१२खरी बुक्सले 'बाह्रखरी कथा प्रतियोगिता–२०७८' घोषणा गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता घोषणा गरिएको हो।
यो कथा प्रतियोगिताको तेस्रो संस्करण हो। अघिल्ला दुई वर्षजस्तै प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमश: एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिनेछ। आन्तरिक निर्णायक मण्डलले छनोट गरेका ५० कथामध्ये २५ भित्र नपरेका बाँकी कथालाई बाह्रखरी डट कममा प्रकाशित गरिनेछ र कथाकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिनेछ।
योपटकको कथा प्रतियोगिताका मुख्य निर्णायकमा आख्यानकार तथा साहित्यकार नारायण ढकाल छन्। त्यस्तै, कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा निर्णायक समूहको सदस्य छन्।
पत्रकार सम्मेलनमा मुख्य निर्णायक ढकालले विश्व मानचित्रमा नेपाली कथाको नक्सा नभएको भन्दै बाह्रखरी कथा प्रतियोगिताले विश्व मानचित्रमा नेपाली कथाको नक्सा कोर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। देशभरका नयाँ–पुराना सबैलाई प्रतियोगितामा भाग लिन उनको आग्रह छ। विगतका प्रतियोगितामा कायम गरेको उचाइ र निष्पक्षतालाई आफू नेतृत्वको निर्णायकमण्डलले निरन्तरता दिने विश्वास पनि उनले दिलाए।
निर्णायक लामाले प्रतियोगिता निष्पक्ष बनाउनु आफैँमा चुनौती भए पनि यसको गरिमा जोगाउन आफूले भूमिका खेल्ने बताइन्। बाह्रखरी कथा प्रतियोगिताका अघिल्ला संस्करणबाट आएका कथाकारहरुको नेपाली साहित्यमा राम्रो चर्चा र उपस्थिति रहेको भन्दै यसले नेपाली कथा साहित्यको क्षेत्रमा ठूलो योगदान गरेको उनले बताइन्।
'नयाँ कथाकारहरुका लागि यो ठूलो प्लेटफर्म हो। त्यसैले यो उपयुक्त प्लेटफर्मलाई उपयोग गर्नु हुने छ भन्ने हाम्रो अपेक्षा छ,' उनले भनिन्, 'यो प्लेटफर्मबाट आएका साथीहरुले अहिले राम्रो उपस्थिति जनाइरहनु भएको छ। यस संस्करणमार्फत त्यो गरिमा जोगाइरहन हामी प्रयास गर्ने छौं।'
यस्तै, निर्णायक पोखरेलले कथा प्रतियोगिता खासै नहुने गरेको भन्दै बाह्रखरीले यसलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए। उनले नेपाली कथा साहित्यलाई माथि उठाउन पनि देश तथा विदेशमा रहेका सबै कथाकारलाई प्रतियोगितामा कथा पठाउन आग्रह गरे।
बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले कोरोना संक्रमणको कठिन अवस्थामा पनि बाह्रखरी मिडियाले प्रतियोगितालाई निरन्तरता दिएको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए।
कुनै प्रतियोगिता सुरु गर्नु मात्रै ठूलो कुरा होइन। त्यसले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने मुख्य कुरा हो,' उनले भने, 'कोरोना संक्रमणको समयमा पनि यो चुनौती पूरा गर्दै निरन्तरता दिएका छौं। त्यसैले अब बाह्रखरी कथा प्रतियोगिताले निरन्तरता पाउँछ भन्नेमा हामी ढुक्क छौं।'
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७८ भदौ ३१ गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगाना [email protected] वा [email protected] मध्ये कुनै एकमा पठाउनुपर्नेछ।
कथा प्रतियोगिताको नतिजा २०७८ मंसीर ३ गते शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिनेछ। सोही दिन ‘उत्कृष्ट कथा–२०७८’ को लोकार्पणसमेत हुनेछ। आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन्।
प्रतियोगितामा सहभागिता जनाउन यस्ता नियम छन्:
– कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ।
– अघिल्लो वर्षको प्रतियोगिताका लागि प्राप्त कथा दोहोर्याएर पठाउन पाइने छैन।
– कथा अप्रकाशित र अप्रसारित हुनु पर्नेछ। प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ।
– ‘बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ।
– कथा कम्तीमा १५ सय शब्द र बढीमा चार हजार शब्दसम्मको हुनुपर्नेछ।
– भदौ ३१ पछि प्राप्त कथालाई प्रतियोगितामा समावेश गरिने छैन।
– प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ।
– कथा पठाउनका लागिः
ईमेल: [email protected]
[email protected]
सम्पर्कः ०१-४१०१६५१, ०१-४१०१६५६, ९८०१८४९६२६