गायक सनुप पौडेलको स्वरमा 'जाली जिन्दगी' बोलको गीत सार्वजनिक भएको छ। प्रेममा परेर 'पागल' भएको युवकको भावना बोकेको गीतको भिडिओ शनिबार युट्युब मार्फत सार्वजनिक भएको हो।
प्रकाश बिष्टले रचेको यस गीतमा शंकर थापा (स्माइल) को संगीत छ। 'पागल प्रेमी' को कथालाई म्युजिक भिडियोमा उतार्ने काम निर्देशक तथा सिनेमेटोग्राफर नबिनबाबु गुरुङले गरेका छन्। भिडिओमा सुशील तामाङ र रन्जिता गुरुङसँगै बालकलाकार मिजिन लामाले अभिनय गरेका छन्।
गीतको मर्मअनुसार कथामा ढालिएको भिडिओमा शुशीलले सडकमा बाँच्ने युवाको हुलियामा प्रशंसनीय अभिनय गरेका छन्। उनको प्रेमीका बनेकी रन्जिताको अभिनय पनि स्वभाविक छ। भिडियोको स्तर राम्रो बनाउन एक हप्ता समय लगाएर छायांकन गरिएको निर्देशक नबिनबाबुले बताए। उनलाई भिडिओ खिच्ने काममा सह-निर्देशक सुरज तमुले साथ दिएका छन्।
भिडियो सम्पादन प्रवीण श्रेष्ठले गरेका हुन्। स्ट्रिट नेपालले उत्पादन गरेको म्युजिक भिडिओ ट्ववेल्भ नोट्सले बजारमा ल्याएको हो।