स्रष्टाहरूले गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको पनि विरोध तथा भर्त्सना गरेका छन्।
वक्तव्य जारी गर्ने स्रष्टाहरूमा साहित्यकारहरू निनु चापागाईं, नारायण ढकाल, विमल निभा, श्रवण मुकारुङ, इस्माली, भूपाल राई, राजन मुकारुङ, धनकुमारी सुनार, मातृका पोखरेल विनोदविक्रम केसी, संगीत स्रोता, स्वप्निल स्मृति, राजु स्याङ्तानलगायत ८६ जना रहेका छन्।
रंगकर्मी र संगीतकर्मीमा अनुप बराल, दयाहाङ राई, दिया मास्के, सिर्जना सुब्बा, आकांक्षा कार्की, केदार श्रेष्ठ, घिमिरे युवराज, नाजिर हुसेन, बुद्धि तामाङ, झुमा लिम्बू, अन्जान बाबु शर्मालगायत छन्।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुण्ठित गर्दैमा निरङ्कुशता र तानाशाही शासन टिक्न नसक्ने वक्तव्यमा उल्लेख छ।
‘नेपाली जनताको संघर्षबाट स्थापित सापेक्षित उपलब्धिहरूको हरण हुन नदिन र सामाजिक न्याय, जनपक्षधरता एवम् सबैखाले विभेदको अन्त्यका लागि अग्रगामी परिवर्तनका नयाँ कार्यसूचीहरू समेत निर्माण गर्न स्रष्टाहरू संयुक्त आन्दोलनमा सहभागी हुनु आजको आवश्यकता बनेको छ’, वक्तव्यमा भनिएको छ।
सबैखाले प्रतिगमनका विरूद्ध र निरन्तर अग्रगमनका पक्षमा हामी ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरू तय गर्न संयोजन टिम र सचिवालय टिम निर्माण गरेको पनि वक्तव्यमा जनाइएको छ।
स्रष्टा आन्दोलनले छिट्टै सडक आन्दोलनका कार्यक्रमहरू तय गर्ने साहित्यकार राजन मुकारुङले बताए।
‘हामी सबैखाले प्रतिगमन र निरन्तर अग्रगमनका पक्षमा आन्दोलनमा क्रियाशील हुनेछौं’, उनले भने।
स्रष्टा आन्दोलनको तयारीका लागि शनिबार मण्डला थिएटरमा ६ दर्जन स्रष्टाहरूले प्रारम्भिक भेला आयोजना गरेका थिए।