वसन्तपुरको कुमारी घरमा मंगलबार दुइटा फरक माहोल थियो — एउटा विदाइको, अर्को स्वागतको।
एकातिर २०७४ सालमा काठमाडौंकी 'जीवित देवी' कुमारीका रूपमा स्थापित तृष्णा शाक्यलाई आठ वर्षपछि विदाइ गरिँदै थियो। अर्कातिर, उनलाई प्रतिस्थापन गर्ने नयाँ कुमारी आर्यतारा शाक्यको धुमधामका साथ स्वागत हुँदै थियो।
खटमा राखेर बाजागाजासहित तृष्णाको विदाइ गरिँदा आठ वर्ष उनलाई स्याहारेका कुमारी घरका संरक्षक (चिताइदार) सदस्यहरू दु:खी देखिन्थे।
उनीहरूको दु:खमा मह्लम लगाए, नवघोषित कुमारी आर्यतारा शाक्यको आगमनले।
करिब तीन वर्षकी आर्यतारालाई उनका बुबा अनन्त शाक्यले काँधमा बोकेर मंगलबार दिउँसो कुमारी घर भित्र्याएका थिए।
उनलाई मंगलबार मध्याह्नको शुभ साइतमा कुमारी घरमा आसन ग्रहण गराइएको छ। त्यसपछि विशेष बाजागाजासहित तलेजु भवानीको दर्शनका लागि लगिएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।
आर्यताराको जन्म २०७९ पुस २६ गते भएको हो। आमाको नाम प्रतिष्ठा शाक्य हो। आर्यताराकी १० महिनाकी बहिनी पनि छन् — परमिता शाक्य।
आर्यतारालाई छ महिनाअघि मात्र प्लेग्रुप भर्ना गरिएको थियो। अब उनको औपचारिक शिक्षा कुमारी घरमै हुनेछ।
यो स्टोरीमा हामी कुमारी छनौट विधिदेखि कुमारीको दैनिकी र यो परम्पराको इतिहासबारे चर्चा गर्दै छौं।
२०७४ सालमा कुमारीका रूपमा स्थापित तृष्णा शाक्यलाई आठ वर्षपछि मंगलबार कुमारी घरबाट विदाइ गरिँदै थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कसरी गरिन्छ कुमारी छनौट?
काठमाडौंका १८ महाविहारमध्ये शाक्य कूलको निर्धारित लक्षणयुक्त कन्यालाई विधिपूर्वक कुमारी बनाइन्छ।
सामान्यतया कुमारीका रूपमा छनौट भएर कुमारी घर प्रवेश गर्दा कन्याको उमेर अढाई–तीन वर्षभन्दा बढी हुँदैन। त्यस्ती कन्या लगभग १२ वर्ष नहुँदासम्म कुमारीकै रूपमा रहने परम्परा छ।
यो उमेरलाई महिनावारीको अन्तिम चरण मान्दै कुमारी परिवर्तन गर्ने चलन बसालिएको हो।
कुमारी परिवर्तनको समय भएपछि झन्डै दुई–तीन महिनाअघि काठमाडौंका १८ महाविहारमा खबर गरिन्छ। यो काम गोप्य हुन्छ।
सूचना प्राप्त भएपछि प्रत्येक विहारले आ–आफ्नो तर्फबाट कुमारी छनौट प्रक्रिया सुरू गर्छ। आफ्नी छोरीलाई कुमारी राख्न इच्छुक वा छोरी कुमारी हुन उपयुक्त देखेका आमाबाबुले विहारसमक्ष इच्छा जाहेर गर्छन्।
सबै विहारबाट मनोनीत भएर आएपछि तिनको चिना राजज्योतिषलाई देखाइन्छ। उनले चिना हेरेर ३२ लक्षणयुक्त बालिका छनौट गर्छन्। तलेजु भवानीका पुजारी अर्थात् बडागुरूले पनि कुनै घाउचोट नलागेका र ३२ लक्षणयुक्त बालिका छनौट गर्न सघाउँछन्।
सामान्यतया कुमारी हुन कपाल लामो र कालो हुनुपर्छ। अनुहार गहुँगोरो, तेजिलो, दाँत पूरा भएको, निडर, शरीरमा दाग नभएको, हेर्दा चिटिक्क परेको, नाक सलक्क परेको, आँखा तेजिलाजस्ता विशेषता हुनुपर्छ। यी लक्षण चिनामा भेटिएपछि बल्ल राजज्योतिषले स्वीकृति दिन्छन्।
