लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाको पछिल्लो पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ। कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी श्रव्य–दृश्यमार्फत सामाजिक संजालबाट लेखकीय अभिव्यक्ति दिँदै पुस्तक सार्वजनिक गरिएको बुक-हिल प्रकाशनले जानकारी गराएको छ।
पुस्तकमा विश्वका प्रभावशाली आठ चिन्तकका एघार ओटा निबन्ध संकलित छन्। इडुआर्दो ग्यालिआनो, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्तोल्त ब्रेख्त, विलियम हिन्टन, विलियम मोरिस, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरु पुस्तकमा संकलित छन्। यी निबन्ध अमेरिकी लेखक मेरी डेशनले छनोट गरेकी हुन्।
अनुवादक संग्रौला भन्छन्, 'यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलितरूपमा यसले कायम राख्न सक्यो। त्यसैले यो पुस्तकले विश्वव्यवस्थाको विकल्पको परिकल्पना गर्छ। यद्यपि सबै विद्वान्हरुले समाजवादको मुखररुपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो। र, त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो।'
नेपालको सन्दर्भमा यो पुस्तक किन पढिने भन्नेबारे संग्रौला भन्छन्, “नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो। विचारको टाट पल्टाई हो। कांग्रेस कांग्रेसजस्तो छैन, कम्युनिस्ट कम्युनिस्टजस्तो छैन । कांग्रेस र कम्युनिस्टले आफ्नो परम्परागत आदर्श र लोगोलाई व्यवसायको रुपमा व्यापार मात्रै गरेका छन्। त्यसैले सत्ताधारीलाई दिशाहिनताबाट सत्मार्गमा लैजान यो पुस्तकले डोर्याउने मेरो विश्वास छ।'
मानव समाजलाई न्याय, समानता र उज्यालोको बाटोमा लैजान प्रेरित गर्ने यस पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक सिकेलालले सबैखाले दर्शनको शाश्वत निष्कर्ष र कुनै पनि विचार अन्तिम नहुने भन्दै स्वतन्त्र चिन्तन र अभ्यासबाट अग्रगमनतर्फ बढ्न यो पुस्तक सहायक हुने बताएका छन्।
दर्जनौं कृति अनुवाद गरेका संग्रौलाले हालसम्मका कृतिहरुमध्ये यो पुस्तक एकदमै महत्वपूर्ण भएको बताएका छन्। बुक–हिल पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ।