भ्यालेन्टाइन्स डे (फेब्रुअरी १४)को मौका पारेर गायक स्वप्न सुमनले नयाँ गीत सार्वजनिक गरेका छन्। 'मायालु' बोलको यो गीतमा गायिका त्रिशला गुरूङले स्वर दिएर सहकार्य गरेकी छन्।
'मायालु'ले दर्शकलाई १९९० दशकमा फर्काउन खाेजेकाे देखिन्छ। गीतको म्युजिक भिडिओमा स्वप्न र त्रिशलाकै प्रस्तुति छ जसमा उनीहरूको युवा अवस्थादेखि बुढेसकालसम्म देखाइएको छ।
स्वप्नले इन्स्टाग्राम स्टोरीमा याे म्युजिक भिडिओ 'मायालु'बारे केही भन्न वा सोध्न मन भएका कुरा साेध्न भनेका थिए। उनलाई उनका फ्यानहरूले म्युजिक भिडिओको पृष्ठभूमिदेखि प्रोडक्सन कामबारे सोधेका छन्। केहीले भिडिओ र गीत निकै मन परेको भन्दै प्रशंसा गरेका छन्।
म्युजिक भिडिओको छायांकन जम्मा १३ घण्टामा सकेको स्वप्नले इन्स्टाग्राम स्टोरीमार्फत जनाएका छन्। भिडिओमा स्वप्न गाडी चलाइरहेका देखिन्छन्। एकजनाले 'तपाईंलाई गाडी चलाउन आउँछ?' भनेर पनि सोधेका छन्। जसमा स्वप्नले भने, 'अहँ, मलाई गाडी चलाउन आउँदैन। त्यसैले, दृश्यहरू सबै सेटमै छायांकन गर्नुपर्यो।'
त्रिशला गुरुङ र स्वप्न सुमन
त्रिशलासँगको सहकार्यबारे पनि उनले भनेका छन्, 'उनीसँग काम गर्न एकदमै रमाइलो भयो। यो गीत लेख्ने बित्तिकै मेराे दिमागमा त्रिशलाकै अनुहार आएकाे थियाे। प्रोजेक्ट निकै रमाइलो ढंगमा सकायौं।'
गीतको पृष्ठभूमिबारे उठेका प्रश्नमा स्वप्नले भने, 'यो गीत मैले खासमा गीत लेखन अभ्यासक्रममा लेखेको थिएँ। रिलिज गर्ने सोचमा पनि थिइन। साथीहरूलाई भने सुनाएको थिएँ। एकजना साथीलाई मन परेछ। अनि त काम पूरा गर्न कर लाग्यो।'
स्वप्नले अरू नयाँ प्रोजेक्टहरूमा पनि काम भइरहेको खुलाएका छन्। भनेका छन्, 'सन् २०२१ सालमा अझ रमाइलो प्रोजेक्टहरू आउँदैछ।'
यतिबेला भने 'मायालु' बाटै स्वप्न र त्रिशलाले निकै राम्रो प्रतिक्रिया बटुलिरहेका छन्। गीतको संयाेजन स्वप्न आफैले गरेका हुन्। अनुप सापकोटाको निर्देशनमा तयार भएको भिडिओमा अन्जन लिम्बुको छायांकन छ। भिडिओलाई प्रशिस बज्रचार्यले सम्पादन गरेका छन्।
भिडिओमा स्वप्न र त्रिशलासँगै साक्क्षी मास्के, स्वर्निम महर्जन, अनुप्रास शर्मा र सहिल श्रेष्ठको प्रस्तुति छ।
'मायालु' आइतबार स्वप्नकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।