बेलडाँगी शरणार्थी शिविरमा हुर्केका ठिटा–ठिटी, जो अहिले अमेरिका, अष्ट्रेलिया, नर्वे, क्यानडालगायत देशमा छन्, उनीहरूलाई नेपालबारे सम्झिँदा पहिले के सम्झिन्छौ भनेर सोध्यो भने उनीहरूको उत्तर के आउला?
सायद आउला, प्रकाश आङ्देम्बे!
उतिखेर आङ्देम्बे शिविरभित्र सानोतिनो ‘सेलिब्रेटी’ नै थिए। शिविरभित्रका थुप्रै युवायुवतीका उनी गुरू हुन्, काका हुन्। कतिका आदर्श पनि। कतिले बुवाको मुख हेर्ने औंशीका दिन फेसबुकमा ‘ह्याप्पी फादर्स डे’ लेखेर उनको फोटोसमेत राखे। त्यसैले उनलाई आफ्नो बाबुसरह मान्ने पनि छन्।
अहिले आङ्देम्बेले तिनै शरणार्थीको पीर–व्यथा समेटेर फिल्म बनाएका छन्— ‘देश खोज्दै जाँदा’। फिल्म बनाउन शुरू गर्दा शिविर भरिभराउ थियो। फिल्म रिलिजसम्म आइपुग्दा शिविर रित्तिँदै गएको छ।
यदि शरणार्थीहरू तेस्रो मुलुक गएका हुन्थेनन् भने प्रकाशले यतिबेलासम्म फिल्म बनाउन भ्याउँथे कि भ्याउँथेनन्, त्यो उनैलाई थाहा छैन। किनकी, उनको फिल्म भुटानी शरणार्थीकै सहयोगमा बनेको हो। ५० डलरदेखि २० हजार डलरसम्म सहयोग गर्ने भुटानी शरणार्थीहरू ‘देश खोज्दै जाँदा’ का निर्माता हुन्।
कुनै दिन थियो, आङ्देम्बे जीवनदेखि निराश थिए। उनको पीर–व्यथा तिनै शरणार्थीले सुनिदिन्थे, कविता, गजलमार्फत्। अहिले आङ्देम्बेले फिल्म मार्फत भुटानी शरणार्थीको कथा सुनाएर गुन तिर्न खोज्दैछन्।
आङ्देम्बेले भुटानी शरणार्थीको विषय नै किन रोजे ?
भुटानमा रहेका नेपालीभाषी ‘लोत्साम्पुमाथि त्यहाँको राज्यले उनीहरूकै धर्म, संस्कृति, भाषा लादेपछि नेपालीभाषीहरू आन्दोलित भए। तर, राज्यले सहेन। उनीहरू लखेटिए। करीब ३० वर्षअघिदेखि उनीहरू झापामा बस्न थालेका हुन्। न उनीहरू बस्ने राम्रो घर थियो, न खाने गतिलो अन्न नै।
५० को दशकको मध्यतिर एउटा पत्रकार त्यहाँभित्र रिपोर्टिङका लागि छिर्यो। भित्र छिरेपछि त्यो पत्रकारलाई शरणार्थी शिविर हैन, आफ्नै घरजस्तो लाग्यो। एउटै नभए पनि उस्तै व्यथा थियो पत्रकारसँग। पत्रकार सुकुम्बासी थियो।
ती थिए, प्रकाश आङ्देम्बे।
प्रकाशका बा हजुरबासँगै ‘धानको भात खान’ पहाडदेखि झापाको शरणामती झरेका रहेछन्। सात सन्तानमध्ये प्रकाश चौथो नम्बरका सन्तान हुन्। ६ जना बालखमै बितेछन्। बाबुआमाले प्रकाशको पनि आश मारिसकेका थिए।
यसैलाई निहु बनाएर बाबुले दोस्रो बिहे गरे।
बाबुको दोस्रो बिहेसँगै शुरू भयो, प्रकाशको दुःखको कहानी।
