‘बतास’ गीतबाट चर्चामा आएका गायक शाश्वत खड्का पहिलो पटक सांगीतिक यात्रामा जाँदैछन्। लकडाउनपछि संगीत कन्सर्ट गर्न सहज हुन थालेसँगै २० वर्षीय शाश्वत आफ्नो प्रतिभा लिएर भारत जाने भएका हुन्।
नेपालको ‘यो वेभ म्युजिक’ र भारतीय विभिन्न कार्यक्रमको आयोजनामा शाश्वत सांगीतिक यात्रामा जान लागेका हुन्। शाश्वतले यही जनवरी ३० मा बैङ्गलोरस्थित फ्युजन टाउन, फेबुअरी १ मा हैदरावादस्थित रिओट बार एन्ड किचेन र फेबुअरीमा गुवाहातीस्थित रेट्रो टाउनमा आफ्नो प्रस्तुति दिँदैछन्।
गुवाहाती र हैदरावादमा आयोजित कार्यक्रम ‘सिग्नेचर इभेन्ट’ले आयोजना गरेको हो भने बैङ्गलोरमा हुने कार्यक्रम ‘डिजे अरिक् र डिजे मोहित’ले आयोजना गरेका हुन्।
शाश्वतको भारत भ्रमणको सम्पूर्ण व्यवस्था ‘ग्यारेज इन्टरटेनमेन्ट नेपाल’ले मिलाउँदैछ।
गायक, संगीतकार एवम् गीतकार शाश्वतले नयाँ गीत यही फेबुअरीमा सार्वजनिक गर्ने योजना बनाएका छन्। यहीबीच सांगीतिक यात्रामा जान लागेका उनी भन्छन्, ‘दर्शकको प्रतिक्रियाले मलाई निकै हर्षित बनाएको छ। नयाँ गीतहरू छिट्टै सार्वजनिक गर्नेछु।’
परिवारसँगै देश-विदेशका दर्शकबाट पाएको साथ र सकारात्मक प्रतिक्रियाले आफ्नो सांगीतिक यात्रा अगाडि बढाउन निकै सहयोग भएको शाश्वत बताउँछन्।