तीज नजिकिएका बेला।
चेलीबेटीका भोगाइका भावना समेटिएका थरीथरीका गीतहरू गुञ्जिन्छन्।
यो वर्ष भने यो भिडमा एउटा बेग्लै गीतले ध्यान तानेको छ-
साधारण नियम यो सुरुको र बीचको ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै...
लय तीजकै हो। ताल तीजकै। संगीत पनि तीजकै।
शब्द भने स्कुले केटाकेटीलाई पढ्न सिकाउने।
गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’ का नियमबारे सिकाइएको छ। शंखमूलस्थित अवारनेस इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरूले नाच्दै-गाउँदै गरेको यो भिडियो छायांकन स्कुल परिसरमै गरिएको छ। प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका विद्यार्थीका लागि समेत यो गीत उपयोगी छ।
यो गीत लेखन अवारनेस स्कुलकै नेपाली शिक्षक विमल घिमिरेले गरेका हुन्। उनले कक्षामा ह्रस्व, दीर्घ नियम सिकाउन बनाएका गीत नै अहिले भिडियो रुपमा सार्वजनिक भएको हो।
यसमा स्कुलकै संगीत शिक्षक राजकुमार घिमिरेको लय र शारदा पराजुलीको आवाज छ।
गीत माध्यमबाट व्याकरण नियम सिकाउने विमलको यो पहिलो प्रयास भने होइन। उनले पढाउन थालेको ०५३ सालदेखि हो। ०५४ सालमै उनले यस्तै खाले गीत बनाएका थिए।
‘मेरो गाउँमा दुर्गादत्त खरेल गुरू हुनुहुन्थ्यो। हामीलाई जटिल सन्दर्भहरू कविता बनाएर पढाउनु हुन्थ्यो,’ विमलले सेतोपाटीसँग भने, ‘मैले पढ्दा पनि त्यसै गरेँ। पढाउन सुरू गरेपछि पनि त्यही शैली पछ्याएँ।’
उनको घर गुल्मीको खुरकोट हो।
उनले लोक गीत मात्र होइन, विद्यार्थीलाई बुझाउन कहिले र्याप त कहिले पप गीतको पनि साहारा लिन्छन्।
‘मैले केही समय सामाजिक विषय पनि पढाएँ। त्यो बेला विद्यार्थीलाई र्याप गीत शैलीमा सिकाउँथेँ। मेरो डायरी खोतल्ने हो भने पुराना संविधानका धाराहरू र्यापमै छन्,’ उनले भने।
यस्तो शैलीले घोक्न नसक्ने विद्यार्थीले पनि सजिलै याद गरेको उनको अनुभव छ।
‘बच्चाको दिमागै छैन भनेर कुनै शिक्षकले सोच्छ भने त्यो शिक्षक आफैं फेल भएको हो। हरेक बच्चासँग कुनै न कुनै खुबी हुन्छ। खुबी पहिचान गर्नु नै शिक्षकको परीक्षा हो,’ उनले भने, ‘विद्यार्थीसँग शिक्षक होइन, साथी बन्न सक्नुपर्छ। म उनीहरूसँग नाच्छु, खेल्छु, कमजोर विद्यार्थीलाई काउन्सिलिङ गर्छु’ उनले भने।
एउटा तरिकाले पढाउँदा नबुझेका विद्यार्थीलाई अर्कै तरिकाबाट पढाउनुपर्ने उनको सोचाइ छ।
‘विद्यार्थीले बुझे कि बुझेनन् भन्ने कुरा पढाउँदै गर्दा थाहा हुन्छ। त्यस्तो अवस्थामा कुनै नयाँ तरिका खोज्नुपर्छ’ उनले भने।
नेपाली भाषा र नेपाली विषय संक्रमणकालमा रहेको उनको सोचाइ छ।
‘सायद मेरो निकै थोरै विद्यार्थीहरूले मेजर नेपाली पढेका छन्। अरु विषयमा पास हुन सक्दिनँ भन्नेहरूले नेपाली पढेर शिक्षक भएका पनि धेरै छन्’ उनले भने ‘अनि अर्को सर्कल छ,जसले संस्कृत पढेका छन् तर त्यो जमात टेक्नोलोजी फ्रेन्डली छैनन्।’
अंग्रेजी नजान्नेहरूलाई मान्छे नगन्ने प्रचलनमा भने उनी रुष्ट छन्।