प्रकाश सानै थिए, बाबु बिरामी हुँदा आफन्तसँग जग्गा धरौटी राखेर उपचार गराएका रहेछन्। पैसा तिर्न नसकेपछि आफन्तले जग्गा नै हडपिदिए। बाँकी अलिकति जग्गा आफ्नै भागमा राखेर कान्छीसँग छुट्टै बस्न थाले। बाँच्ने आश मरिसकेको सन्तान झोलुंगोमा सुताएर प्रकाशकी आमा मेलापात गर्थिन्, ज्यालाले प्रकाशलाई पाल्थिन्।
धेरै सन्तान जन्माउँदा र गुमाउँदाको व्यथाले होला, प्रकाशकी आमाको शरीरमा चाँडै रोग पस्यो। लगातार खोकिरहन्थिन्।
रोगी शरीरले गरेको श्रमले एउटा छोरालाई हुर्काउन समेत आमालाई सकस थियो। त्यसमाथि, छोरो बाँच्ला भन्ने आश पनि निकै कम। उता ६ वटा सन्तानको गुमाउँदाको विरह खपिरहँदा पनि लोग्नेले अर्को टिपेर हिँडे।
प्रकाशकी आमालाई आफ्नो दुःख सुनाउने साथी नभएरै होला, रक्सीलाई साथी बनाउन थालिन्। साँझ नपर्दै जर्किन रित्याउँथिन्। के–के बर्बराउँथिन् के–के। प्रकाश फिटिक्कै बुझ्दैनथे।
मध्यरातमा रक्सीको मातले निद्रालाई पनि प्रकाशकी आमाको साथ छुटाएर हिँड्थ्यो। अनि मध्यरातमै उठेर टुकीको उज्यालोमा सनपाट, प्लास्टिकका ढक्की बुन्न थाल्थिन्। निद्राले साथ छोडेपछि उनका खास साथी हुन्थे, पालाम, झ्याउरे, श्लोक आदि। आमाको गीत प्रकाशका लागि ‘अलार्म’ हुन्थ्यो। दुःखले प्रकाशकी निरक्षर आमालाई कविसमेत बनायो। ढक्की बुन्दै गर्दा उनी आफ्नै रचना अनेक धुनमा गाउँथिन्। सानो छँदा त प्रकाश उति बुझ्थेनन्। जब बुझ्ने भए, आमाले गीतमा आफ्नै दुःखभरी कहानी भनिरहेको थाहा पाए। थुप्रै कुराहरू आमाले नभनिकनै प्रकाशले गीतका माध्यमबाट घरको दुःख थाहा पाएका थिए। गीतका शब्द त उनले बिर्सिए, गीतले भन्ने कथा भने उनको स्मृतिमा ताजै छ।
आफ्नो घर–जग्गा नभएका प्रकाशले कतिसम्म अभाव खेपे भने खानका लागि घरमा अन्न हुँदैनथ्यो। एकजोर लुगाले वर्षदिन गुजार्नुपथ्र्यो।
एकदिन त घरमा खाने खाना नहुँदा प्रकाश जाँडको छोक्रा खाएर स्कुल गएछन्। मातले बाटोमै ढले। थाहा पाउने साथीहरूले स्कुलमा कुरा लगाइदिए, ‘प्रकाश त जाँड खाएर बाटोमै ढल्यो।’ उता सरको धुलाई भेटे। यता स्कुल नगएको थाहा पाएपछि आमाले दाउराको चिर्पटले ठोकिन्।
त्यसयता प्रकाश कतिपटक भोकै स्कुल गए, तर उनले न जाँडको छोक्रा मुखमा हालेका छन्, न झोल नै।
चुरोटको किस्सा पनि उस्तै छ। एकदिन साथीको लहलहैमा चुरोट खाएको थाहा पाउँदा आमाले मुखमा अगुल्टो झोसिदिएपछि चुरोटले उनको ओठमा तेर्सिने हिम्मत गरेको छैन।
पढ्नमा भने तिखा थिए उनी।
आफू नपढेकाले उनकी आमाको चाहना छोराले धेरै पढोस् भन्ने थियो। स्कुल नगए, घरमा पनि नपढे आमाले झटारो छोडिहाल्थिन्। करले भए पनि प्रकाश पढन्ते भए। फस्ट, सेकेन्ड भइरहे। यही पढाईले उनलाई इमान्दार बन्नुपर्ने दबाव दियो। गाउँले भन्थे, ‘बाउ त्यस्तो भए पनि छोराचाहिँ उल्टो परेछ, हुने बिरुवाको चिल्लो पात भनेजस्तै। पढ्नमा पनि राम्रो, बोलिवचन पनि राम्रो।’
