मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ। शिवरात्रीको अवसरमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 'लप्पन छप्पन २' यही चैत्र २७ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्मको ट्रेलरमा पैसा र शक्तिको महत्व र टकराव देख्न सकिन्छ। यसमा अभिनेता सौगात मल्ललाई 'सुपरस्टार'को ट्याग दिइएको छ। फिल्मको मुख्य भूमिकामा सौगतसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्वर्गीय दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाललगायत कलाकारको अभिनय छ। खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुतिमा बनेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन्।
फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन्। सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रूपमा छन्। पुरुषोत्तम प्रधानले खिचेको यो सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
कोरोना महामारी र लकडाउनका कारण लामो समयसम्म बन्द रहेका फिल्म हलहरू गत पुस १० गतेदेखि संचालनमा आएको छ। तर हल संचालनमा आएपनि नयाँ फिल्महरू हलसम्म पुग्न सकिरहेको छैन। न त दर्शकहरू नै हलमा पहिले जस्तै उत्साहजनसहित पुगेका छन्। यस्तोमा चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'लप्पन छप्पन २' ले भने हलमा दर्शकहरूलाई तान्ने आशा राखिएको छ। फिल्मको ट्रेलर युट्युब च्यानल ओएसआर मुभिजबाट सार्वजनिक भएको हो।