बिहीबारदेखि काठमाडौंमा सुरू हुने काठमाडौं 'अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव' (किम्फ) मा 'सिभिल सोल्जर्स’ वृत्तचित्र सार्वजनिक हुने भएको छ।
‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान’ जस्ता चर्चित वृत्तचित्रका निर्देशक गणेश पाण्डेले कोरोनाकालका हिरोहरुको कथा ‘सिभिल सोल्जर्स’ बनाएका हुन्। फिल्मका लेखक तथा निर्माता गणेश पाण्डे नै हुन्।
‘सिभिल सोल्जर्स’ नेपालमा कोरोना भाइरस महामारी विरुद्वको लडामा अनुकरणीय काम गर्ने सर्वसाधारणको कथामा आधारित वृत्तचित्र हो।
‘सिभिल सोल्जर्स’ मा महामारीका कारण भएको लकडाउन र त्यसपछि उत्पन्न असहस परिस्थितिमा युवाहरुले गरेको अनुकरणीय कामको कथा छ।
पुकार तिमिल्सिना र अविनाश लामाको सिनेमेटोग्राफी रहेको यो वृत्तचित्र लकडाउनकै समयमा खटेर तयार पारिएको हो।
काठमाडौंका रैथाने मनोजकुमार श्रेष्ठले ३७ वर्षका छन्। घरमा गर्भवती श्रीमती छन्। जीवनको झन्डै ४ दशक पार गरेका मनोजले मान्छे देखेर मान्छे तर्सिने अवस्था यसअघि कहिल्यै देखेका थिएनन्। कोही बिरामी भइहाले एम्बुलेन्ससमेत नपाउने अवस्था थियो।
एम्बुलेन्सले बिरामी बोक्न नमान्ने देखेपछि मनोज निजी कारलाई एम्बुलेन्स बनाउँदै सर्वसाधारण बिरामीहरूको सेवामा निस्किएका थिए। अरूको सेवा गर्दागर्दै उनी आफैं कोरोना संक्रमित भए।
‘सिभिल सोल्जर्स’मा मनोजले त्यस्तो अवस्थामा भोगेको कथा र कोरोना जितेर फर्केपछिको उनको भोगाइ समेटेको छ। वृत्तचित्रमा मनोजजस्तै कठिन परिस्थितसँग जुधेका अरु पात्रका प्रेरणादायी कथाहरु पनि छन्।
निर्देशक पाण्डेले भने, ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो। मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरुले अनुकरणीय काम गरे। त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौं। आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौं।’
समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाका विभिन्न अनुभव, खुशी, पीडा र उत्प्रेरणाको मिश्रण नै सिभिल सोल्जर्समा देख्न पाइने उनले बताए।
शारदा गैरे निर्मात्री रहेको साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति ‘सिभिल सोल्जर्स’ दृश्य सम्पादन ईश्वर कोइरालाले गरेका छन्। आशिष चित्रकारको संगीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, बिन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन्।