‘सबैले राम्रो भनेर प्रशंसा गरेपछि म कहिल्यै झै–झगडामा हिँडिन,’ प्रकाश आफ्नो बाल्यकाल सम्झन्छन्, ‘सबैले मायाले मलाई लुगा दिन्थे, उनीहरूको बारीमा फलेको फल दिन्थे। मभन्दा माथिल्लो कक्षाका केही साथीहरू थिए, जो निक्कै झगडा गर्थे। स्कुलबाट भागेर फिल्म हेर्न जान्थे। उनीहरूले समेत मलाई माया गर्थे। आफ्नो लुगा दिँदै भन्थे, हामी पढ्दैनौं, ला तँ पढ्ने मान्छे यो राम्रो लुगा लगा।’
प्रकाश आफ्नो भोगाइलाई जीवनको ठूलो पाठशाला मान्छन्।
‘मैले त्यतिबेलै सिकेँ, मान्छे जातभन्दा माथिको हुँदो रहेछ,’ प्रकाश भन्छन्, ‘हाम्रो घरनजिकै लिम्बु आफन्तहरू थुप्रै थिए। तर, दुःख पर्दा ती कोहीले हामीलाई सहयोग गरेनन्। बाहुनक्षेत्रीले मलाई जहिल्यै पढ्न उक्साए। हाम्रो घर नजिकै दमाई कान्छा नामका एकजना काका हुनुहुन्थ्यो। उहाँले छोएको आमा खानुहुन्थेन।’
दशैंमा हाम्रो घरमा मासु नपाक्दा उहाँ भन्नुहुन्थ्यो, ‘भाउजु, बालबच्चा भनेका देउता हुन्। तपाईंले हामीले छोएको खाँदा पाप लाग्छ। तर, देउताले खाँदा पाप लाग्दैन। नानीलाई हामीले पकाको मासु खुवाउनु।’ ती काकाले लुगा सिलाउँदा उब्रेका कपडा सिलाएर मलाई नयाँ लुगा दिनुहुन्थ्यो। तर, टाटेपांग्रे। अहिलेको फेशनजस्तो। अहिले उहाँहरूलाई सम्झँदा मन निकै भरिन्छ।’
जीवन एउटै रङमा बाँच्दैन। कहानी दुःखको भए पनि त्यहाँभित्र सफलता, खुसी, उपलब्धीका खात हुन सक्छन्। त्यो बेला प्रकाशकी आमाले जे भोगिन्, त्यो उनका लागि दुःख शिवाय केही थिएन। हुन त प्रकाशका लागि दुःखकै दिन थिए ती। तर, उनले सम्झने रमाइलो जीवन पनि त्यहीँभित्र थियो।
यो कथामा प्रवेश हुन्छ, भक्कु काका, झालु र काजी लिम्बुको। काजी र झालु प्रकाशका अत्यन्त मिल्ने साथी थिए। बंगाली मूलका झालु निकै टाठा, आर्थिक अवस्था पनि प्रकाशको जस्तै। झालु, काजी र प्रकाशलाई पछाडि लगाएर मुसाको दुलो खोज्न हिँड्थे। दुलोबाट मुसाले लुकाएको धान निकालेर भाग लगाउँथे। कहिले घर लान्थे, कहिले बेच्थे।
झालु, काजी र प्रकाशले धेरैजसो समय बिताउने अर्को अड्डा थियो, भक्कु काकाको घर। ठूलो साइकल चढ्ने उनी पांग्रामा के–के जोडेर मोटरसाइकलको जस्तो आवाज निकालेर दगुर्थे। शहरमा लाग्ने फिल्म एउटै छुटाउँथेनन्। पोस्टकार्ड ल्याएर गाउँभरी बेच्थे। फिल्मको पोस्टर घरभरी टाँस्थे। प्रकाशका तीन दौंतरी एउटा पोस्टर हेरेरै दिन बिताउँथे।
भक्कु काका सोध्थे, ‘फिलिमको कथा सुन्छौ तिमेरु?’
