तेस्रो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२१’ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ।
वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न सहरमा एकसाथ अडिसन हुँदैछ।
आयोजकले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ।
जह इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सुरेश चौधरीले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।
‘अडिसनस्थलदेखि सहभागीहरूको तयारी पूरा भइसकेको छ, फागुन पहिलो सातासम्म अडिसनका सबै काम सकिन्छ’,प्रबन्ध निर्देशक चौधरीले भने।
अडिसनको पहिलो दिन माघ २४ गते चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लङज, विराटनगरको इनर्जी वर्ल्ड जिम एण्ड फिटनेस सेन्टर र नेपालगञ्जको स्वस्तिक कटेज एण्ड गार्डेन रिसोर्टमा अडिसन हुनेछ।
यस्तै, माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिरहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ।
त्यसैगरी, फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यु र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रबन्ध निर्देशक चौधरीले बताए।
अडिसनपश्चात छनोट भएका प्रतिस्पर्धीहरूको काठमाडौंमा प्रशिक्षण गरिने छ।
उनीहरूलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए।
प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, फर्स्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहार प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदीप चौधरीले जानकारी दिए।
पहिलो र दोस्रो संस्करणको सफलतापश्चात आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो।
पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट मेन्टर निश्मा चौधरीले यस प्रतियोगिताले युवायुवतीहरूलाई व्यक्तित्व विकासमा टेवा पुर्याउनुको साथै कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताइन्।
उनले मिस्टर एण्ड मिस थारु सिजन १ र २ मा कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन्।
यस्तै, पत्रकार सम्मेलनमा बोल्दै सिजन २ की फर्स्ट रनरअप सुनेश्वरी कुमारी दासले यस प्रतियोगिताले आफ्नो व्यक्तित्वको विकासको साथै समाजप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको बताइन्।
उनले प्रतियोगितापश्चात पनि सहभागीहरूले विभिन्न अवसर पाउने भएकाले यस सिजनमा सहभागी हुन युवायुवतीहरूलाई आग्रह गरिन्।
यस्तै, सिजन १ का फर्स्ट रनरअप सुभम चौधरीले यस प्रतियोगिताले थारु भेषभूषाको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए।
प्रतियोगिता सहभागिता जनाएपश्चात् उनी सिजन २ को फेसन डिजाइनरको भूमिका निर्वाह गरेका थिए।