यसपालि अन्तिम चरणमा तीन जनामध्येबाट आर्यतारालाई कुमारी छनौट गरिएको उनका बुबा अनन्तले बताए।
नयाँ कुमारी आर्यतारा शाक्यलाई बोकेर कुमारी घर भित्र्याउँदै उनका बुबा अनन्त शाक्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
यस्तो हुन्छ कुमारीको दैनिकी
कुमारीको हरेक दिन उनको आफ्नो नित्य पूजाबाट सुरू हुन्छ।
नित्य पूजा निम्ति कुमारीलाई नुवाइधुवाइ गराइन्छ। कोरीबाटी गरेर वस्त्र पहिराइन्छ। र, शृंगार गरिन्छ। यी सबै काम चिताइदार परिवारका छोरी–बुहारीले गर्छन्।
कुमारी संस्कृतिविद् दुर्गा शाक्यको 'हाम्रो संस्कृतिमा देवी तुलजा र कुमारीको स्थान' किताबमा उल्लेख भएअनुसार कुमारीको शृंगार आध्यात्मिक भावनाले परिपूर्ण हुन्छ। त्रिनिनयन र त्रिकोणात्मक रातो टीका लगाउने परम्परा छ। पूजाको निम्ति त्रिकोण मुद्राको आसनमा बसालिन्छ।
'वज्रयान परम्परामा रातो वर्णसहितको त्रिकोण मुद्रामा अलौकिक शक्ति रहेको वर्णन छ,' दुर्गा शाक्यले आफ्नो किताबमा लेखेकी छन्।
कुमारीले रथयात्रा तथा अन्य अवसरमा पहिरिने आभूषण पनि विशिष्ट हुन्छन्। यसमा रातो र सक्कली तासको चौबन्दी चौलो र जामा, शिरमा जालीदार रातो धागो, मौलिक र कलात्मक तायो, त्रिकोण आकारको साधारण र नवरत्नजडित मुकुट, तुलसी पत्ता लच्किएको सिंगुली माला (नरमुण्ड मला) प्रमुख छन्। जन्त्रका माला, घुंघुरू, बाला, चुरा, जभि, नागमाला र बेरूवा औंठी पनि लगाइन्छ।
शृंगार र बिहानको नित्य पूजापछि भोजनको समय हुन्छ।
कुमारीको भोजनमा विशेष शुद्धता अपनाउनुपर्छ। उनलाई चिताइदारबाहेक अरूले पकाएको खुवाइँदैन। कहीँकतै लसपस नहोस् भनेर ख्याल राख्नुपर्छ।
कुमारीको निम्ति भोजन तयार गर्न छुट्टै भोजन गृहको व्यवस्था छ। त्यो कोठा सफासुग्घर गरेर चोखो बनाइएको हुन्छ। त्यहाँ चिताइदार परिवारबाहेक अरू छिर्न पाउँदैनन्। पकाउने पनि चिताइदारहरूले नै हुन्।
भोजनमा साकाहारी र मासांहारी सबैखाले परिकार हुन्छन्। कुखुराको मासु र अन्डा भने चल्दैन।
कुमारीलाई इन्द्रजात्रा, पूजाआजा वा विशेष समारोहमा चाँदीको थालमा खुवाइन्छ। अरू बेला पित्तलको थाल प्रयोग हुन्छ।
भोजनपछि पालो आउँछ, पढाइलेखाइको।
दिनहुँ १२ देखि ४ बजेको समय पढाइका लागि छुट्याइएको हुन्छ। यस अवधिमा कौशी तोषखाना र गुठी संस्थानद्वारा नियुक्त सरकारी शिक्षक आएर कुमारीलाई पढाउने गर्छन्।
२०३५ सालसम्म 'प्राइभेट' कक्षा सञ्चालन गरिन्थ्यो। त्यसयता सरकारी पाठ्यक्रमअनुसारै पढाइँदै आएको छ। स्कुलमा जसरी औपचारिक शिक्षा दिइन्छ, यहाँ पनि त्यही लागू हुन्छ।
कुमारीलाई पढाउन दिनहुँ एक जना शिक्षक आउने गर्छन्। विषयअनुसार शिक्षक फरक पर्छ।
