इरानी फिल्म ‘द सिलहुट्स’ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को अन्तराष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट भएको छ । साना सलेरी निर्देशित ८० मिनेट लामो फिल्मले उपाधिसँगै दुई लाख रुपैयाँ प्राप्त गर्यो।
सन् १९८२ मा तत्कालिन सोभियत युनियनले अफगानिस्तानमा हमला गरेपछि शरणार्थी हुन बाध्य लाखौं अफगानीको कथा यसले पेश गर्छ । एक शरणार्थी युवाले द्धन्द्धको पृष्ठभूमिमा आफ्नो पहिचान खोज्न गरेको संघर्ष ‘द सिलहुट’को कथा हो।
अन्तर्राष्ट्रिय विधातर्फ टीना म्याडिसन निर्देशित फिनल्यान्डको फिल्म द बिलभ्ड डटर दोस्रो भयो। एउटा बाबुले सामाजिक दबाबको बाबजुद आफ्नो छोरीका लागि ज्वाइँ खोज्न गरेको कथावस्तु यसले चित्रण गर्छ । दोस्रो भएसँगै फिल्मले डेढ लाख रूपैयाँ पुरस्कार पायो।
८२ मिनेट लामो अमेरिकी फिल्म ‘बाटो’ले तेस्रो हुँदै एक लाख रुपैयाँ पुरस्कार जित्यो। लुकास मिलर्ड र केट स्ट्राइकर निर्देशित फिल्मले कच्ची बाटो हुँदै एउटा परिवारले गरेको सिजनल बसाइसराइको कथा यसले भन्छ । यसलाई नेपाल प्रिमियर गरिएको हो ।
नेपाल पानोरमातर्फ सोनाम चोकी लामा निर्देशित डोल्पाली वृत्तचित्र ‘द स्नो लियोपार्ड कलिङ’ सर्वोत्कृष्ट डकुमेन्ट्री भयो। यो डकुमेन्ट्रीले उपाधिसँगै ७५ हजार रुपैयाँ प्राप्त गर्यो। हिउँचितुवालाई पछ्याउँदै तीन डोल्पाली महिलाले गरेको यात्रा यसको कथा हो।
अंकित पौडेल निर्देशित छोटो फिल्म ‘सङ्स अफ क्लाउड्स’ ले नेपाल पानोरमातर्फ उत्कृष्ट फिक्सन अवार्ड उचाल्दै एकलाख रुपैयाँ जित्यो । यस विधातर्फ जुरी अवार्ड भने सिकुमा राईको ‘कम ओभर फर अ ड्रिंक कान्छी’ले जित्यो ।
चार दिनसम्म नेपाल चलचित्र विकास बोर्डमा चलेको फेस्टिभलमा यसपटक फिल्मलाई सेमी–भर्चुअलरुपमा प्रदर्शन गरियो । विजयी फिल्मका निर्देशकले भिडियो सन्देशमार्फत खुशि साटे। कोभिड–१९ को कारण यसपटक किम्फ भर्चुअल भएको हो।
फेस्टिभलको शुभारम्भ खिन्से नोर्बु निर्देशित फिचर फिल्म ‘डाकिनी’को विश्व प्रिमियरसँगै भएको थियो। यसपटक नेपाली लेखक नयनराज पाण्डे, सनडान्सकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिघम र स्वीटजरल्यान्डकी पत्रकार लिसा रुस्ली निर्णायकमा थिए।