गितार सेसन
पत्रकार रमेश भुषाल 'अर्थ जर्नालिज्म नेटवर्क' का दक्षिण एसियाली संयोजक र 'द थर्ड पोल' का नेपाल सम्पादक हुन्। वातावरणसम्बन्धी पत्रकारिताका क्रममा उनी देश-विदेश यात्रा गरिरहन्छन्।
छ महादेश र तीस देश घुमेका पत्रकार रमेशले कर्णाली नदीको शिर तिब्बतदेखि भारतको गंगा नदीसम्म दुई हजार किलोमिटर लामो यात्रा गरेका छन्। त्यो ४५ दिने लामो पदयात्रामा आधारित भई उनी किताब पनि लेख्दैछन्।
कामको सिलसिला होस् वा निजी भ्रमण, उनी देश-विदेश जहाँ जाँदा पनि गीत-संगीतलाई साथी बनाएर हिँड्छन्। उनी व्यावसायिक गायक त होइनन्, तर अनौपचारिक जमघटमा उनी कुनै गायकभन्दा कम बन्दैनन्। जानेको र सकेको जति गाउँछन् र माहोल जमे नाच्न पनि पछि पर्दैनन्।
रमेश भन्छन्, 'मान्छेसँग घुलमिल हुन र नयाँ ठाउँको संस्कृति बुझ्न संगीत महत्वपूर्ण माध्यम बनिदिन्छ।'
रमेशका अनुसार उनले धेरै पटक लामो यात्रापछि नाचगानले नै थकान मेटेर अर्को दिन स्फूर्ति बढाउने महशुस गरेका छन्। ४५ दिन कर्णाली बगरमा हिँड्दा, बस्दा उनले कयौं पटक आगो बालेर संगीतकै माध्यमबाट थकाइ मारेका छन्।
भाषा नबुझ्ने ठाउँ पुगेका बेला उनलाई संगीतले अपरिचित मान्छेहरूसँग जोडिने बहाना पनि दिएको छ। उनले कतिपय देश पुग्दा गीत मन परेर संगीतकै कारण नयाँ भाषा सिकेका पनि छन्।
एक पटक उनी बंगाल खाडीको टापूमा जलवायु परिवर्तन प्रभावबारे तालिम दिन गएका थिए। त्यहाँ उनी बंगाली गायक तथा गीतकार प्रोतुल मुखोपाध्यायको गीत सुनेर मोहित भए। त्यो गीत सर्लक्कै टिपेर कण्ठ पारेका रमेशलेसेतोपाटी गितार सेसनमा सुनाए,
आलु बेचो, छोला बेचो, बेचो बाखुरखानी
बेचो ना बेचो ना बोन्धु तोमर चोखेरमोनी
कोला बेचो कोइला बेचो बेचो मोटोरदाना
बुकेजाला बुकेइजोलुक कन्ना बेचो ना
गीतले भन्छ- आलु बेच, छोला बेच, रोटी बेच तर सपना नबेच, आँसु नबेच, आत्मसम्मान नबेच।
पर्वतमा जन्मेका रमेशको विशेष झुकाव लोकसंगीतमा छ। सेतोपाटी गितार सेसनमा उनको छनोटमा परेका गीत पनि लोकशैलीकै छन्। उनले गायक झलकमान गन्धर्व, सरोजगोपाल, बुद्धि परियार, नेपथ्य लगायतका लोकभाका गाए। उनको गीतमा दीपक सापकोटाले मादलको ताल भरेर साथ दिएका छन्।
यात्रा क्रममा पनि उनी अरू देशका लोकसंगीत नै सुन्न र बुझ्न मन पराउँछन्।
'हरेक देशका मान्छेले आफ्नो देशको लोकसंगीत धेरथोर जानेका हुन्छन्,' उनले भने, 'लोकसंगीतमा मान्छेका सुखदुःखका कथा बुनिएको हुन्छ।'
संगीतमा सानैदेखि रूचि भए पनि रमेशलाई न आफूमा राम्रो गाउँछु भन्ने आत्मविश्वास थियो, न अरू कसैले राम्रो गाउँछौ भनिदियो। नत्र आज उनी पत्रकारको साटो गायक-संगीतकार बन्थे कि!