‘सुन्ने नि,’ तीनैजना काकालाई लहरै घेर्थे।
भक्कु काका कम्ती बाठा थिए र१ अलिकति कथा सुनाउँथे, अनि ‘सस्पेन्स’मा पुगेपछि काम अह्राउँथे। बाँकी कथा सुन्न काम मान्नैपथ्र्यो। काम सकेर उनीहरु फेरि घेरा हाल्थे। काका फेरि अलिकति कथा सुनाउँथे, सस्पेन्समा पुगेपछि काम अह्राउँथे।
‘कथा सुनाएको फिल्म पछि हेर्दा पो थाहा भयो, काकाले बढाईचढाई गरेर पो सुनाएका रहेछन्,’ प्रकाश सम्झन्छन्, ‘एउटा फिल्म हेरेर ३,४ महिनासम्म त्यही कथालाई लम्ब्याउँदै सुनाउँथे। सायद, त्यसैले हामीमा कल्पनाशक्ति बढाउने काम गर्यो।’
त्यतिखेर उनको टोलभरि नै टीभी थिएन। रेडियोचाहिँ एउटा मात्र। रेडियो नाटक सुन्न रेडियोधनीको ढाड मालिस गरिदिनुपथ्र्यो, घाउखटिरा निचोरिदिनुपथ्र्यो। रेडियोधनीका छोरा–छोरीसँग कुनै हालतमा दुश्मनी साँधे त्यही रेडियो पनि सुन्न पाइन्थेन।
गाउँको कोही शहरबाट फिल्म हेरेर फर्कियो भने दुई–चार दिनका लागि उसको शान बेग्लै हुन्थ्यो। प्रकाशकी गाउँकी दिदीले अन्याय हेरेर फर्किइन्। प्रकाशको टोली उनलाई सुन्न घेरा हाल्यो। फिल्म हेर्न पैसा नभए पनि सुनेको कथाले प्रकाशको दिलमा ढ्ंयाग्रो ठटायो।
फिल्ममा जस्तै आफू पनि अन्यायमा परेको वोध भएछ, उनले फिल्मकै कथालाई तोडमोड गरेर एउटा नाटक लेखे, ‘अन्यायको अन्त्य।’ जो काका खटाई–खटाई फिल्मको कहानी सुनाउँथे, उनैलाई नाटकको ‘हिरो’ बनाएर प्रकाशले नाटक निर्देशन गरे।
झालु, काजी लिम्बु पनि प्रकाशको साथमा थिए। यी तीनले त्यतिबेलासम्म एउटै फिल्म हेरेका थिएनन्। फिल्मको कहानी सुनेको भरमा झालुलाई कलाकार बन्ने रहर पलाएछ। झालु एकदिन घरबाट काठमाडौं भागेछन्। काठमाडौं आएर नाम फेरे, राजेश झा भए। तर, कलाकार भएनन्, फिल्म हलको गेटपाले भए।
गाउँमा टिक्न मुस्किल भएपछि प्रकाश आमासँगै दमक सरे। दमकमा पनि उही नियतीले छोडेन। आमा सडकमा बसेर चुरोट, रक्सी बेच्न थालिन्। तर, खासै व्यापार हुन्थेन। त्यहाँ पनि टिक्न मुस्किल परेपछि तीन महिनामै एक आफन्तले धरानको सुकुम्बासी बस्ती पु¥याइदिए।
आफू जन्मेको ठाउँ छुट्यो, साथीहरु छुटे, सहयोगी छिमेकी सबै–सबै छुटे, तर अभाव छुटेन। गरिबी छुटेन। आमाको रोग छुटेन। खोकीको लहरा झन्–झन् बढ्दै गयो। तर, एउटा कुराचाहिँ के छुटेन भने आमाको रिस छुटेन। तर, त्यो रिस खासमा रिस थिएन। छोराप्रतिको माया थियो। छोरालाई पढाउन आफ्नो रोग, पीर, व्यथालाई बिर्सेर अनेक संघर्ष गर्ने उनको बानी छुटेन।
