नाजिरलाई सुनिशाले बनाएको चटपटे खुबै मनपर्ने। चटपटे खाने बहानामा नाजिर सुनिशालाई सधैं भेट्न जाने। अनि दुई जनाबीच माया गाँसिने।
यो नाजिर हुसेन र सुनिशा बजगाईंको नयाँ म्युजिक भिडिओको कथा हो। गायक गणेश सेन्चुरीको स्वरमा 'कान्छी' बोलको नयाँ गीतमा बनेको भिडिओ हो यो।
भिडिओमा नाजिर र सुनिशाको 'केमेस्ट्री' देख्न सकिन्छ। भिडिओको कथा संगीत सापकोटाले लेखेका हुन्। गीतमा बुद्ध योन्जनले शब्द दिएका छन्।
गीतको म्युजिक भिडिओमा नाजिर र सुनिशासँगै मोनिस निरौला र महेन्द्र बाठ्ठाको पनि अभिनय छ। यसलाई मोनिस निरौलाले निर्देशन गरेका छन् भने सौरभ लामिछानेले सम्पादन गरेका छन्।
'कान्छी' शनिबार युट्युब च्यानल 'द गणेश म्युजिक'बाट सार्वजनिक भएको हो। गायकको 'लुकिछिपी किन मायामा' बोलको गीत चर्चित छ।