रमेशका अनुसार उनले सधैं संगीतभन्दा पढाइलाई प्राथमिकता दिए। नौ कक्षामा प्रथम भएपछि उनको ध्याउन्न डाक्टर बन्ने वा टपर बन्नेमा केन्द्रित भयो।
उनी २०४६ सालमा ६-७ वर्षको हुँदा पर्वतबाट काठमाडौं आएका हुन्। उनले पढ्ने बोर्डिङ स्कुलका सांस्कृतिक कार्यक्रममा लोकगीतले ठाउँ पाउँथेन। विदेशी र नेपाली पप गीत गाइने-बजाइने माहोलमा उनले आफूलाई मनपर्ने लोकगीत खुलेर गाउन सकेनन्।
'लोकसंगीत भनेपछि त्यतिबेला नाक खुम्च्याइन्थ्यो,' उनले भने, 'पढाइमा केन्द्रित भएकाले गाउँ जाँदा मात्र आफूलाई मनपर्ने खालका गीत-संगीतसँग नजिक हुने अवसर मिल्थ्यो।'
उनी बिएससी पढ्ने बेलातिर रेडियो-एफएम घरघरको साथी बनिसकेको थियो। उनी पनि रेडियोका साथी बने। रेडियो-एफएम सुनेर लोकसंगीत सुन्ने धीत मारे।
रेडियोमा सुहाउने वजनदार आवाज भएका रमेश रेडियो सुन्दासुन्दै नेपाल एफएममा प्रतिभा देखाउने एउटा कार्यक्रममा सहभागी भए। त्यहीँबाट उनको पत्रकारिता यात्रा सुरू भयो। त्यसबेलादेखि अहिलेसम्म उनी वातावरण पत्रकारितालाई निरन्तरता दिइरहेका छन्।
रमेशका अनुसार रेडियोमा काम थालेपछि उनको गीत गाउने रहर फेरि जाग्यो।
उनले भने, 'रेडियो स्टुडियोमा रेकर्ड रूम र सेल्फ स्टुडियो हुन्छन्। सेल्फ स्टुडियो साउन्ड प्रुफ हुने भएकाले ऐनाअगाडि बसेर बोल्ने अभ्यास गर्न थालेँ। अनि मौका मिलाएर चुकुल लगाएर मस्तले गीत गाउन थालेँ।'
बिबिसी नेपाली सेवामा काम गर्दा उनको शनिबार र आइतबारको धेरै समय स्टुडियोभित्र बित्थ्यो।
'त्यहाँ एउटै गीत १०-१२ पटकसम्म धीत नमरून्जेल दोहोर्याएर गाउँथेँ। त्यसरी गाउँदा साथी, छिमेकी वा घरबेटी कसैको डर वा संकोच लाग्थेन।'
अहिले उनी जे-जति गाउने भएका छन्, त्यही बन्द कोठाको अभ्यासको नतिजा हो। अचेल त उनी खुलेर गाउने भइसकेका छन्। तर यहाँसम्म आइपुग्न उनले आफ्नो मनभित्रको दुविधा र दकस मार्न आन्तरिक संघर्ष गर्नुपर्यो।
'गीत गाउन मन त लाग्ने तर सूर-ताल मिल्दैन कि भन्ने चिन्ता लागिरहन्थ्यो। हामी धेरैलाई यस्तै लाग्छ। खासमा अनौपचारिक रूपमा गाउँदा यस्तो सोच नआउनु पर्ने हो,' उनी भन्छन्।
यस्तो संकोच चिर्न नसकी आफ्नै लागि मात्र गायक बन्न सकिन्न भन्ने उनको अनुभव छ। यही अनुभवबाट सिकेर उनले पछिल्लो समय अस्ताम, पोखरा जाँदा झलकमान गन्धर्वको गीत गाएर युट्युबमा राखे। उनले ट्विटरमा समेत सेयर गरेको यो भिडिओ सार्वजनिक गर्नुअघि श्रीमतीलाई सोधेर ढुक्क भएको बताए।
श्रीमतीबाहेक साथीहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाएका उनी बल्ल आफूले गाएको अरूसामु सार्वजनिक गर्ने आत्मविश्वास जागेको बताउँछन्।
रमेशलाई आफू जन्मेको गाउँ रसिक लाग्छ। उनको गायनशैली र उनले छानेका गीत सुन्दा त्यो रसिक गाउँको छाप उनमा पनि भेटिन्छ। पञ्चेबाजा, खैंजडीमा मिसिएर बज्ने लोकभाका खुब मन पराउने उनी अलिअलि गितार बजाउँछन्।
गीत रेकर्ड गराउने कुनै सोच हालसम्म नबनाएको बताउने उनी एउटा बाजा मज्जाले सिक्न चाहन्छन्।
'आफ्नो गीत आफैं कुनै बाजाका साथमा बजाउन सकेँ भने मात्र पनि मेरो रहर पूरा हुनेछ,' उनी भन्छन्।
ढिलै भए पनि आफ्नो गाउने रूचि र क्षमता लुकाउनुको साटो सार्वजनिक गर्न थालेका उनलाई संगीतमा निरन्तरता दिएको भए गायक बनिन्थ्यो कि भन्ने थकथकी कहिल्यै लागेन रे!
तर आज पनि उनलाई लाग्छ, 'त्यो बेला आफैं संकोच नमानेको भए, अवसर पाएको भए गायक नबने पनि संगीतलाई सँगसँगै लिएर हिँड्ने थिएँ।'