युट्युबमा सबैभन्दा बढी हेरिएको भिडिओमा नयाँ रेकर्ड कायम भएको छ। यसअघि युट्युबमा तीन वर्षदेखि लगातार 'डेस्पासितो' गीतले सबभन्दा धेरै भ्युज पाइरहेको थियो।
हाल आएर बालगीत भिडिओ 'बेबी सार्क'ले यो उपाधि पाएको छ।
डेस्पासितोको मंगलबारसम्म झन्डै ७ अर्ब ४ करोड भ्युज छ। बेबी सार्कले यसलाई उछिन्दै आफ्नो भ्युज ७ अर्ब ५ करोड हाराहारी पुर्याएको हो।
साउथ कोरियाली कम्पनी 'पिंकफङ'ले रेकर्ड गराएको यो भिडिओ युट्युबको सबैभन्दा बढी हेरिएको भिडिओमध्य शीर्ष स्थानमा परेको हो।
बेबी सार्क भिडिओ सन् २०१६ जुन १८ मा पिंकफङ किड्स सङ एन्ड स्टोरिज् नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। यो बालगीत जम्मा १ मिनेट ४५ सेकेन्डको छ। यसमा २ करोड २० लाख लाइक छ भने १ करोड डिस्लाइक।
पिङ्कफोङ्ग किड्स सङ्ग एन्ड स्टोरिज् युट्युब च्यानलका ४ करोड ३ लाख सब्स्क्राइबर छन्।
बेबी सार्क १ नम्बरमा आएपछि ल्याटिन पप गायक लुइस फोन्सीको 'डेस्पासितो' दोस्रो स्थानमा छ। त्यस्तै तेस्रो स्थानमा गायक एड शरिनको 'सेप अफ यु' भिडिओ छ। यसमा ५ अर्ब ४ करोड बढी भ्युज पुगेको छ।
बेबी सार्क भिडिओ युट्युबमा आएको चार वर्षपछि पहिलो स्थानमा रहेको हो। तर यो गीत युट्युबमा सार्वजनिक भएको मितिभन्दा अझै पुरानो भएको बिबिसीले जनाएको छ। यो बालगीत सन् १९७० तिर अमेरिकी समर क्याम्पहरूमा सिर्जना भएको मानिन्छ।
बेबी सार्क गीत विभिन्न संस्करणमा छन्। पिंकफङ कम्पनीका मार्केटिङ निर्देशक जेमी ओहले बिबिसीलाई सन् २०१८ मा भनेका थिए, 'प्रायः नर्सरीका केटाकेटीहरूका लागि बनाइएका गीत निकै सुस्त गतिमा हुन्छ। आनन्द खालका र यसले बच्चालाई निदाउन मद्दत गर्थ्यो। तर बेबी सार्क राइम विपरित छ। यो निकै ट्रेन्डी र नाचूँनाचूँ लाग्ने खालको संगीतमा छ। त्यस्तै भिडिओको एनिमेसन पनि जीवन्त छ।'
यो गीत त्यो बेला १० वर्ष पुगेका कोरियाली-अमेरिकी गायक होप सिजोइनले गाएका हुन्।