महिला निर्देशक कुसुम कालिकोटे र ईश्वरी आचार्यले 'वुमन एन्ड जेन्डर सर्ट फिल्म ग्रान्ट' प्राप्त गरेका छन्। उनीहरुलई 'नेपाली फिमेल फिल्म मेकर्स' (एनएफएफ) ले विराटनगर फिल्म वर्कशप (बिएफडब्ल्यु) को सहयोगमा लघु फिल्म अनुदान प्रदान गरिएको एनएफएफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
कुसुमलाई उनको फिल्म फिक्सनल कथा र ईश्वरीलाई वास्तविक पात्रको चित्रण गर्ने वृत्तचित्र 'दोज डेज'का लागि आर्थिक सहयोग प्रदान गरिएको हो। सस्टेनेबल हिमालयन फाउन्डेशनद्वारा प्रायोजित अनुदानबाट दुबै विजेताले २५/२५ हजार नगद र आफ्ना छोटो फिल्म निर्माणका लागि विज्ञको मेन्टरसिप पनि प्राप्त गर्नेछन्।
'सेतो सूर्य' र 'हाइवे' फिल्मका निर्देशक-निर्माता दीपक रौनियार र आशा मगरातीले मेन्टरको भूमिका निर्वाह गर्ने एनएफएफकी शान्ता नेपालीले बताइन्। दीपक र आशाले विराटनगर फिल्म वर्कशप सञ्चालन गर्दै आएका छन्।
कुसुमले आमा बन्न लागेकी महिलाको उदासिनताको कथा भन्ने 'अन्योल' फिल्म बनाउँदैछिन्। ईश्वरीले भने काठमाडौंमा पहिलो पटक रजस्वलाका क्रममा भेदभाव भोग्नु परेका युवतीहरुको वास्तविक कथा चित्रण गर्नेछिन्। यसक्रममा उनले फरक उमेर समूह, जाति र पेशाका महिलाहरुको दस्तावेज तयार गर्नेछिन्।
कुसुम र ईश्वरी ३२ जना निवेदकहरुमध्येबाट छनोटमा परेका हुन्। सहभागीलाई महिलाको जीवनमा विवाह, यौन दुर्व्यवहार, यौनिकताका आधारमा कन्सेप्ट नोट लेख्न दिइएको थियो। विज्ञप्ति अनुसार निर्देशक निजी अनुभवसँग जोडिएका कथालाई जुरीले प्राथमिकतामा राखेर ग्रान्टीहरु छानिएको हो।
ग्रान्टीहरूले ३ देखि ५ मिनेट लामो फिल्म निर्माणका लागि ६ देखि ८ हप्ता खर्चने बताइएको छ।