सुकुम्बासी टोल भित्र पनि आमाले उस्तै काम गरिन्, जुन काम उनी झापामा गर्थिन्। दुःख परेपछि मान्छे आफन्त खोज्छ भन्छन्, उनकी आमा आफ्नो माइती खोज्न थालिन्। जो सुकुम्बासी बस्तीभित्रै थिए। माइतीको जे पनि प्यारो भन्छन्, उनले माइतीका छिमेकी भेटिन्। माइती नै पाएसरह भैहाल्यो।
सुकुम्बासी बस्तीभित्र छिरेपछि प्रकाशको दुनियाँ फेरियो। लवजदेखि, लवाई–खवाईसम्मको फेसन भित्र्याउने शहर मानिने धरानको भाषा नै बेग्लै। गाउँबाट आएकालाई उडुङ भनिन्थ्यो। जसको अर्थ हुन्थ्यो, पाखे। धरानका रैथाने युवाहरु प्रकाशलाई उडुङ भनेर उडाउँथे। पैसालाई डो भनिन्थ्यो, साथीलाई पाट।
तर, यस्ता भाषा बोल्ने साथीसँग संगत बस्न प्रकाशको हैसियतले रोक्थ्यो। आफूजस्तै ‘उडुङ’हरू प्रकाशका साथी हुन्थे। सबै बेग्लाबेग्लै ठाउँबाट जम्मा भएकाहरूका रुची अलग, स्वभाव अलग। मिल्ने कुरा एउटै थियो, फिल्म हेर्ने। पहिले झापाजस्तो धरानमा हल पनि टाढा थिएन। समस्या थियो, मात्र पैसाको। आमालाई फिल्म हेर्न पैसा मागे बदलामा लौरो हुन्थ्यो कि चिर्पट भेटिहाल्थे।
समस्याले जुक्ति फुराउँछन्। आङ्देम्बेलाई जसरी हो, फिल्म हेर्नुथियो। मन्दिरका पैसा चोरेर हुन्छ कि मन्दिरको फोहोरमा सिक्का टिपेर हुन्छ, हलको गार्डलाई फकाएर हुन्छ कि, छलेर हुन्छ फिल्म हेरेरै छाड्थे।
आफ्नो दुःख सुनाउने साथी खोज्दै जाँदा आमाले सुकुम्बासी बस्तीभित्रै आफ्नो माइती फेला पारेकी थिइन्। प्रकाशका लागि आफन्तको घरमा जतिखेर पनि स्वागत हुन्थ्यो। बेलामौकामा छिरिराख्थे। हलमा नयाँ फिल्म लागेको बेला भने उनको बासै आफन्तकोमा हुन्थ्यो। कारण थियो, पूजा कोठामा चढाइएको पैसा चोर्नु।
‘त्यही भएर मलाई भगवान छ जस्तो लाग्छ,’ प्रकाश हाँस्दै भन्छन्, ‘किनकि, मूर्ति नै सही, मेरो इच्छा पूरा गरिदिने त तिनै भगवान थिए नि।’
सुकुम्बासी बस्ती पनि उनका लागि ठूलो पाठशाला भयो। ‘बाहिरबाट हेर्दा सबै सुकुम्बासी नै त हुन्,’ प्रकाश भन्छन्, ‘तर, सुकुम्बासीभित्र पनि वर्ग हुँदो रहेछ। कसैको चुल्होबाट हप्ताको दुईचोटी मासु पाकेको वास्ना आउँथ्यो भने कसैको चुल्होमा दशैंमा एकपल्ट मात्र।’ प्रकाश दशैंमा एकचोटी मासु खान पाउने कोटीमा पर्थे।
सुकुम्बासी बस्तीभित्र छिर्दासम्म प्रकाश गजल लेख्ने भइसकेका थिए। नाटक लेख्नु, निर्देशन गर्नु र खेल्नुमा पनि उनको मन रमाउँथ्यो। स्कुल पढ्दै गर्दा उनले दोस्रो नाटक लेखे— ‘गरिबको दशा’।