कक्षा सकिएपछिको समय 'फ्री टाइम' हो। त्यस बेला कुमारी अरू सामान्य केटाकेटीजस्तै क्यारम बोर्ड, ब्याडमिन्टन लगायत खेल्ने गर्छिन्। कुमारीसँग खेल्न चिताइदारका केटाकेटी वा बाहिरका अरू केटाकेटी आउँछन्। लेखपढ पनि यही बेला हुन्छ। चिताइदारका केटाकेटी र कुमारी सँगसँगै 'होमवर्क' गर्छन्।
त्यसपछि केही बेर भक्तजनलाई दर्शन दिएर बेलुकी ८ बजेतिर खाना खुवाइन्छ। सामान्यतया ९ देखि साढे ९ बजे सुत्ने समय हुन्छ।
नित्यपूजाका अतिरिक्त येँया पुन्ही (इन्द्रजात्रा), घोडेजात्रा, सेतो मच्छिन्द्रनाथ जात्रा लगायत गरी वर्षको १३ पटक कुमारी घरबाट कुमारीको रथायात्रा निकालिन्छ। अन्य नेवारी चाडपर्वमा पनि उनको रथयात्रा हुन्छ।
-1759219126.jpeg)
के हो कुमारी परम्पराको इतिहास?
कुमारी परम्परा लिच्छवि कालदेखि चलिआएको भए पनि कुमारी घर निर्माण र रथयात्राको थालनी करिब २७० वर्षअघि अन्तिम मल्लराजा जयप्रकाश मल्लको पालाबाट सुरू भएको हो।
कुमारी संस्कृतिविद् दुर्गा शाक्यको किताबमा उल्लेख भएअनुसार अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी स्थापना गर्ने परम्परा बसेको हो।
मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनेछन्, 'कुमारी स्थापना नभएसम्म म बुंगमती प्रवेश गर्दिनँ।'
त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुंगमतीमा कुमारीका रूपमा स्थापना गरेको किम्बदन्ती छ।
बुंगमतीमा आजभन्दा १४४० वर्षअघि नै कुमारी परम्परा बसेको दुर्गाको भनाइ छ।
त्यसैअनुसार लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाई पूजा गर्ने परम्परा बसाएको दुर्गाको किताबमा छ।
मल्लकालमा काठमाडौं, पाटन र भक्तपुर तीनै राज्यमा दरबारको राजकीय कुमारी र टोल–टोलमा स्थानीय कुमारी थापना गरी नित्य पूजा गर्ने परम्परा सुरू भएको पाइन्छ।
काठमाडौं उपत्यकामा तान्त्रिक पद्धतिअनुसार विधिवत थापना गरिने कुमारीमध्ये वसन्तपुरको 'राजकीय' कुमारी जीवित देवीका रूपमा विश्वप्रसिद्ध छ। यसअतिरिक्त नित्य पूजा हुने कुमारीमा मूबहाः कुमारी, क्वाबहाः, तानाबहाः, किलागः, चाबहिल, टोखा, हःबहाः, सोनिम्ह, एकान्त, वने लाय्कू, टिबुक्छेँ, बुंगमती र त्रिशूली कुमारी छन्।
वसन्तपुरको कुमारी घरमा स्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत मानिँदै आएको छ।
यससँग सम्बन्धित अर्को किम्बदन्ती पनि दुर्गाले उल्लेख गरेकी छन्।
विक्रम सम्बत् १३८१ मा सिमरावनगढका राजा हरिसिंहदेव तुलजा भवानीसहित नेपाल (हाल काठमाडौं उपत्यका) आएका थिए। त्यसै बेला हरिसिंहदेवकी रानी देवलदेवीले भादगाउँको दरबारमा तुलजा भवानी स्थापना गरेकी थिइन्। त्यसपछि मल्ल राजाहरूले तुलजा भवानीलाई इष्टदेवीका रूपमा मान्न थाले।
