मिस युनिभर्स नेपाल- २०२० अंशिका शर्माले ‘अंशिका शिक्षा कल्याण फाउन्डेसन’ स्थापना गरेकी छन्। यो संस्थाबाट उनले झापाका १४ बालबालिकालाई पढाउने भएकी छन्।
अंशिकाले मिस युनिभर्स नेपाल-२०२० विजेता हुँदा पाएको नगद पुरस्कार १० लाख रूपैयाँ संस्थाको ट्रस्ट कोष स्थापना गर्न प्रारम्भिक रकमका रूपमा प्रयोग गरेको जनाएकी छन्।
एक विज्ञप्ति जारी गर्दै अंशिकाले फाउन्डेसनमार्फत झापाका १४ बालबालिकालाई विद्यालय शुल्क, पोशाक, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, यात्रा, बालिकाको स्वास्थ्यसम्बन्धी औषधीजन्य सामग्रीलगायत सामग्री सेवा पुर्याउने उनले जानकारी दिएकी हुन्।
अंशिकाले नेपालका विपन्न वर्गका विद्यार्थीहरूको शिक्षामा पहुँच सुनिश्चित गर्न विभिन्न अभियान चलाउँदैछिन्। यसअघि अंशिका र उनका साथीहरू मिलेर जुम्लामा १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए।
हाल अंशिका शिक्षा कल्याण फाउन्डेसनको कार्यक्षेत्र झापामा केन्द्रित रहनेछ। झापा अंशिकाको गृहजिल्ला पनि हो। उनको केही समयपछि फाउन्डेसनको कार्यक्षेत्र विस्तार गर्ने योजना छ। अंशिका बालबालिकालाई शिक्षित बनाएसँगै समाज बदल्न सक्ने विश्वास राख्छिन्।