गितार सेसन
सम्पादकीय नोटः फरक पेसा-व्यवसायमा रहेका तर गीत गाउन सौखिनहरूका लागि हामीले गितार सेसन सुरू गरेका हौं। यो सेसनमा गितार नै बजाउनुपर्छ भन्ने छैन। तपाईंहरूले गीत मात्र गाउन सक्नुहुन्छ वा आफूले जानेका अन्य बाजाहरू पनि बजाउन सक्नुहुन्छ। सेतोपाटी गितार सेसनमा सम्पर्क गर्न इमेल गर्नुहोस्- [email protected]
निशा कँडेल लिजेन्स एजुकेसन कन्सल्टेन्सीकी सञ्चालक हुन्। अस्ट्रेलियामा रहेको यो कन्सल्टेन्सी उनी र उनका श्रीमान मिलेर चलाउँछन्।
व्यवसायसँगै निशा संगीतमा पनि सक्रिय छिन्। काम र संगीत सँगै अघि बढाइरहेकी उनी थोरै गीत गाएर पनि प्रशंसक कमाउन सफल छिन्।
छ वर्षअघि बिहे गरेर श्रीमानसँग अस्ट्रेलिया पुगेकी उनी सुरूमा कभर गीतहरू गाउँथिन्। गायक सनुप पौडेलका साथमा गाएको उनले आफ्नो पहिलो गीत 'तस्बिर' दुई वर्षअघि निकालिन्। स्रोता-दर्शकले रूचाएको यो गीतको भिडिओले युट्युबमा तीस लाख बढी भ्यूज पाएको छ।
गैंडाकोट, नवलपरासीमा जन्मे-हुर्केकी निशा सफ्ट मेलोडियस गीत गुनगुनाउन मन पराउँछिन्। हालसम्म पाँच गीत सार्वजनिक गरेकी निशाको डेढ महिनाअघि 'तस्बिर-२' गीत सार्वजनिक भएको छ। गायक अमन प्रधानका साथमा उनले गाएको यो गीतबाट पनि उनले माया पाइरहेकी छिन्।
सैनिक पृष्ठभूमि भएको परिवारबाट आएकी निशा नेपाल छँदा गायनमा लाग्न परिवारको साथ पाएको बताउँछिन्। बिहेपछि श्रीमानबाट पनि आफ्नो रूचिअनुसार गाउन साथ पाएको उनको भनाइ छ।
केही समयदेखि नेपालमै रहेकी उनले सेतोपाटी गितार सेसनमा भनिन्, 'श्रीमान संगीत मन पराउने र साथ दिने भएकाले विदेशमा पनि गायनलाई निरन्तरता दिन पाइरहेकी छु।'
आफ्नै व्यवसाय भएकाले पनि विदेशमा संगीतका लागि समय निकाल्न सम्भव भएको उनको अनुभव छ।
संगीतलाई सबभन्दा प्रिय साथी भन्न रूचाउने निशालाई सानै उमेरदेखि आफूले सुनेका गीतका शब्द याद हुन्थ्यो। ती गीत गुनगुनाउँदा उनलाई साथी र आफन्तले कस्तो राम्रो स्वर भनेर प्रशंसा गर्थे।
'तर मलाई विश्वास लाग्थेन,' उनले भनिन्, 'बिस्तारै स्कुल र अन्य कार्यक्रममा भाग लिएर गाउन थालेँ र यस्तै प्रतिक्रिया पाएपछि विश्वास लाग्न थाल्यो।'
यसरी गाउँदा गाउँदै उनले केही पुरस्कारहरू पनि जितिन्।
नेपाल छँदा बैंकमा समेत काम गरेकी उनले संगीतमा रहर भएर पनि समय दिन पाएकी थिइनन्। अर्कातिर उनमा गीत रेकर्ड गराइहाल्ने आत्मविश्वास पनि जागिसकेको थिएन। त्यसैले उनी युट्युबमा कभर गीतहरू गउन थालिन्। हिन्दी सिनेमा र नेपाली आधुनिक पप गीत रूचाउने उनले कभर गाएर स्रोताहरू कमाउन थालिन्।
केही कभर गाएपछि निकालेको पहिलो गीत नै हिट भइदिँदा सुरूमा त उनलाई पत्याउनै गाह्रो परेको रहेछ। फेसबुक र इन्स्टाग्राममा तस्बिर गीत मन पराएर उनलाई प्रतिक्रिया दिने धेरै भए। अस्ट्रेलियामा भेटिने नेपाली समुदायका कयौंले उनको गीत सुनेर 'वाउ' भने।
'तर सबभन्दा रमाइलो तब भयो जब मैले नेपाल आएका बेला एयरपोर्ट, ट्याक्सी, रेस्टुरेन्ट र अन्य सार्वजनिक ठाउँमा आफ्नै गीत बजिरहेको सुनेँ,' उनले भनिन्, 'नेपाल आएपछि बल्ल गीत हिट हुनुको आनन्द कस्तो हुन्छ भन्ने थाहा भयो।'
अस्ट्रेलियामा पनि उनको गायन नेपाली र केही दक्षिण एसियाली देशका मानिसहरू माझ फैलिइसकेको छ। लामो समय नेपालमा बिताउन नपाउने भएकाले उनी यहाँका कन्सर्ट र गिगमा सहभागी हुने मौका पाएकी छैनन्। यस्तो अनुभव भने उनले अस्ट्रेलियामै लिइरहेकी छिन्।
उनी अस्ट्रेलियामा भ्याएसम्म संगीत अभ्यास गर्छिन्। युट्युबमा भिडिओ हेरेर पनि गायन शैली निखार्ने अभ्यास गरिरहेकी हुन्छिन्। सफ्ट मेलोडियस गीतमा आफ्नो स्वर जचेको लाग्ने उनका गीतहरू पनि यही विधाका छन्।
उनी प्रायः ६-६ महिनामा नेपाल आइराख्छिन्। नेपाल आएका बेला नयाँ गीत रेकर्ड गराउने प्रयासमा हुन्छिन्। लकडाउनका सुरूका चार महिना उनको अस्ट्रेलियाको घरभित्रै बित्यो। त्यहीबेला घरभित्रै उनले आफ्नो 'म के भनौं' बोलको गीत रेकर्ड गरेर सार्वजनिक गरेकी थिइन्। थप केही नयाँ गीत रेकर्ड गरेपछि उनी आफ्नो एल्बम निकाल्ने सोचमा छिन्।
पराइ भूमिमा बसेर गीत संगीतलाई निरन्तरता दिँदा केही प्राविधिक समस्या झेल्नु नपरेको होइन। तर उनी व्यवसायसँगै आफ्नो रूचिको क्षेत्रलाई निरन्तरता दिन सकेकामा सन्तुष्ट छिन्।
विदेशमा व्यवसाय गर्ने भएकाले आर्थिक हिसाबले गीत निकाल्न आड मिलेको उनले बताइन्। भनिन्, 'भविष्यमा पनि यसरी नै व्यवसाय र संगीतलाई साथसाथै लैजाने विचार छ।'
उनी जहाँ बसेर जुनसुकै काम गरे पनि मान्छेले आफ्नो रूचिलाई मर्न नदिए त्यसले आत्मसन्तुष्टि र सफलता मिल्ने बताउँछिन्।
'मैले आफ्नो सौखलाई आफूमै सीमित राखिनँ। सकेजति, जानेजति गाउने प्रयास गरिरहेँ,' निशाले भनिन्, 'आफ्नो सौखलाई निरन्तरता दिन छोड्नु हुँदैन। नत्र भोलिपर्सि पछुतो हुनेछ।'