मल्ल राजाहरूसँग एक प्रकारको तान्त्रिक यन्त्र थियो। त्यसको शक्तिद्वारा उनीहरू तुलजा भवानीसँग प्रत्यक्ष वार्ता गर्थे। राजकाजसम्बन्धी सरसल्लाह लिन्थे। र, समय समयमा पासा पनि खेल्थे।
एकदिन राजा त्रैलोक्य मल्लकी छोरी गंगादेवीले तान्त्रिक यन्त्र खोलेर हेरिछन्। त्यो यन्त्र कुनै स्त्रीले हेर्न हुँदैनथ्यो।
त्यसपछि तुलजा भवानीले रिसाएर राजालाई भनिन्, 'अबदेखि तिमीहरूले मेरो प्रत्यक्ष दर्शन पाउने छैनौ। बरू म कुमारीका रूपमा आई तिमीहरूलाई आवश्यक सल्लाह दिनेछु।'
यति भनेर उनले आदेश दिइन्, 'शाक्य कूलकी कन्यालाई कुमारी बनाउनू।'
अनि, तुलजा भवानी अन्तर्ध्यान भइन्।
पछि कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाशलाई एक रात सपनामा कुमारीबाट आज्ञा भएछ, 'तिम्रो राज्यभोगको समय समाप्त हुन लाग्यो, आफ्नो राज्य अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र रथयात्रा चलाउनू। यति गरे तिम्रो राज्यभोग १२ वर्ष बढ्नेछ।'
जयप्रकाश मल्लले सपनामा पाएको त्यही आदेशअनुसार विसं १८१३ फागुनमा कुमारी घरको जग हालेको भनाइ छ। यसको निर्माण ६ महिनापछि १८१४ भदौमा पूरा भएको थियो।
उनले कुमारीसँग सम्बन्धित तीन महत्त्वपूर्ण परम्परा बसालेका थिए —
पहिलो, वसन्तपुर दरबारको 'गद्दी बैठक' सामुन्ने मल्लकालीन काष्ठकला, वास्तुकला र चित्रकलाले सुशोभित कुमारी घर निर्माण गराए।
दोस्रो, सुनको जलप लगाइएको तीनतले पगोडा शैलीको रथ निर्माण गरी प्रत्येक वर्ष कुमारी रथयात्रा चलाउन थाले। कुमारीसँगै गणेश र भैरव रथयात्रा पनि त्यही बेला सुरू भयो।
र, तेस्रो, कुमारीको दैनिक सेवा, स्याहार र पूजाअर्चनाका लागि चिताइदार नियुक्त गरे।
कुमारीको दैनिक पूजाआजादेखि सबै विधिव्यवहार चिताइदारबाटै सम्पन्न गरिन्छ। कुमारीको रेखदेख, स्याहार, खानपिन, पढाइलेखाइ लगायतको जिम्मा पनि चिताइदारकै हुन्छ। धर्मचक्र महाविहार, वटुबहालको शाक्य परिवारबाट पुस्तौंदेखि चिताइदार नियुक्त गरिँदै आएको छ। अहिले त्यही परिवारको सातौं पुस्ताले चिताइदारको जिम्मा सम्हालिरहेको छ।
यी सबैको प्रभावले जयप्रकाशको राज्यकाल १२ वर्ष थपियो भन्ने भनाइ छ।
'मल्लकालमा नयाँ सिक्का निकाल्दा कुमारीलाई चढाइसकेपछि मात्र चलनमा ल्याइन्थ्यो,' दुर्गा लेख्छिन्, 'कुमारीकै नाउँबाट देशमा आयव्ययको लेखापरीक्षण गर्ने कुमारी चोक अड्डा स्थापना भएको थियो।'
यो अड्डा 'महालेखापरीक्षक' का रूपमा प्रचलित छ।
'बालबालिकाको हृदय पवित्र हुन्छ। छल, कपट, राग, द्वेषको भावना हुँदैन। त्यसैले तुलजा भवानीले कुमारीको रूप धारण गरेकी हुन्। र, शाक्य कूलकी कन्यालाई कुमारी बनाएर तुलजा भवानीको प्रतीकका रूपमा पूजा गर्ने चलन चल्दै आएको हो,' दुर्गाको भनाइ छ।
नवघोषित कुमारी आर्यतारा शाक्य आफ्ना बुबा अनन्त र आमा प्रतिष्ठा शाक्यसँग। तस्बिर: नेपाल फोटो लाइब्रेरी
सधैं हाँसिरहने स्वभावकी आर्यतारा
