'तिमी भन्छौ गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं'
सिमसिम पानीमा रुझ्दै, छाता ओढ्दै, भद्रकालीमा आज एउटा समूहले यही गीत गुनगुनाइरहेका थिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन र यसमा भइरहेको सरकारी अनियमितताविरूद्ध गायक अन्जान बाबुको स्वरमा साथ दिँदै उनीहरुले यो गीत गाएका हुन्।
सांगीतिक विरोध प्रदर्शनमा नागरिक अगुवा, बिपीमा अध्ययनरत विद्यार्थीलगायत अभियन्ताहरु ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शनीमा उत्रिएका थिए। सांगीतिक विरोधमा गायक अन्जानलाई अन्य कलाकारले पनि साथ दिएका थिए।
बिपीका बेथितिविरूद्ध धरानमा आन्दोलन सुरू भएको तीन साता बितिसक्यो। यसबीच विरोधका स्वर सबैतिर फैलिँदा पनि सुनुवाइ भएको छैन। यसकै विरूद्धमा काठमाडौंमा पनि निरन्तर आन्दोलन भइरहेको छ।
विभिन्न विधाका कलालाई समेत विरोधको माध्यम बनाइँदै आइएको प्रदर्शनीमा हिजो बुधबार भद्रकालीमा शिल्पी थिएटरका कलाकारहरूले विरोधस्वरूप सडकमा नाटक प्रदर्शन गरेका थिए।
पछिल्लो समय उपकुलपतिलगायत प्रतिष्ठानका पदाधिकारीहरूले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरूको नेतृत्वमा काम गर्न नसक्ने भन्दै प्रतिष्ठानका कर्मचारीहरू आन्दोलनमा छन्।
यस्तोबेलामा सरकारले जनताको साथ दिनुको सट्टा अझै दूरी बढाएको भन्दै विरोधस्वरूप आफू गीत गाउन आएको अन्जानले बताए।
उनले भने, ‘यस्तो संकटको बेला राज्य जनताको नजिक पुग्नुपर्ने हो। तर राज्यले दूरी झनै बढाइरहेको छ। स्वास्थ्यजस्तो गम्भीर क्षेत्रमा पनि अनियमितता र कमिसनको खेल खेलिरहेको छ। म यसकै विरोधमा गीत गाउन आएको हुँ।'
उनले यसअघि भएका सामाजिक तथा राजनीतिक आन्दोलनमा पनि सडकमा आएर गीत संगीतमार्फत आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको बताए।
'जबसम्म समाजमा बेथिति रहन्छ, जनताले आधारभूत सेवा पाउँदैनन् तबसम्म सडकमा आउँछु। अन्य कलाकार पनि आइराख्नु पर्छ।'
अन्जानले 'हामी कोही होइनौं', 'बगर पल्ट्यो खोली'लगायत गीत प्रस्तुत गरेका थिए। प्रदर्शनमा अभियन्ताहरूले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोगाउन निरन्तर आन्दोलनको खाँचो रहेको बताएका थिए।
सबै तस्बिर: प्रभाकर गौतम