‘अंग्रेजी नजान्नेहरूलाई होच्याउनेहरूले संसार चिनेका छैनन्। जापानीहरू आफ्नै भाषा अगाडि बढाइरहेका छन्, चिनियाँहरूले आफ्नै भाषाले संसार खाइसके, कोरियालीको त्यस्तै छ। हामी नेपाली भने अरुको पछाडि दौडन्छौं’ उनले भने।
पाठ्यपुस्तक स्तरोन्नति भए पनि त्यसअनुसार शिक्षक अपग्रेड हुन नसकेका उनले बताए।
‘विदेशमा हरेक विषयको ल्याब हुन्छ, प्रयोगात्मक तरिकाले पढाइ हुन्छ तर हामी त्यो अवस्थामा अझै पुगेका छैनौं,’ उनले भने।
विमलको पढाउने शैलीप्रति उनका विद्यार्थीहरू निकै सन्तुष्ट देखिन्छन्।
‘कक्षामा बोर नै हुँदैन। हामीलाई अल्छी लागेको थाहा पाउनु भयो भने सरले कहिले गीत गाउन लगाउनु हुन्छ, कहिले आफैं क्लासमा नाच्नु हुन्छ। पढ्न पनि कस्तो मज्जा आउँछ,’ कक्षा १० पढ्ने सृजना दाहालले भनिन्।
विमलअरु पनि विभिन्न पाठ्य सामग्री बनाउने सोचमा छन्।
‘यो गीत संयोगले भाइरल भयो। अरु चर्चित होला/ नहोला। तर हामीले बनाउने पाठ्य सामग्री योभन्दा कम गुणस्तरको हुँदैन,’ उनले भने।
२०३१ सालमा जन्मेका उनले पाटन क्याम्पसबाट स्नातकोत्तर गरेका हुन्।
गीतसंगीतसँग जोडेर पढाउँदै आएका थिए। उनको यो खुबी स्कुल र उनका चिनजान सेरोफेरोमा सीमित थियो।
पहिलो पटक उनले लेखेको गीतको भिडियो युट्यूबमा अपलोड भएको हो।
उनको सोच यहाँसम्म थिएन।
'म त मोबाइलबाट भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने सोचेको थिएँ,' उनले भने, 'स्कुलकै संगीत शिक्षक राजकुमार घिमिरेलाई मैले एउटा गीत लेखेको छु। रेकर्ड गर्नुपर्छ। तपाईंको सहयोग चाहिन्छ है भनेको थिएँ।'
उनका अनुसार राजकुमारले गीत सुन्ने बित्तिकै मनपराएका थिए।
अवारनेस इन्टरनेशनल एकेडेमीले यसअघि पनि केही बाल गीत म्युजिक नेपालमार्फत् रेकर्डिङ गराएको थियो।
स्कुलमै संगीत अध्यापन गराउने हुँदा उनीहरूलाई गीत गाउने, संगीत दिने नाच्ने मान्छेको अभाव थिएन। सबै काम गर्न विद्यार्थी निपूर्ण थिए।
गीत रेकर्डिङ भयो। भिडियो पनि बन्यो।
गत सोमबार म्युजिक नेपालले अफ्नो युट्युब च्यानलमा गीत अपलोड गर्यो।
अपलोड भएपछि गीत यति मन पराइयो कि भाइरलनै भयो। यो समाचार तयार पारुन्जेलसम्ममा यो गीत युट्युबमा मात्र १ लाख ७५ हजार पटक हेरिएको छ।
स्कुलको ड्रेस लगाएका बच्चाहरू व्याकरण गीतमा नाचेको यो भिडियो धेरैले रुचाए।
गीत भाइरल हुँदा विमल दंग परे।
‘यो मैले कक्षामै पढाइरहेको कुरा हो। विद्यार्थीहरूलाई सजिलो हुन्छ भनेर मात्र रेकर्डिङ गराएका हौं,’ उनले भने, ‘यसमा सबै कुरा समेटिएको भने छैन। हाइ स्कुलका विद्यार्थीहरूलाई पुग्ने मात्र छ।’
सबैको हौसलाले अरु यस्तै काम गर्न प्रोत्साहन र ऊर्जा थपिएको उनले सुनाए।
‘गीत हिट भएपछि स्कुलमा ‘इमरर्जेन्सी मिटिङ’ नै राखेर हरेक विभागले हरेक वर्ष एउटा न एउटा शैक्षिक सामग्री उत्पादन गर्नैपर्छ भन्ने निर्णय गरेका छौं’, उनले भने।
हेर्नुहोस् भिडियो