गितार सेसन
सन्तोष घलेले संगीत प्रतिस्पर्धा र रियालिटी शोहरूमा भाग लिन थालेको केही वर्ष भइसकेको थियो। कतिपय प्रतिस्पर्धामा छनोटमा पर्न सफल उनी दुई वर्षअघि 'भ्वाइस अफ नेपाल' को दोस्रो चरणमा 'ब्याटल राउन्ड' सम्म पुगेका थिए।
उनले यसअघि नेपाल आइडलको तीन वटै सिजनमा सहभागिता जनाएका थिए। तर छनोट भने हुन सकेनन्। संगीत प्रतिस्पर्धामा सफल हुने उनको सपना अधुरै थियो। गत आइतबार भने उनको उपाधि जित्ने सपना साकार भयो। 'खुकुरी म्युजिक नेसन' प्रतियोगितामा प्रथम भएर उनले उपाधि विजेता बन्ने सपना पूरा गरेका हुन्। उनले ट्रफीसँगै ११ लाख रूपैयाँको पुरस्कार जितेका छन्।
'धेरै पटक असफल भए पनि अर्को पटक त केही होला भनेर निरन्तर लागिरहेँ। भएन, भाग लिन्नँ वा छोड्दिन्छु भन्ने सोचाइ कहिले आएन,' सेतोपाटी गितार सेसनमा सन्तोषले भने, 'बरू फेरि प्रयास गर्छु भनिरहेँ।'
पछिल्लो सफलता त्यही धैर्य र मिहेनतको परिणाम मान्छन् उनी।
खुकुरी म्युजिक नेसनमा प्रतियोगितामा सन्तोषसहित १६ सहभागीबीच प्रतिस्पर्धा भएको थियो। विजेता भएवापत उनले आयोजकसँग ११ लाख बराबरको गीत रेकर्डिङ र म्युजिक भिडिओ बनाउने सम्झौता गर्नेछन्।
कभर गीत गाउँदै अघि बढेका सन्तोष यो पुरस्कारपछि आफ्नै नयाँ गीतहरू रेकर्ड गराउने र म्युजिक भिडिओ बनाउने अवसर पाएर उत्साहित छन्।
लमजुङ मूलघर भएका सन्तोष हाल चितवन बस्छन्। घाटु र मारुनीजस्ता नृत्य तथा संगीतले सम्पन्न गुरुङ समुदायका सदस्य सन्तोष आफ्नै घरको वातावरणले संगीतमा लाग्ने प्रेरणा मिलेको बताउँछन्।
'हजुरबुबा र दाइ गाउने भएकाले ममा सानैमा उहाँहरूको प्रभाव पर्यो,' उनले भने। संगीतप्रतिको यो लगाव उमेरसँगै झाँगियो। कतिसम्म भने उनले मजदुरी गरी चौबीस सय रूपैयाँ जम्मा गरेर गितार किनेका थिए। त्यही गितारका तार बजाउँदै उनी घन्टौं गुनगुनाउन थाले।
खुकुरी म्युजिक नेसनमा प्रतियोगितामा उनी देश सुब्बा र 'द एज ब्यान्ड' का गीत गाएर पुरस्कृत भएका हुन्। गितार सेसनमा उनले ती दुवै गीत सुनाए। अनि आफैंले तयार पारेको नयाँ गीत पनि गाए–
तिम्रो मायाको सागरमा डुबेर
बग्न चाहन्छु यसरी सधैं म
रक र आधुनिक विधाका गीत रूचाउने सन्तोष द एज ब्यान्डदेखि नारायण गोपालसम्मका गीत मन पराउँछन्। प्रतियोगितामा भाग लिनुको कारणबारे बताउँदै उनले भने, 'जजमा समृद्धि राई, सविन राई र विपूल क्षेत्रीको नाम देख्ने बित्तिकै यो प्रतियोगितामा सहभागी हुनैपर्छ भन्ने भएको थियो।'
प्रतियोगितामा निर्णायकबाहेक अमेरिका, भारतदेखि नेपालका विभिन्न कलाकारसँगको संगतले धेरै कुरा सिकाएको उनले बताए।
'मेरो नाम विजेताका रूपमा आउँदा एकछिन त विश्वासै गर्न सकिनँ। होसै गुमेजस्तो भयो,' उनले भने, 'यो मेरो जिन्दगीको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि। पहिला अरूको गीत गाउनुपर्थ्यो। अब आफ्नै गीत निकाल्न सक्ने भएको छु।'
संगीतमा सक्रिय हुने काम सन्तोषका लागि गीत रेकर्ड गराउनु वा म्युजिक भिडिओ बनाउनुमा मात्र सीमित छैन। संगीतमा लाग्दा उनलाई आफ्ना अग्रजकै बाटो पछ्याएको महशुस हुन्छ। संगीत उनका लागि मनोरञ्जन र आनन्द मात्र पनि हैन। सन्तोषले भने, 'संगीतले मलाई अनुशासित पनि बनाएको छ।'
सन्तोष चितवनका रेस्टुरेन्ट तथा क्लबहरूमा गाउँछन्, बजाउँछन्। यस्ता प्रस्तुतिमा साथ दिने उनको आफ्नै ब्यान्ड पनि छ। यसबाहेक आर्थिक आम्दानीका लागि खेतीपाती र कुखुरापालन पनि गर्दै आएका छन्।
तर सन्तोषको मुख्य चाहना संगीतमै स्थापित हुनु हो। भ्वाइस अफ नेपालदेखि खुकुरी म्युजिक नेसनसम्मको यात्रामा सन्तोषको गायकीमा निखार आएको सहजै महशुस गर्न सकिन्छ।
उनको लक्ष्य छ, 'नेपाली संगीत क्षेत्रमा अलग योगदान दिन चाहन्छु।'
यी पनि हेर्नुस्ः
गीत गाउन सौखिन टिचिङ अस्पतालका डाक्टर
'मान्छेले मलाई यसले राम्रो गाउँछ भनेर मात्र सम्झिऊन्' (भिडिओ)
हजुरबुवालाई भजन, बालाई किशोरकुमार, उनलाई स्लो-रक (भिडिओ)
'गायक बन्न चिया बेचेँ, भाँडा माझेँ' (भिडिओ)
प्रेम, समर्पण, स्वतन्त्रता गाउने सिम्मा