हामीले इतुम्बहालका अनन्तसँग छोरी आर्यतारालाई कुमारीका रूपमा थापना गरिँदाको अनुभव र नयाँ कुमारीको स्वभावबारे कुराकानी गरेका छौं।
'मलाई आफ्नी छोरी कुमारीका रूपमा छनौट हुँदा एकदमै खुसी र गर्व लागेको छ,' बुबा अनन्तले मंगलबार हामीसँगको कुराकानीमा भने, 'घरबाट विदाइ गर्नुपरेकाले दुःख पनि छ। मनमा खुसी र दु:खको मिश्रित भावना खेलिरहेको छ भन्नुपर्यो।'
उनले अगाडि भने, 'बुबाको भावनालाई अलग राखेर सोच्ने हो भने आफ्नी छोरी कुमारीका रूपमा छनौट हुनु सौभाग्यको कुरा हो। जोकोहीले यो अवसर पाउँदैनन्, भाग्यमा लेखेर ल्याउनुपर्छ।'
उनका अनुसार आर्यतारा सधैं हाँसिरहने स्वभावकी छन्।
'उहाँ सानैदेखि एकदम हँसिलो स्वभावको हुनुहुन्थ्यो। प्राय: शान्त रहने बानी छ। आफूलाई चाहिएका कुरामा भने एकदमै जिद्दी गर्नुहुन्छ,' उनले भने, 'साथीहरूसँग खेल्न पाए खुब रमाउनु हुन्छ। जोसँग पनि रमाइलो गरिरहनुपर्ने स्वभाव छ।'
आमाबुबा नदेख्दा कत्तिको न्यास्रिन्छिन् त?
हाम्रो यो प्रश्नमा अनन्तले भने, 'रमाइलो गर्न पाए, साथीहरूसँग खेल्न पाए आमाबुबा आँखा वरिपरि नभए पनि फरक पर्दैन उहाँलाई। मज्जा मानेर खेलिरहनु हुन्छ।'
उनले अगाडि भने, 'कुमारी भएपछि नियममा बस्नुपर्छ, त्यो सम्झिँदा चाहिँ अलि अलि डर लागिरहेको छ। हाँसखेल गरिरहनुपर्ने स्वभावमा के परिवर्तन होला, त्यो चाहिँ अहिले नै ठ्याक्कै भन्न सक्दिनँ।'
एउटा कुरामा चाहिँ उनी ढुक्क छन् — कुमारी घरमा पनि आर्यताराको उस्तै हेरविचार हुनेछ। घरमा जसरी मायाप्रेमका साथ छोरी हुर्काइन्छ, कुमारी घरमा पनि उति नै मायाप्रेम पाउने छिन्।
'यहाँ त हामीले मात्र हो माया गर्ने, त्यहाँ गएपछि त लाखौं मान्छेले माया गर्छन्, श्रद्धा गर्छन्,' अनन्तले भने, 'कुमारी घरका संरक्षक (चिताइदार) हरूले एकदमै हेरविचारका साथ राख्नुपर्छ। त्यहाँ कुमारीलाई साथीहरूसँग खेल्न कुनै रोकतोक हुँदैन। औपचारिक शिक्षा दिने चलन पनि छ। सबै सुविधा दिएर राखिन्छ।'
छोरीलाई देवीका रूपमा कुमारी घर भित्र्याएपछि उनका आमाबुबालाई भेटघाट गर्न पनि छेकबार हुँदैन। आमाबुबाले आफूलाई मन लागेका बेला छोरी भेट्न पाउँछन्।
'हाम्रो घर इतुम्बहाल हो, कुमारी घरबाट खासै टाढा छैन। जहिले मन लाग्यो, भेट्न जान पाउँछौं। उहाँलाई परिवारबाट, आमाबुबाबाट टाढा बस्न केही समय पक्कै गाह्रो होला, तर बिस्तारै ठिक हुँदै जान्छ। हामीलाई पनि बानी पर्दै जाला,' अनन्तले भने।
***
-1759219128.jpeg)
-1759219124.jpeg)
-1759219123.jpeg)
-1759219122.jpeg)
-1759219124.jpeg)
-1759219123.jpeg)
-1759219125.jpeg)
-1759215025.jpg)
-1759215024.jpg)
-1759215024.jpg)
-1759215023.jpg)
-1759215023.jpg)
-1759215022.jpg)
-1759215022.jpg)
-1759215021.jpg)
-1759215021.jpg)