त्यो उनको आफ्नै भोगाइको कथा थियो। स्कुलको नाचगानले मात्र पुगेन, बस्तीभित्रै ‘विहानी साँस्कृतिक समूह’ नाममा संस्था खोले। प्रकाश सचिव भए। देउसी–भैलो खेलेर पैसा उठाउने र त्यसबाट उठेको रकम मादल, खैंजडीलगायत नाटकका लागि चाहिने समान किन्थे।
प्रकाश उतिबेलाको धरानलाई ‘ग्याङफाइटुको सहरको रुपमा व्याख्या गर्छन्। दिनमा कतै न कतै ग्याङफाइट परेकै हुन्थ्यो। हुलमुलमा दुई–चार मुक्का र एक–दुई चिपर्ट त प्रकाशको गर्धनमा पनि बज्रिएको छ। यसरी अरूको धुलाई भेटेको दिन ‘बोनस’मा आमाको कुटाई पनि भेट्थे। आमा भन्थिन्, ‘कुटाई खानु र कुट्नु दुवै अपराध हो।’
‘आमाको यो भनाइ मेरो लागि जीवनदर्शन हो,’ प्रकाश भन्छन्।
आफू ‘ग्याङफाइटुमा प्रत्यक्ष संलग्न नभए पनि प्रकाशको जीवनको ठूलो मोड भने यही भइदियो। एकचोटीको ग्याङफाइटमा अर्को टोलीले विहानी साँस्कृतिक समूहका सबै सामान फुटाइदिएछन्। ऋण–सापटी लिएर किनेको सामानको पैसा तिर्न बाँकी नै थियो। प्रकाशको भागमा प¥यो, १५ हजार। करिब ७ वर्षमा मेलापात गरेर आमाले जोडेको २० हजारले एउटा सुकुम्बासी छाप्रो किनेकी थिईन्। छोराको ऋण तिर्ने क्षमता आमासँग थिएन।
प्रकाश विरक्तिएर दमक ओर्लिए।
दमकको एक भाषा इन्स्टिच्युटमा काम पाए। नृत्यको औपचारिक कक्षा नलिएका उनले स्कुलमा नृत्य सिकाउने काम पाए। रुची थिएन, तै पनि काम खोज्दै जाँदा धरान टुडे पत्रिकामा दमकबाट रिपोर्टिङ गर्ने अवसर मिल्यो। त्यसै क्रममा उनले स्थानीय टेलिभिजनमा ‘नमस्ते दमक’ नामको कार्यक्रम चलाउने मौका पनि पाए। उनी हरेक क्षेत्रका व्यक्तिसँग अन्तरवार्ता लिन्थे।
एकदिन एक डाक्टरसँग अन्तरवार्ताको पालो परेको थियो, उनलाई झल्याँस्स आफ्नी आमाको रोगको याद आयो। आठ सय रुपैयाँ तलब लिएर काम गरिरहेका प्रकाशले त्यसअघि कहिल्यै आमालाई अस्पताल लैजान सकेका थिएनन्। अन्तरवार्ता सकिएपछि डाक्टरलाई अनुरोध गरे। आमालाई धरानदेखि दमक ल्याए।
चेकजाँच गर्दा थाहा भयो, आमालाई हड्डीको क्यान्सर भइसकेको रहेछ। प्रकाशलाई यो पनि थाहा भयो, आमाको उहिल्यै आङ पनि खसिसकेको रहेछ। तर, आमाले कहिल्यै भनेकी थिइनन्। रोग पत्ता लागेपछि प्रकाशले आमालाई सुकुम्बासी बस्तीबाट छुटाए।
तर, केही महिनामा आमाले पनि उनको साथ छोडिन् र, नदेखिने घर गइन्। प्रकाशको जीवनको छहारी भत्कियो।
रोग पत्ता लागेदेखि आमा बितेको केही महिना प्रकाश विक्षिप्त भएर हिँडे। उनलाई बाबुसँग अचाक्ली रिस उठ्थ्यो। प्रकाश नरोएको कुनै दिन हुन्थेन त्यतिबेला। उनको नजिक भन्नु आमा न थिईन्, उनैले साथ छोडेपछि गजल र कविता उनका साथी भए।
लेख्न त लेख्थे, तर सुनाउने कसलाई?
