कार्टुन फिल्म भन्ने बित्तिकै हामीमध्ये धेरैको दिमागमा 'टम एन्ड जेरी' को छवि नाच्न थाल्छ। हरेक उमेर समूहका दर्शकले रुचाउने 'टम एन्ड जेरी' अब ठूलो पर्दामा देखिँदैछन्। 'टम एन्ड जेरी' अमेरिकी एनिमेटेड कमेडी कार्टुन श्रृङ्खला हो। जसमा जेरी नामको मुसा र टम नामको बिरालोको लडाइ-झगडा र माया-प्रेमको देख्न पाइन्छ।
सिएनएनअनुसार, अब यो जोडी ठूलो पर्दा अर्थात् फिल्ममा पनि देखिनेछन्। टम र जेरी विगत ८० वर्षदेखि एक अर्काको पछि लागिरहेका छन्। टम र जेरीबीच चल्ने झगडाको रोमाञ्चक प्रस्तुति नै यो कार्टुनको मुख्य आकर्षण हो।
अब यी दुईको झगडा टिम स्टोरीद्वारा निर्देशित 'टम एन्ड जेरी' फिल्म भर्सनमा देखिनेछ। यो फिल्म सन् २०२१ मार्चमा सार्वजनिक हुने सिएनएनले जनाएको छ।
फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ। ट्रेलरमा टम र जेरी पात्रसँगै कोल ग्रेस मोरिज, माइकल पेन्ना, रोब डेलाने, कोलिन जोस्ट र केन जोङलगायतको अभिनय देखाइएको छ।