गितार सेसनः आमाबुबाको सम्बन्धमा दरार आएपछि छोराछोरीको हुर्काइ जटिल बन्छ। सुमन बाइवाले पनि सानै उमेरमा पारिवारिक समस्या भोग्नु पर्यो। उनका बुवाले दोस्रो विवाह गरे।
घरमा आर्थिक समस्याले घेरेपछि सुमनकी आमा गलैंचा बुन्ने काम गर्न थालिन्। सुमनलाई पनि पैसा कमाउनु थियो। काम खोज्दै उनी काभ्रेबाट काठमाडौं आए।
सुरूमा होटलमा काम गरेका उनी गाडीमा सहचालकका रूपमा काम गर्न थाले।
गाडीमा हिँड्दा उनी र्याप सुनेर रमाउँथे। गाडी क्षेत्रका उनको वरिपरिका मान्छेले पनि र्याप खुब मन पराउने रहेछन्।
र्यापमा आफ्नै भावना पोख्न उनलाई रमाइलो लाग्न थाल्यो। जान-अन्जानमा र्याप गाउन थालेपछि उनी साथीमाझ र्यापरका रूपमा चिनिन थाले।
त्यसपछि सामाजिक सञ्जाल र युट्युबमा फ्रि-भर्स अपलोड गर्दै उनले र्याप रेकर्ड गर्न थाले। हालसम्म तीन वटा आफ्नै र्याप सार्वजनिक गरेका सुमनले तामाङ भाषामा पनि र्याप गाएका छन्।
सेतोपाटी गितार सेसनमा 'नक्कली कान्छी' बोलको तामाङ र्याप सुनाउँदै उनले भने, 'गीत रेकर्ड गरिसकेको छु। यो तामाङ र्याप भिडिओ बनाएर सार्वजनिक गर्ने सोच छ।'
यसअघि उनका 'मेरो नेपालमा', 'के गर्नु खै' लगायत बोलका गीत सार्वजनिक भइसकेका छन्।
व्यावसायिक र्यापर बन्ने बाटोमा लम्किरहेका सुमनले आफ्ना गीतमा धेरैजसो आफ्नै भोगाइ समेट्छन्। होटलमा काम गर्दा होस् वा गाडीमा, मानिसहरूबाट धेरै दुर्व्यवहार धेरै भोग्नु परेको उनी बताउँछन्।
'घरको समस्या त भइहाल्यो, समाजको तिरस्कार पनि धेरै भोगेँ,' उनले भने, 'मेरा गीतमा मैले जे देखेँ-भोगेँ, त्यही गाउँछु।'
सुमनले र्याप आफ्नै रहरले सिकेका हुन्। औपचारिक पढाइलाई निरन्तरता नदिए पनि उनका यस्तै भोगाइले उनलाई लेख्न प्रेरित गरेको छ। उनले भने, 'कसैले फुच्चे, कसैले खलासी त कसैले खाते भनेर हेप्थे।'
जब यिनै भोगाइलाई उनले र्यापमा गाउन थाले, उनलाई हेप्नेहरूको हेराइ फेरियो। उनले गायकको सम्मान पाए। केही अपिरिचित स्रोता र प्रशंसक समेत कमाए।
आफ्नै पाराले गीत रेकर्ड गर्न थालेका उनी अचेल अलि मिहेनत गरे र्याप क्षेत्रमै स्थापित हुने सपना देख्न थालेका छन्।
'र्याप गाउँदा आफ्नो उकुसमुकुस भावना पोख्न पाउँदा आनन्द मिल्छ। सँगै अरूको दृष्टिकोण र व्यवहार पनि बदलिने रहेछ,' १७ वर्षीय सुमनले भने।
उनका अनुसार उनले काठमाडौंका सडकमा चाउचाउ र पानीको भरमा कयौं रात बिताउनु परेको थियो। उनीसँग दुई दर्जनजति गीत र भर्स तयार छन्, तर उनी भन्छन्, 'गीत रेकर्ड गराउन पैसा छैन।'
सुमनको पहिलो र्याप रेकर्ड गराउन आमाले सहयोग गरेकी थिइन्। तर आमाले चाहेर पनि उनलाई सहयोग गरिराख्नसक्ने अवस्था छैन, ‘गीत रेकर्ड गर्न र भिडिओ बनाउने खर्च जुटाउन गाह्रो छ।’
जतिसुकै गाह्रो भए पनि मिहेनत र निरन्तरता दिए र्यापरका रूपमा स्थापित हुने आफ्नो सपना पूरा हुनेमा उनी आशावादी छन्। सुमन विन्स्टन चुरोटको टिकटक च्यालेन्ज बिटमा र्याप गाएर विजेता बनेका थिए। त्यसबेला पाएको पाँच हजार नगद संगीतबाट प्राप्त जीवनकै पहिलो कमाइ हो।
'पहिला रहरले गाउन थालेको हुँ। धेरै सिक्न बाँकी छ। अचेल युट्युब हेरेर, अरूका गीत सुनेर पनि सिकिरहेको छु,' उनले भने, 'सजिलो गाह्रो जे भए पनि र्याप छोड्दिनँ।'