निर्देशक मनोज पण्डितको फिल्म 'छाया' डिसहोमको सिनेमा घरबाट प्रदर्शन हुँदैछ। फिल्म मंसिर १६ गतेदेखि डिसहोमको च्यानल नं १०८ बाट प्रदर्शन हुने भएको हो। फिल्म हेर्न ग्राहकले प्रति सो डिसहोमलाई २२५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ।
बाल यौन दुर्व्यवहारको विषयमा बनेको यो फिल्ममा अनुप बराल, साइब्रत आचार्य, अरुणा कार्की आदि कलाकार मुख्य भूमिकामा छन्।
फिल्ममा समाजमा लुकेका-लुकाइएका यौन शोषण र यौन हिंसाका कथालाई यथार्थपरक ढंगमा देखाएको छ। तथ्यांकले हरेक ५ जना बालकमा एक र चार बालिकामा पनि एक बाल यौनदुर्व्यवहारको सिकार बन्ने देखाउँछ। यो फिल्म तिनै बालबालिकाको भोगाइको कथा हो।
फरक धारका फिल्म बनाउने मनोज पण्डित 'बधशाला' र 'दासढुङ्गा' फिल्मका लागि चिनिन्छन्। समीक्षकहरुबाट प्रशंसा पाएको छाया केही महोत्सवहरुमा प्रदर्शन भएको फिल्म हो।