दिनँ तर भोट हाल्ने बेला सोच विचार गरेर भोट हाल्नुपर्छ।’
उनले ‘मलाई भोट देऊ’ जस्तै ‘भोट फर गगन थापा’ नामको र्याप रेकर्ड गरेका थिए।
राजनीतिक परिस्थिति हेरी र्याप गीतहरू बनाए पनि आफू कुनै पार्टीसँग मिलेर कुनै गीत नबनाएको उनी बताउँछन्।
‘नेपालको राजनीतिमा बाहिर एउटा, भित्र अर्को कुरा भइरहेको लाग्छ। सबैले गफमात्र गर्छन्, कसैले बुझेका छैनन्। त्यसैले मलाई राजनीतिमा चासो छैन,’ उनले भने, ‘युवा जोसका कारण मात्र बेला-बेला र्यापमार्फत् भावना पोखेको हुँ।’
यद्यपि अहिले राजनीतिलाई मात्र गाली गर्ने परिपाटी रहेको उल्लेख गर्दै गिरिशले जनता पनि सचेत र जिम्मेवार हुनुपर्ने बताए।
‘हामी शिक्षित अभिभावक एकातिर नेतालाई गाली गर्दै, अर्कोतिर नियम तोड्दै हिँड्छौं। जसले गर्दा छोराछोरीको अगाडि नराम्रो ‘रोल मोडल’ भइरहेका छौं,’ उनले आफ्नो र्यापलाई अर्थ्याउँदै भने, ‘हामीलाई कस्तो नेता चाहिएको छ भन्ने सोचेर नेतृत्व रोज्नुपर्छ।’
राजनीतिमा रूची नभएको बताउने गिरिश बेलाबेला भने राजनीति विषय जोडेर र्याप निकाल्ने गर्छन्।
आफ्नो र्याप जीवनमा उनले धेरै र्याप राजनीतिलाई व्यग्यं गरेर गाएका छन्।
हेर्नुस्, त्यही र्यापमध्ये ‘मलाई भोट देऊ’ भन्ने गीतबारे सेतोपाटीले गिरिशसँग कुराकानी गरेर तयार पारेको यो भिडिओः