रिपोर्टिङका क्रममा उनी भुटानी शरणार्थी शिविर पुगेका थिए। केही साँस्कृतिक कार्यक्रममा कहिले अतिथि कहिले रिपोर्टिङका लागि पुग्दा झन्डै डेढ लाखको हाराहारीमा रहेका भुटानी शरणार्थीहरूले उनको गजल, कविता सुनेका थिए।
उनलाई लाग्यो, ‘तिनै भुटानीले मेरो दुःख बुझ्लान्।’ आखिर, उही नभए पनि उस्तै व्यथा त थियो एक–अर्काको। भुटानी, जसले आफ्नो देश गुमाए, आफन्तसँगको विछोड खेपे। प्रकाश, जसको कुनै घर थिएन।
उस्तै पीर–व्यथा बोकेका भुटानी शरणार्थीहरु पनि लेख्न चाहन्थे। शिविरभित्र उनको सक्रियता देखेर शरणार्थीका लागि संयुक्त राष्ट्र संघको उच्च आयोग ‘युएनएचसिआर’ ले ‘वर्कसप’ चलाइदियो। प्रकाश अधिकांश भुटानी शरणार्थी युवायुवतीका साहित्यिक गुरू बने। त्यसपछि भटाभट किताब निस्कन थाले। त्यसमा प्रकाशकै भूमिका हुन्थ्यो।
प्रकाश लेखनसँगसँगै नाटक पनि गरिरहेका हुन्थे। साँस्कृतिक संस्थान, गुरूकुलजस्ता संस्थाले नाटक प्रतियोगिता, महोत्सव गराउँदा उनी आफ्नै लेखनमा नाटक निर्देशन गरिवरी काठमाडौं ल्याउँथे।
त्यस्ता महोत्सवले उनलाई नाटक, फिल्मकर्मीहरुसँग नजिक्यायो। नवीन सुब्बालगायत फिल्मकर्मीको संगतमा पुगे। संसारका मौलिक भनिने फिल्महरू हेर्न पाए। नवीन सुब्बासँग ‘स्क्रिप्ट क्लास’ लिए। क्लासले फिल्म बनाउने हुटहुटी थप जगाइदियो।
पहिलो विषय नै छाने, भुटानी शरणार्थीको कथा।
‘सायद, घर नभएकै कारण मलाई देश नभएका उनीहरुको कथाले तान्यो,’ प्रकाश भन्छन्, ‘सुरुमा उपन्यास लेखौं कि भन्ने लागेको थियो। तर, त्यत्तिको पीडादायक कथालाई फिल्ममार्फत् भनेर ठूलो समूहलाई सुनाउन मन लाग्यो।’
तर, उनीसँग पैसा थिएन। पत्रकार देवेन्द्र भट्टराईले भुटानी शरणार्थीको पीडाको बयान गर्दै आँट भरिदिए, ‘पैसा जुट्दै जान्छ, लौ म केहि दिएर शुरू गर्छु। अरू साथीहरूले पनि दिन्छन्। फिल्म पक्का बन्छ।’
कवि उपेन्द्र सुब्बा पनि त्यतिबेला फिल्मको स्क्रिप्ट लेखनमा चासो दिँदै थिए। त्यतिबेलासम्म कुनै फिल्म नलेखेका सुब्बाले सहयोगको वचन दिए। दुवै मिलेर स्क्रिप्ट लेखे। शरणार्थीहरू पुनर्वासका क्रममा अमेरिका, अष्ट्रेलियालगायत देश पुगिसकेका थिए।
फिल्म बनाउन शुरू गर्दा उनीहरूको सहयोग आउन थाल्यो, ५० देखि २० हजार डलरसम्म।
अहिले शिविर रित्तिँदै गएको छ। उपेन्द्र सुब्बा स्क्रिप्टमा पनि, अभिनयमा पनि ‘हिट’ भइसकेका छन्। आफ्नो नाममा घर–जग्गा नभएका प्रकाशलेसमेत भक्तपुरमा घडेरी किनिसके। फिल्म बल्ल रिलिज भएको छ।
जसले यत्तिका वर्ष बिनाघर जीवन बिताए, आफ्नो नाममा जग्गा हुँदा उसलाई कस्तो अनुभूति हुँदो रहेछ?
‘मान्छेलाई आफ्नोभन्दा अरुको चिन्ता बढी हुँदो रहेछ,’ प्रकाश भन्छन्, ‘मेरो घर–जग्गा छैन भने अरूलाई नै बढी चिन्ता। तात्विक रुपमा केही भिन्नता छैन। किनकी, म जसरी हुर्किएँ, त्यसले मलाई चाम्रो बनायो। म जस्तोसुकै ठाउँमा खान, सुत्न सक्छु। समाजले भन्ने गरेको इज्जतमा मात्र फरक पार्छ, अरु केही फरक हुँदैन।’
तर, फिल्ममार्फत् उनले भन्न खोजेको कुरा भने बेग्लै छ। ‘आफ्नो देश फर्किन पाउनुपर्ने माग राख्दै आएका भुटानी शरणार्थीहरूले इज्जत खोजेका होइनन्,’ प्रकाश अगाडि थप्छन्, ‘उनीहरूले आफ्नो देश खोजेका हुन्। आत्मसम्मान खोजेका हुन्।’